जब भारतले रातारात नेपाली जमिन कब्जा गर्‍यो : सुब्बा भन्छन,- सुत्दा नेपालतिरै थियौं, उठ्दा त भारततिर पो परिएछ

२०३२ सालतिर वीरवहादुर सुब्बाले बसोबास सुरु गर्दा मेचीनगर-११ भान्सा खोलामा पथ्र्यो उनको जमिन । उनी बस्न थालेको १० वर्षपछि भारतले रातारात जमिन कब्जा गर्‍यो । अहिले उनको सहित १२ घरधुरी भारतीय भूमिमा पर्छ । ‘सुत्दा नेपालतिरै थियौं,’ सुब्बाले पीडा सुनाए, ‘उठ्दा त भारततिर पो परिएछ ।’

विगतमा नेपाली भूभाग रहेको झापाको मेचीनगर ११ भान्सा खोलाको करिब साठी बिघाजति जमिन आफ्नो दाबी गर्दै भारतीय पक्षले सीमास्तम्भ गाडेको उनले बताए । ‘हामी नेपाली हौं,’ सुब्बाले भने, ‘पिलरलाई आधार मान्दा त हामी भारतीय भएका छौं ।’ जमिन भारतले दाबी गरे पनि विकासका पूर्वाधार नेपालले नै उपलब्ध गराएको छ । पानी, बिजुली र सडक मेचीनगरपालिकाले उपलव्ध गराएको हो ।

२०४२ सालमा भारतले एकपक्षीय रुपमा नेपाली क्षेत्र अतिक्रमण गरी पिलर गाडेको स्थानीयको भनाइ छ । ५० र ५१ नम्बरका पिलर साविकको नेपाली जमिनभन्दा करिव ५ सय मिटर वरै गाडिएको छ । त्यसबेला नेपाली अधिकारीहरु पनि आएका थिए । तर, भारतले पिलर गाडेको बेवास्ता गर्दै दार्जिलिङ घुम्न गएको स्थानीय कृष्णप्रसाद उप्रेतीले बताए ।

‘पहिला नेपालको सीमाना मेची खोलासम्म थियो,’ उनले भने, ‘थाहै नदिई पिलर गाडेर भारतले जमीन अतिक्रमण गरेको हो ।’ भारतले जमीन कब्जा गरेको कुरा स्थानीयले तत्कालिन प्रशासनलाई जानकारी गराए पनि चासो नदिएको उप्रेतीको भनाइ छ । भारतले केही वर्षपहिले यो क्षेत्रमा बाटो निर्माण गरिदिएको थियो । विद्यालय निर्माणको योजनाचाहिँ सफल हुन पाएन । नेपाली जमीनमा ‘मिड डे मिल’ सहितको बाल विद्यालय बनाउने उसको योजना थियो ।

चुनावका बेला भारतीय नेताहरू भोट माग्न पनि आउँछन् यहाँ । कतिपयले लामो समयदेखि भारतीय नेतालाई सुटुक्क भोट हालेर जिताएका पनि छन् । हाल बसिरहेको घर–जमिनको कर भारततिरै तिरिरहेका छन् । ‘हामी दुवैतिर भोट दिन्छौं,’ सुब्बाले बाध्यता सुनाए, ‘नागरिकताले हामी नेपाली हौं, जमिनले भारतीय बनाएको छ ।’

२०२९ सालतिर भेषबहादुर आयोगले यहाँका बासिन्दालाई अस्थायी धनीपुर्जा उपलब्ध गराएको थियो । यो क्षेत्र भारततिर गाभिएपछि धनीपुर्जा स्थायी हुनै नपाएको स्थानीयको गुनासो छ । ‘चालिस, पचास वर्षदेखि बस्दै आएका छौंै,’ इन्द्रवती चौधरीले भनिन्, ‘स्थायी बसोबासको धनीपुर्जा पाएकै छैनौं ।’

भारतीय अर्धसैनिक बल बेलाबेला आउँछ । पिलर अनुगमन गरेर फर्किन्छ । विगतमा हतियार बोकेरै आउँथे भारतीय सुरक्षाकर्मी । स्थानीयलाई धाकधम्की दिन्थे । ‘अहिलेचाहिँ पहिलाजस्तो गर्दैनन्,’ इन्द्रवतीले भनिन्, ‘आउँछन, पिलर हेरेर फर्कन्छन् ।’

नेपाल–भारत सीमाबारे जानकार प्राध्यापक चिन्तामणि दाहालका अनुसार भारतले करिव तीन सय मिटर जमिन मिचेर पिलर गाडेको देखिन्छ । दुवैतिर बराबर दुरी हुने गरी पिलर गाड्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड रहे पनि भारतले नेपालतिरबाट मात्रै नापेर सीमा पिलर गाडेको दाहालले बताए ।

‘उताबाट पनि नापेर ल्याउँदा पिलर सर्न सक्छ,’ दाहाल भन्छन् । उनका अनुसार झापा–इलामको सीमावर्ती क्षेत्र तिरिङदेखि पाठामारीसम्म करिब ३–४ हजार बिघा जमीन भारतले अतिक्रमण गरेको देखिन आउँछ । यहाँको समस्या बुझ्न राजनीतिक दलका नेता तथा संसदीय टोली पटकपटक आए । तर, पीडित परिवारले कुनै राहत पाएनन् ।

‘विभिन्न पार्टीका नेता र सांसद पटकपटक आए, समस्या सुने, गए’, स्थानीय अमृत लिम्वुले भने, ‘हाम्रो समस्या जस्ताको तस्तै छ ।’- कान्तिपुर / पर्वत पोर्तेल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।