सामानसहित गाडी चोरी हुँदा साउदीमा नेपाली चालकलाई ९० लाख जरिवाना !

माई नगरपालिका–४, इलामकी ३० बर्षिया सरिता राई १७ महिना काखे छोरा र ७ बर्षकी छोरी लिएर काठमाडौंमा कुदिरहेकी छिन् । साउदी अरवको मालिस जेलमा थुनिएका आफ्ना ३१ बर्षिय श्रीमान् प्रेमबहादुर राईलाई छुटाउन सकिन्छ कि भनेर उनी काठमाडौंस्थित परराष्ट्र र श्रम मन्त्रालयको ढोका ढकढकाइरहेकी छिन् । प्रेमबहादुरलाई साउदी अरवको जेलमा थुनिएपछि उनको मन स्थिर छैन । कम्पनीलाई प्रेमले ३ लाख १० हजार रियाल (झन्डै ९० लाख रुपैयाँ) भुक्तानी गरेपछिमात्रै जेलवाट छुटने छन् ।

‘उहाँ निर्दोष छु भन्दै रुनुहुन्छ,’ उनी भन्छिन्, ‘इलाममा पुख्र्यौली जग्गा बेचेर त्यत्रो रकम आउँदैन । मलाई दैनिक घरको खर्च चलाउन नै मुस्किल छ । त्यत्रो रकम कहाँबाट ल्याउने ?’

प्रेम सन् २०१२ देखि साउदीस्थित अल सल्वावी इन्टरनेसनल होल्डिङ कन्ट्रक्टिङ कम्पनीमा चालकको काम गर्दै आएका थिए । विदाबाट फर्केको साढे दुई महिनापछि २०१६ मार्च ३१ मा तामाको तार लोड भएको गाडी चोरी राजधानी रियादको जनद्रियाबाट हराएको थियो । ‘सामान पुर्‍याउने कम्पनी वन्द भइसकेको थियो । सडक छेउमा गाडी राखेर साथीको कोठामा खाना खाएर फर्कंदा गाडी देखिन । नदेख्ने वित्तिकै कम्पनीका म्यानेजर र प्रहरीलाई खबर गरें’ प्रेमले अदालतसमक्ष वयानमा भनेका छन्, ‘म पूर्ण रुपमा निर्दोषछु ।’

गाडी हराएको दुई दिनपछि अगाडिको सिसा फारिएको अवस्थामा रित्तो ट्रक जनद्रियाबाट १० किमी टाढा फेला परेको प्रहरी रिपोर्टमा उल्लेख छ । कम्पनीले आफूहरूले निर्देशन दिएको बाटो बदलेको र १३ घण्टा रोडमा बिताएको भन्दै चालक दोषी रहेको दावी गरी अदालतमा क्षतिपुर्ति दावी गरेको थियो । सार्वजनिक अदालतका न्यायाधीश इव्राहिम विन सिड विन अली अल–अस्करको इजलासले चालकले सामानको मूल्य तिर्नुपर्ने फैसला गरेको हो । सार्वजनिक कानुन अनुसार प्रेमले दुई महिना जेल र ५० कोर्रा भुक्तान गरिसकेका छन् ।

साउदीमा जेलमा रहेका प्रेमबहादुर राई र पत्नी सरिता राई

घटना शंकास्पद रहेको भन्दै बिमा कम्पनीले सामानको क्षतिपूर्ति दिन अस्वीकार गरेको छ । कम्पनीले ८ लाख रियाल वरावरको बिमा गरेको थियो । नेपाली दूतावासले प्रेमको मुद्दालाई पुनरावेदन अदालतमा पुनरावेदन गरेको जानकारी दिएको छ ।

‘दूतावासले कम्पनी मालिक मोहम्मद सल्वाईसँग कुरा गरेको थियो । मालिक ३ लाख रियाल दिनुपर्छ भन्ने अडानमा छ,’ नेपाली दूतावासका प्रथम सचिव विजयकुमार राउतले भने,‘हामी प्रहरी स्टेसनमा पनि गयौ । प्रेमलाई पनि भेटेर विस्तृत जानकारी लिने काम भयो । पुनरावेदन अदालतबाट फैसला आइसकेको छैन ।’

साउदीको निजी कानुनअनुसार कम्पनीको क्षतिपूर्ति दिएसम्म प्रेम जेलवाट भुक्त हुदैनन् । प्रेम पत्नी सरिताले माथिल्लो अदालतमा वकिल राखेर वहस गर्न नसकिएको वताइन् । ‘श्रीमान्ले वकिल राख्दा एउटा वहसको ८ हजार रियाल तिर्नुपर्छ भन्नुभएको छ,’ उनले भनिन्,‘सरकारले नै वकिल राखिदिए हुन्थ्यो । मेरो अरु केही आधार छैन । अब सरकार र नेपाली दाजुभाइको साथ र सहयोग चाहिएको छ ।’

प्रेमलाई छुटाउनका लागि प्रेम वचाउ अभियान समितिले पहल गर्दै आइरहेको छ । ‘एउटा निर्दोष नेपाली अनाहकमा फस्न गयो,’ समितिका सदस्य अनिता ताम्बुसाहले भनिन्,‘अरू उपाय नदेखेपछि चन्दा संकलन गर्न सुरु गरेका छौं ।’ समितिले इन्भेष्टमेन्ट वैंकमा ०२९०५०३०२८५१७९ को खाता खोलेर चन्दा संकलन सुरु गरेको हो । –होम कार्की / कान्तिपुर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।