धनकुटा चौबिसेका यी १२ स्थान जसको ऐतिहासीक महत्व र सुन्दरता अतुलनिय छ – हेर्नुहोस् तस्वीर सहित

चौबिसे धनकुटा क्षेत्रका पर्यटकीय क्षेत्रहरु:

लाफा गाउँ

शहर उन्मूख यो मगर गाउँ राजारानी–छ नं. बुधबारे सडक खण्डको मुढेवासमा रहेको छ । वडा नं. २ मा रहेको यो बजारमा मगर जातिको मात्र बसोबास रहेको छ । यो बस्तिलाई गाउँपालिकाले आगामी दिनमा यहाँ मगर जातिको होमस्टे सन्चालन गर्ने भएको छ ।

धप्पड ताल

गाउँपालिकाको वडा नं.२ स्थित सौरे बजार संगै दक्षिणमा रहेको यो ताल राजारानी–छ नं. बुधबारे सडक खण्डमा रहेको छ । करिव ५२ रोपनीमा रहेको यो तालको गाउँपालिकाले संरक्षण शुरु गरेको छ । प्राचीन कालमा यहाँ सहेको कालीका देवीलाई स्थानियहरुले पूजा गर्न छाड्पछि उक्त देवी मोरङ्गको खदमखोलातिर सरेपछि ताल सुकेको किवदन्ति रहि आएको छ । यो संगै रहेको राणा कालमा स्थापित सौरे बजार यहाँको अर्को पर्यटकीय क्षेत्र हो ।

रानी पोखरी ताल

गाउँपालिकाको वडा नं.१ मा रहेको यो पोखरी ६ नं. बुधबारे बजार देखि ३ किलोमिटर पश्चिममा रहेको छ । पुनरत्थान शुरु गरिएको यो ताल करिव २ सय रोपनीमा फैलिएको छ । बुधबारे बजारबाट २ किमि दक्षिणमा रहेको गडेरे ताल, सौरेको धप्पड ताल, गडेरे ताल, कागडा पोखरी, धाउखानी गुफा, महाराजा मन्दिर, मिक्लाजुङ डाँडा, दुर्गा, शिवलिङ्ग र कालिकादेवी मन्दिर, नेपालकै तेस्रो ठूलो मानिएको मुक्तारा गाउँ स्थित वरको रुख भएको स्थान क्षेत्रका पर्यटकीय स्थान हुन् ।

ल्वाकिल डाँडा

गाउँपालिकाकोे वडा नं.२ स्थित राजारानी–सडक खण्डमारहेको यो डाँडा प्राचिन चौबिसे राज्य र मिक्लुक राज्यको सिमाना मानिन्छ । यस डाँडामा लडाईंको किल्ला बनाएर लिम्बूहरुका पुर्खाहरुले नागाहरुलाई हराएको किंवदन्ति रहिआएको छ । १५ सय फुट उचाइमा रहेको यो डाँडाबाट मौसम खुलेको बेला दाजिलिङ्गको टाईगरहिल क्षेत्र देख्न सकिन्छ । टिठुङ ताल,धप्पड ताल,चाने ढुंगा,छाँगे झरना,नाडोलुङ झरना,लुङहाङ्मा,त्रिवेणी मन्दिर,सफाईटार यस क्षेत्रका पर्यटकीय क्षेत्र हुन् ।

बन्दुके डाँडा

गाउँपालिकाको वडा नं.३ मा रहेको यो स्थान राजारानी बजारबाट २ किलोमिटर उत्तर–पूर्वमा रहेको छ । १२ सय फुटको उचाइमा रहेको यो डाँडाबाट, काठमाण्डौ सूर्यविनायक लगाएत पूर्वका १६ जिल्लामा रहेका हिमाल,पहाड र तराईका सुन्दर दृष्यहरु हेर्न सकिन्छ । भाले र पोथी पोखरी, बुढासुब्बा मन्दिर गढी गाउँ यस क्षेत्रका पर्यटकीय क्षेत्र हुन् ।

माने डाँडा

गाउँपलिकाको वडा नं.२ मा रहेको यो स्थान राजारानी बजारबाट दक्षिण–पश्चिममा रहेको छ । यो डाँडाबाट तेह्रथुम जिल्लाका विभिन्न स्थानहरु र कुम्भकर्ण हिमालको सुन्दर दृष्य देख्न सकिन्छ । त्रिवेणी दोभान,डिटार फाँट यस क्षेत्रका पर्यटकीय क्षेत्र हुन् ।

गढी थुम्का

गाउँपालिकाको वडा नं. ५ मा रहेको यो ऐतिहासिक थुम्का (यक)प्राचिन चौबिसे राजाहरुले लडाईंका बेला प्रयोग गरिएको भनिन्छ । बोधे गढीले प्रख्यात यो डाँडा (थुम्का) राजारानी बजारबाट ८ किलोमिटर उत्तर–पूर्वमा रहेको छ । लिम्बू,राई र याखाहरुको कुलपरुजा गर्दा मुन्धुममा उल्लेख हुने यस स्थान पूर्वी पहाडी जिल्लाका विभिन्न स्थानहरु देख्न सकिन्छ । दाम्बे गुफा,किरात स्मारक,थाकेलुङ ,त्रिवेणी दोभान,छाँगे झरना यस क्षेत्रका पर्यटकीय स्थलहरु हुन् ।

हाङसेमालुङङ्ग

यो ढुंगाको प्रतिमा कोशी राजमार्गको धरान–धनकुटा मुलघाट सडक खण्ड भएर उत्तर–दक्षिण तमोर करिडोर संगै तमोर नदी किनारमा रहेको हङ्समोरङ्ग बेंसीको पूर्वी किनारमा रहेको छ । उक्त हाङसेमालुङबाट नै सो स्थानमा रहेको बेंसीको नाम पनि हङ्समोरङ्ग रहेको छ । लिम्बूवानका १० लिम्बू राजाहरु छुट्टिदाको समयमा उक्त हाङसेमालुङ ढुंगा निशानको रुपमा गाडिएको किंवदन्ति रहिआएको छ । गाउँपालिकाको वडा नं. ५ मा रहेको यस स्थनबाट तमोर नदी र नदी किनारमा अवस्थित सुन्दर फाँटहरु अवलोकन गर्न सकिन्छ ।

रानी ताल

गाउँपालिका रहेकोे वडा नं.६ स्थित राजारानी बजार संगै रहेको यो ताल १३३ रोपनीमा संरक्षित छ । यो चौबिसे क्षेत्रको मुख्य पर्यटकीय क्षेत्र हो । यो तालमा बोटिङ्ग र फिसिङ्गको व्यवस्था छ । प्राचिन समयमा उपत्यका र विशाल तालको रुपमा रहेको यो राजारानी ताल सुकेर निजिकरण भएपछि हजारौ रोपनी तालको क्षेत्र हाल प्रवद्र्धनको पखाईमा सुख्खा अवस्थामा रहेको छ । युमा माङहिम मन्दिर यहाँको अर्को धार्मिक पर्यटकीय स्थान हो ।

नागबेली पार्क

राजारानी बजार संगै बजारको दक्षिण तर्फ रहेको यो पार्क कलाकार श्याम गौतमले परिकल्पना गरेर निर्माण गरेका हुन् । सुतली सामुदायिक वन क्षेत्रको सुनसान क्षेत्रमा रहेको यो पार्कमा विशाल ढुंगामा कुंदिएका नाग र अन्य कलाकृतिहरु हेर्न पाईन्छ । साना पोखरी र काली झरना यहाँका आकर्णहरु रहेकका छन् ।

खादले सिद्ध देवी

गाउँपालिकाको वडा नं.७ मा रहेको यो प्रशिद्ध देवालय मौनाबुधुक बजार देखि १ किलोमिटर पश्चिममा रहेको छ । यहाँ भाकल गरिपछि सन्तान प्राप्ति हुने र बोली नआउने बालबालिकाको बोली आउने विश्वास रहिआएको छ । यहाँ दैनिक दर्जन भन्दा बढी भत्तजनहरुको आवागमन हुनेगरेको छ । रमिते डाँडा र मौनाबुधुक गाउँको सुन्तला खेती यहाँको अर्को पर्यटन आकर्षका केन्द्र हुन् ।

जेफाले

गाउँपालिकाको वडा नं.८ स्थित धनकुटा र मोरङ्गको सिमानामा रहेको यो डाँडामा निर्मित भ्यू टावरबाट प्रदेश नं. १ का १३ जिल्लाका हिमाल,पहाड र तराईका विभिन्न दृष्यहरु देख्न सकिन्छ । २६ सय मिटरको उचाइमा रहेको यो टावर भएको डाँडामा पुग्न राजारानी–बुधबारे सडक खण्डमा रहेको सम्मेवा बजारबाट दक्षिण तर्फ १ घण्टा वा बजारबाट सुनसरी तर्फको जेफाले गाउँ सम्म ३ किमि पछि १० मिनेट उत्तर तर्फ पैदल हिंडेर पुग्न सकिन्छ । टावरको अवलोकन संगै मोरङ्ग क्षेत्रमा रहेको जेफाले गाउँको होमस्टे यस क्षेत्रको अर्को पर्यटकीय क्षेत्र हुन् । विभिन्न ३ चमेरे गुफा,चुक्पा सिंघा झरना,काली कोक्मा देवीथान,दुम्सेको किरातेश्वर मन्दिर,ठाडा गाउँको बौद्ध विहार,चर्च यहाँका धार्मिक पर्यटकीय स्थलहरु हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।