धनकुटामा पनि मनाइयो ७१ औँ प्रहरी दिवस , अमर प्रहरीका परिवार सम्मानित
धनकुटा । ‘विपद्मा सारथी, सङ्कटमा छाहारी : प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नाराका साथ धनकुटामा ७१औँ प्रहरी दिवस–२०८३ मनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाको प्राङ्गणमा आयोजित समारोहमा अमर प्रहरीहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । कार्यक्रम धनकुटाका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धानका प्रमुख, जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता, जनप्रतिनिधि, महिला सञ्जालका प्रतिनिधि, पूर्वप्रहरी कर्मचारी तथा सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।
प्रहरी दिवसका अवसरमा नेपाल प्रहरी सङ्गठनमा रही राष्ट्र, समाज तथा नागरिकको सुरक्षा र सेवामा खटिँदा सहादत प्राप्त गरेका अमर प्रहरीका परिवारलाई सम्मान गरिएको थियो । साथै, उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कारसमेत वितरण गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक नारायण रञ्जितकारले आमन्त्रित अतिथिहरूलाई शुभकामना मन्तव्य व्यक्त गर्दै प्रहरीको कार्यक्षमता, भूमिका तथा जिल्लाको शान्ति सुरक्षा कायम राख्ने विषयमा धारणा राखेका थिए ।
उनले जिल्लामा शान्ति सुरक्षा थप मजबुत बनाउँदै अपराधरहित समाज निर्माण गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको बताए ।
प्रहरी दिवसले राष्ट्र र नागरिकको सुरक्षाका क्रममा जीवन उत्सर्ग गर्ने अमर प्रहरीहरूको योगदानको स्मरण गर्नुका साथै प्रहरी कर्मचारीलाई जनताको सेवामा थप जिम्मेवार र प्रतिबद्ध भएर काम गर्न प्रेरणा दिएको छ ।


