लेकाली कटिया काठमाडौंमा लोकप्रिय, यसरी बनाईन्छ ‘लेकाली कटिया’ (भिडियो सहित)
काठमाडौैं । रौतहटको कटिया अहिले काठमाडौंमा लोकप्रिय बन्दै गएको छ । काठमाडौंमा लोकप्रिय बन्दै गएको कटिया अहिले ‘लेकाली कटिया’ ब्राण्डको रुपमा स्थापित हुँदैछ ।
कुनै बेला रौतहटको कटहरियामा कटिया पकाएको देखेर आकर्षित भएका मधुसुदन ढकालसहितका व्यक्तिले काठमाडौंको तीनकुने गैरीगाउँमा ‘लेकाली किचेन एन्ड कटिया हाउस’ सञ्चालनमा ल्याएका छन् । जसले खानाका सौखिनहरुलाई तानिरहेको छ ।
माटाका भाँडामा पकाएको मासु अर्थात कटियाको मौलिक स्वाद पस्केको लेकाली कटिया हाउसले कटिया मात्रै होइन तास, बँधियासहित विभिन्न खानाहरु मौलिक स्वादमा दिन दक्ष, अनुभवी कुकहरुलाई काठमाडौं ल्याएर ग्राहकको मन जितिरहेको छ ।
‘यहाँ नामकोमात्रै होइन मौलिक स्वादमै खानेकुरा उपलब्ध गराउँछौँ’, क्यानडानेपालसँगको कुराकानीमा मधुसुदन ढकालले भने, ‘मौलिक स्वादसहित खानेकुरा ग्राहकलाई पस्कन हामीले स्थानीय क्षेत्रबाट दक्ष र अनुभवी कुक ल्याएका छौं ।

कटियाका लागि रौतहटबाटै दक्ष र अनुभवी कुक ल्याएका उनले अन्य खानाका लागि पनि स्थानीतहबाटै कुक ल्याएका छन् । लेकाली कटिया हाउसको कटियामात्रै लोकप्रिय बनेको छैन, थकाली खाना र च्यांग्राको सुकुटी, बँधिया पनि उत्तिकै ग्राहकको स्वादिलो खाना बनेको छ ।
माटोको विशेषखालको भाँडोमा पकाइने खसीको मासुलाई कटिया भनिन्छ । माटोको भाँडोमा प्याज, जिराको गेडा, अदुवाको टुक्रा, सुकेको खुर्सानी, मरिच, बेसार, लोकल लसुन, मसला र खसीको मासु राखेर करिब डेढ घन्टा कोइलामा पकाएपछि कटिया तयार हुन्छ । काठमाडौंमा कटिया एक दशक अघिदेखि नै पाउन थालिए पनि लेकाली किचेन एण्ड कटिया हाउसले भने यसको लोकप्रियता बढाएको हो । अहिले लेकाली कटिया खोज्दै ग्राहकहरु तीनकुने गैरीगाउँ पुग्न थालेका छन् ।
लगाउने बस्तु एउटै छानामुनी पाइने सपिङ सेन्टर खुले पनि विभिन्न खानाका परिकार एकै छानामुनी मौलिक स्वादमा पाइने स्थान बनेको छ, लेकाली किचन एण्ड कटिया हाउस । यस कटिया हाउसमा मधेशमा खाइने खसीको कटियादेखि हिमाली भेगमा खाइने च्याङ्ग्राको सुकुटीसम्मको परिकार उपलब्ध छ ।
यहाँ थकाली खाना, फापर, मकै, कोदोको ढिंडो, मार्सी चामलको परिकार पनि पाइने सञ्चालक मधुसुदन ढकालले जानकारी दिए । उनले लेकाली कटियालाई ब्राण्डको रुपमा स्थापित गराउने लक्ष्यका साथ काम गरिरहेको जानकारी दिए ।

