धनकुटाका मेयर तामाङले दिए भूपू सैनिकलाई यस्तो सुझाब
धनकुटा खबर । धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले भूपू सैनिकहरुलाई आफ्नो बाँकी समय व्यवसायीक र सामाजिक कामहरुमा लगानी गर्न सुझाव दिनुभएको छ ।
नेपाल भूतपूर्व सैनिक परिवार धनकुटाले आज आफ्नो तेश्रो वार्षीक साधारण सभा तथा आउदै गरेको विभिन्न चाड पर्वको उपलक्षमा शूभकामना आदान प्रदान गर्ने लक्षका साथ आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले त्यस्तो सुझाव दिनुभएको हो ।
भूपू सैनिक परिवारका अध्यक्ष धन वहादुर खड्काको अध्यक्षतामा सञ्चालित कार्यक्रममा भूपू सैनिक संघको भवन नजिक शव गृह भएको र यहाँ कुनै वेला शव धेरै दिन राखिईरहँदा समस्या हुने विषयमा संघले राखेको गुनासोलाई सम्वोधन गर्दै यो समस्या समाधानका लागि तत्काल शव गृह सार्ने सम्भावना नभएपनि विभिन्न प्रविधि र उपाया अपनाएर नगरपालिकाले समस्या समाधानका लागि पहल गर्ने प्रमुख तामाङले वताउनुभयो ।

उहाँले वर्तमान समयमा मानिसहरु विभाजित भईरहेको अवस्थामा पनि विभिन्न फरक फरक देशमा सैनिक सेवा पूरा गरी सवैदेशमा काम गरेका सैनिकहरु नेपाल फर्केर एउटै संघमा आवद्ध हुनुले एकता र सहकार्यको सकरात्मक सन्देश दिएको उल्लेख गर्दै आवश्यक परे नगरले भूपू सैनिक संघलाई सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु वताउनुभयो ।
कार्यक्रममा भूपू सैनिक परिवारका आजीवन सदस्य तथा निर्माण व्यवसायी संघ धनकुटाका अध्यक्ष अर्जुन केसीलाई सैनिक दोसल्ला ओढाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन वेलायत र भारत भूपू सैनिक संघका कोषाध्यक्ष तथा भूपू सैनिक परिवारका संस्थापक सदस्य श्याम प्रकाश राईले गर्नुभएको थियो ।

कार्यक्रममा पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,निवृतीभरण राष्ट्रसेवकका सचिव तिलक प्रसाद राई भूपू सैनिक सुनसरी जिल्ला अध्यक्ष क्षेत्र वहादुर कार्की, शसस्त्र प्रहरीवल धनकुटा गुल्मका गुल्मपति सचिन कर्माचार्य,नेपाल आर्मी वेलफेयर सेन्टरका प्रमुख कोषराज घिमिरे लगायतकाले शूभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाल,भारत, वेलायत भूपू सैनिक तथा परिवारका सदस्यहरुको उपस्थिती थियो ।


