विकास बजेट शिक्षकको तलबमा खर्च

बैतडी, २८ फागुन । बैतडीको दशरथचन्द नगरपालिकाले नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई विकास बजेटबाट तलब खुवाएको छ ।

बैतडीमा शिक्षकलाई तलब खुवाउन स्थानीय तहलाई हम्मेहम्मे परेको छ । शिक्षकका लागि आवश्यक रकम निकासा नभएपछि शिक्षकलाई विकास बजेटबाट तलब खुवाएको दशरथचन्द नगरपालिकाका उप–प्रमुख मीना चन्दले बताउनुभयो ।

अर्थ मन्त्रालयले कम रकम निकासा दिएपछि विकास बजेटबाट तलब खुवाउनु परेको उहाँको भनाइ छ । अर्थ मन्त्रालयले रु दश करोड मात्रै निकासा दिएकाले नगरपालिकाले रु चार करोड ३५ लाख ३ हजार १६० विकास बजेटबाट थपेर शिक्षकलाई तलबभत्ता वितरण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले बताउनुभयो ।

दशरथचन्द नगरपालिकाअन्तर्गत ५६ वटा सामुदायिक विद्यालय रहेका छन् ।

नगरपालिकाको विकाससहित दुई चौमासिकको तलबभत्ता वितरण गरिएको नगरपालिकाको शिक्षा शाखा प्रमुख गणेश जोसीले बताउनुभयो । विकास बजेट शिक्षकको तलबमा खर्च भएकाले समयमा निकासा नभए विकास निर्माणका काममा बाधा पुग्ने देखिएको छ ।

बालमैत्री नगरपालिका बनाउन प्रतिबद्धता

बैतडीको पाटन नगरपालिकाका जनप्रतिनिधिले स्थानीयस्तरमा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन तथा बालबालिकाका सवाललाई योजना र कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता जनाएका छन् । पाटन नगरपालिकालाई निकट भविष्यमै बालमैत्री नगरपालिका बनाउने उद्देश्यसहित जनप्रतिनिधि र सरोकारवालाले १० बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् । यसका साथै नगरपालिकालाई विपद् उत्थानशील नगरपालिका बनाउनका लागि प्रतिबद्धता गरिएको नगरप्रमुख केशवबहादुर चन्दले बताउनुभयो ।

प्रतिबद्धता पत्रमा नगरपालिकाले आगामी दिनमा सञ्चालन गरिने कार्यक्रममा बालबालिकाका योजनालाई अनिवार्य रुपमा समावेश गर्ने, विपद् व्यवस्थापनका कुरालाई ध्यान दिएर योजना निर्माण गर्ने लगायतका छन् ।

पाटन नगरपालिकाअन्तर्गत गाभिएको साबिकको सिद्धेश्वर गाविस बालमैत्री घोषणा भइसकेको र वडा नं १ लाई पनि निकट भविष्यमै बालमैत्री घोषणाको तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖