सुनसरीमा ब्राउन सुगर र १६२ ट्याब्लेट सहित एक जना पक्राउ
सुनसरी, कात्तिक २ — सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र विभिन्न ट्याब्लेटसहित एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबार बिहान ९ बजे भोक्राहा नरसिंह गाउँपालिका–२ निवासी ४३ वर्षीय अर्सद अंसारीको घरअगाडि शंकास्पद अवस्थामा पार्किङ गरी राखिएको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्ने क्रममा लागूऔषध फेला परेको हो।
प्रहरी चौकी चिरौलीचोक र प्रहरी चौकी भोक्राहाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले BR 38 AJ 7312 नम्बरको मोटरसाइकल खानतलासी गर्दा ट्यांकीको साइड कभरभित्र लुकाइछिपाइ राखिएको ब्राउन सुगरजस्तो देखिने पदार्थ ३ ग्राम ६३० मिलिग्राम बरामद गरेको जनाएको छ।
त्यसैगरी, मोटरसाइकलबाट Spasmo नामक ७२ ट्याब्लेट र Nitzasecen नामक ९० ट्याब्लेटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद ट्याब्लेटको कुल संख्या १६२ रहेको छ।
प्रहरीले लागूऔषध, ट्याब्लेट र मोटरसाइकलसहित सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।


