झापामा बेडमुनि लुकाइएको कटुवा पेस्तोल बरामद, होटल सञ्चालक पक्राउ
झापा । झापाको भद्रपुरमा कटुवा पेस्तोल लुकाएर राखेको आरोपमा एक होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका–५ घर भई हाल भद्रपुर नगरपालिका–६ मा साजन होटल सञ्चालन गर्दै आएका ४४ वर्षीय मन कुमार लिम्बु रहेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार अपराह्न वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले लिम्बुले अवैध हातहतियार लुकाएर राखेको भन्ने गोप्य सूचना पाएपछि उनको कोठामा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा सुत्ने बेडमुनि लुकाएर राखिएको अवस्थामा एक थान कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त पेस्तोल बरामद गर्नुका साथै लिम्बुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुज्जन अवाले जानकारी दिएका छन्।


