का,लोधन रो,क्न नयाँ व्यवस्था

काठमाडौं । सेयरबजारमा अवैध लगानी नभित्रियोस् भन्ने लक्ष्यका साथ नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थालाई पूर्णरुपमा लागू गर्ने भएको छ । बोर्डले ‘धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली २०६४’ लाई संशोधन गर्दै सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रचलित कानुनबमोजिम लगानीको स्रोतसम्बन्धी विवरण खुलाउनुपर्ने व्यवस्था गरेको छ ।

बजारमा हुने लगानीका लागि अवैध पैसाको प्रयोग नहोस् भनेर त्यस्तो व्यवस्था गरिएको बोर्डले जनाएको छ । बोर्डका सहायक प्रवक्ता रुपेश केसीकाअनुसार बजारलाई थप व्यवस्थित बनाउने लक्ष्यका साथ सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थामा कडाइ गरिएको हो ।

यस्तै, बोर्डले मर्चेन्ट बैंकरको सञ्चालक तथा कार्यकारी प्रमुख धितोपत्र दलाल वा केन्द्रीय निक्षेप सेवा वा अन्य मर्चेन्ट बैंकर वा क्रेडिट रेटिङ संस्थामा लाभको पदमा रहँदा स्वार्थ बाझिन सक्ने भएकाले त्यस्ता संस्थामा रहन नपाउने व्यवस्था गरेको छ । त्यस्तै, मर्चेन्ट बैंकरले संस्थागत जोखिम व्यवस्थापन गर्न तथा संस्थाको वित्तीय सबलताका लागि जगेडा कोष राख्नुपर्ने व्यवस्था नयाँ नियमावलीमा गरिएको छ ।

मर्चेन्ट बैंकरको सेयर बिक्री वा हस्तान्तरण हुँदा वा अन्य कुनै प्रकारले नयाँ सेयरधनी थप गर्नुुपूर्व बोर्डमा अभिलेख उपलब्ध गराउँदा अंकित मूल्यको सट्टामा बिक्री मूल्यमा गराउनुपर्ने व्यवस्था थप गरिएको छ । सो व्यवस्थाले बजारलाई थप पारदर्शी बनाउने लक्ष्य राखिएको छ । सार्वजनिक निष्कासन गर्ने संस्थाका सञ्चालक तथा सेयरधनी कालोसूचीमा नरहेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

साधारण सेयर निष्कासनलाई थप व्यवस्थित बनाउन कालोसूचीको व्यवस्था गरिएको हो । कालोसूचीमा रहेका व्यक्तिले नागरिकको लगानीलाई फरक उद्देश्यका साथ परिचालन गर्नसक्ने भएकाले कडा प्रावधान राखिएको हो ।

यस्तै, धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासनमा ‘बुक बिल्डिङ’ विधिसमेत प्रयोगमा ल्याउने व्यवस्था ल्याइएको छ । सो व्यवस्थाले साधारण सेयर निष्कासन गर्ने कम्पनीको सेयर अधिकतम् मूल्यमासमेत बिक्री गर्न पाइनेछ ।

सार्वजनिक निष्कासनमा प्रविधिको प्रयोग भएसँगै धितोपत्र निष्कासन खुला रहने अधिकतम् अवधि ३० दिनबाट घटाइ १५ दिन कायम गरिएको छ । सूचीकृत संगठित संस्थाका सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर १० प्रतिशतभन्दा कम नहुने गरी बिक्री प्रस्तावमार्फत् बिक्री गर्नसक्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, संगठित संस्थाले विदेशी मुलुकको पुँजीबजारमा ऋणपत्र वा अन्य धितोपत्र विदेशी मुद्रामा जारी गर्न सकिने व्यवस्था गरिएको छ । धितोपत्रसम्बन्धी कानुनलाई समसामयिक बनाउँदै लैजानेक्रममा साविकको धितोपत्र व्यवसायी नियमावली, सामूहिक कोष नियमावली, धितोपत्र दर्ता तथा निष्कासन नियमावलीलाई अर्थ मन्त्रालयको स्वीकृतिमा संशोधन गरिएको हो । संशोधित नियमावली आगामी फागुन १ गतेदेखि लागू हुने सहप्रवक्ता केसीले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।