धनकुटामा सांस्कृतिक सहिद रिदामाहाङ–रमालिहाङको स्मृतिसभा
धनकुटा । आफ्नो संस्कृति र पहिचानको रक्षाका लागि बलिदान दिएका किराँत आठपहरिया समुदायका सांस्कृतिक सहिद रिदामाहाङ र रमालिहाङको सम्झनामा धनकुटामा स्मृतिसभा आयोजना गरिएको छ।
धनकुटा नगरपालिका–७ स्थित चुलिवन झुण्डडाँडामा आयोजित सभामा सहिदद्वयप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदान र संघर्षको स्मरण गरिएको थियो।
इतिहासअनुसार, वि.सं. १९३३ मा तत्कालीन राणाकालीन शासकहरूले दशैँ मनाउन कुर्दी जारी गरेपछि त्यसको विरोध गर्दै दशैँ नमान्ने अडान लिएका आठपहरिया समुदायका पुर्खा रिदामाहाङ र रमालिहाङलाई झुण्ड्याएर गोली हानी हत्या गरिएको थियो। उनीहरूलाई समुदायको संस्कृति, परम्परा र अस्तित्वका लागि संघर्ष गर्ने सांस्कृतिक सहिदका रूपमा स्मरण गरिँदै आएको छ।
स्मृतिसभामा मंगोल नेसनल अर्गनाइजेसन डीजिजीका केन्द्रीय अध्यक्ष बिरलाल वालाहाङ राई, केन्द्रीय सचिव दिनेश बान्तावा राई, नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका निवर्तमान अध्यक्ष सञ्जय सन्तोषी राई, फोनिज प्रदेश नं. १ का निवर्तमान अध्यक्ष सन्तवीर लामा, किराँत आठपहरिया समाजकी अगुवा तथा पूर्व केन्द्रीय अध्यक्ष सरकुमारी आठपहरिया, पत्रकार निमा पोङ्सुवा र भैरव आङ्लालगायतले मन्तव्य राखेका थिए।
वक्ताहरूले सांस्कृतिक सहिदहरूको बलिदानलाई स्मरण गर्दै उनीहरूको इतिहास, योगदान र पहिचानको संघर्षलाई संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा विभिन्न पहिचानवादी संघसंस्थाका अगुवा तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
स्मृतिसभाबारे किराँत आठपहरिया समाजकी अभियन्ता सरकुमारी आठपहरियाले जानकारी दिएकी हुन्।


