यस वर्ष जिब्रो छेड्दै बालक, जात्राको विधि शुरु

भक्तपुर । विसं २०६३ देखि रोकिएर गत वर्षदेखि शुरु भएको थिमिको जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिन यस वर्ष मध्यपुरथिमी–५, चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेड्ने हुनुभएको छ ।

आज चोडेमा चेंया पुन्हिया मेय प्वा ः खनेगु जात्रा व्यवस्थापन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले लोप हुन लागेको जात्रा र परम्परालाई जीवित राख्न आफूले यस वर्ष जिब्रो छेड्न लागेको बताउनुभयो ।

स्थानीय युवाको पहलमा गत वर्ष बालकुमारीका २९ वर्षीय वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडेर रोकिएको जात्रालाई पुनःसञ्चालनमा ल्याएपछि यस वर्ष पनि जात्रालाई निरन्तरता दिन श्रेष्ठ तयार हुनुभएको हो ।

श्रेष्ठले आफ्ना काका कृष्ण नानिचा श्रेष्ठले तीन पटकसम्म जिब्रो छेडेकाले आफू पनि यो जात्रा नरोकियोस् र निरन्तरता पाओस् भनेर जिब्रो छेड्न तयार भएको बताउनुभयो ।

वीरेन्द्रभक्तले यस वर्ष आफ्ना पिताको आशोच बारेकाले जिब्रो छेड्न नहुने भएपछि बालक तयार हुनुभएको हो । जिब्रो छेडाउने व्यक्ति मध्यपुरथिमिको श्रेष्ठ थरकै हुनुपर्ने प्रचलन छ ।

भाद्र शुक्लपक्ष पूर्णिमाको साँझ जिब्रो छेडाएर सञ्चालन हुने जात्राका लागि आवश्यकपर्ने सियो बनाउन आज सियो बनाउनेकर्मी नाय रामभक्त नकर्मीलाई पूजा लगेर भोज खुवाएपछि सियो निर्माण शुरु भएको छ । सियो निर्माण सकिएपछि करीब ४५ दिन फलामको १० इञ्च लामो सियोले जिब्रो छेडाउने प्रचलन छ । सियोलाई तेलमा डुबाएर राख्ने प्रचलन छ ।

आर्थिक अभावका कारण थिमीको जिब्रो छेड्ने जात्रा अब लोप हुन नदिने समितिका सदस्य रुपेश सुवा श्रेष्ठले जानकारी दिनुभयो । स्थानीयबाट संकलित रकमबाट जात्रा सञ्चालन गरिने भएको हो । यसका लागि गत वर्ष नै स्थानीयले समिति बनाएका हुन् । पच्चीस वर्षअघिदेखि बन्द भएर लोप भएको यो जात्रा कृष्ण नानीचा श्रेष्ठले विसं २०५२ मा जिब्रो छेडेर सञ्चालनमा ल्याएर आफैँले विसं ०५७ र ०६३ मा गरी १० वर्षमा तीनपल्ट जिब्रो छेडाउनुभएको थियो । त्यसबीचका समयमा भने जात्रा सञ्चालन गर्न सकिएको थिएन ।

स्थानीयले बताएको किंवदन्तीअनुसार प्राचीनकालमा भूत–प्रेत, पिशाच, ख्याक तथा कंकाल (बउचा) ले थिमिका मानिसलाई धेरै दुःख दिए । यिनीहरुलाई तान्त्रिक विधिबाट पक्रेर जिब्रो छेडी नगर परिक्रममा गरेपछि दुःख दिन छोडेको र यो जात्रा सञ्चालन गरेपछि देशमा भूतप्रेतले दुःख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्पको भय नहुने जनविश्वास रहेकोे विसं २०६३ मा जिबो छेडाउनुभएका कृष्ण नानीचा श्रेष्ठले बताउनुभयो ।

जिब्रो छेडाउने व्यक्तिले आठ दिनअघिदेखि बालकुमारी मन्दिरमा ‘मु पूजा’ (मन्दिरको चारैतिर पर्दाले छोपेर गर्ने पूजा) गर्ने प्रचलन छ । आठ दिनअघिदेखि एक छाकमात्र खाएर शुद्ध भई बस्नुपर्ने, पशुपक्षीलाई छुन नहुने, जिब्रो छेडाउने एक दिनअघिदेखि श्रीमतीको अनुहार हेर्नसमेत नहुने उहाँ बताउनुहुन्छ ।

त्यस्तै जात्राको चार दिनअघिदेखि लगातार सम्पूर्ण परिकार बनाइ नगरका मानिसलाई भोज खुवाउनुपर्ने परम्परा छ । जिब्रो छेडाउन थिमिमै बनाएको माटोको पाला, सुपारी, जिउँदो माछासहित दिगु भैरव मन्दिरमा पूजा गर्ने परम्परा छ ।

जिब्रो छेड्ने दिन थिमि लाय्कुका नायो पमा गई हनुमान ढोका लाय्कु (दरबार)बाट राजाको चिनो (खड्ग) लिएर आएपछि जिब्रो छेड्ने गरिन्छ । भाद्र शुक्लपक्ष पूर्णिमाको साँझ दिगु भैरव मन्दिरको मण्डपमा जिब्रो छेडाएर मानन्धर थरका व्यक्तिहरुले बालेको यास्मता (लामो तीनवटा बत्ती) अघि–पछि राखी जिब्रो छेडाउने व्यक्तिले चन्द्राकारको मसालजस्तो बनाइएको भ्वाय् अर्थात् महाद्वीप बोकेर नगरपरिक्रमा गर्ने प्रचलन रहेको छ । जिब्रो छेडाएर नगर परिक्रमा गरिसकेर बालकुमारी मन्दिरमा आएर सियो निकालेर मन्दिरकै खम्बामा गाड्ने परम्परा रहेको छ । यो जात्रामा एकैपटक २७ जनाले जिब्रो छेडाएको इतिहास रहेको बताउँदै पत्रकार सम्मेलनमा यो जात्रालाई धेरै वर्ष पहिला पशुपति, गुहेश्वरीदेखि चाँगुनारायणसम्म लैजाने गरेको जानकारी दिइयो ।

जिब्रो छेडाएर प्वाल बनेको जिब्रोमा बालकुमारी मन्दिरको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनुनपर्ने जनविश्वास रहेको छ । जिब्रो छेडाउँदा दैवी शक्ति प्राप्त हुनेसमेत विश्वास छ । जिब्रो छेड्ने जात्रा सञ्चालन गर्न करीब रु सात लाख खर्च हुने अनुमान गरिएको समितिका सचिव हरिसुन्दर श्रेष्ठले बताउनुभयो ।

गत वर्ष मध्यपुरथिमि नगरपालिकाले रु एक लाख विनियोजन गरेको र यस वर्ष पनि दिने भए पनि नपुग रकम चन्दा दाता रु स्थानीय तहबट संकलन गरिने भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।