आज सगरमाथा दिवसको दिन सुनसान सगरमाथा

भोजराज कार्की

सोलुखुम्बु, जेठ १६ गते । आज मे २९ अर्थात् अन्तरर्रािष्ट्रय सगरमाथा दिवस । सतसट्ठी वर्ष पहिले आजकै दिन सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ । नेपाल सरकारले सन् २००८ देखि मे २९ लाई अन्तरर्रािष्ट्रय रुपमै यो दिवस मनाउन निर्णय गरेको थियो ।

सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । त्यसपछि शुरु भएको आरोहणमा पछिल्ला दुई दशकमा निकै आकर्षण बढेको छ । पर्वतीय पर्यटनको क्षेत्रमा काम गर्नेहरुले यो दिनलाई विशेष रुपमा मनाउने गरिन्छ । सगरमाथाले नेपाललाई विश्वमाझ चिनाइरहेको छ भने मे २९ मानिस र सगरमाथाबीचको सामिप्यता बढाउने दिन हो ।

यो वर्षको वसन्त ऋतुमा सगरमाथा सहित नेपालका सबै हिमालहरु सुनसान बनेका छन् । विगत वर्षमा यो समय आरोहीको भीडभाड तथा चहलपल बाक्लो हुने सगरमाथा क्षेत्रसहितका हिमाल एवं हिमशृङ्खला यो वर्ष भने विश्वभर फैलिएको कोरोना महामारीका कारण सुनसान बनेको छ । कोरोना भाइरस सङ्क्रमणको डरले यात्रा रोकिंदा आरोहीहरु आउन सकेका छैनन् । सरकारले सबै हिमाल आरोहण कार्य यो मौसमका लागि बन्द गरेको छ । सगरमाथा आरोहणका क्रममा अहिलेसम्म विभिन्न कीर्तिमानी कायम भएको छ । आरोहण यात्रा शुरु भएयता अहिलेसम्म करिब १२ हजारभन्दा बढी स्वदेशी तथा विदेशीले सगरमाथा आरोहण गरिसकेका छन् ।

तीन महिना सगरमाथाको आधारशिविर भरिभराउ हुने, त्यस क्षेत्र वरपर सरसफाइ गर्ने लगायतको काम हुने भए पनि अहिले सबै कार्य ठप्प भएको पर्यटन व्यवसायी किताबसिं तामाङको भनाइ छ । विसं २०७२ को महाविनाशकारी भूकम्पले थलिएको आरोहण क्षेत्र क्रमैसँग माथि उठ्दै गएको भए पनि यो वर्ष सुनसान हुने यहाँका पर्यटन व्यवसायीसहित सिङ्गो राज्यलाई नै ठूलो नोक्सानी भएको छ । जसले गर्दा यस क्षेत्रका होटल व्यवसायसमेत धरासायी बनेको नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाको भनाइ छ ।

सगरमाथा आरोहणका इतिहास ः कान्छा शेर्पा

पहिलोपटक शिखरमा जाने समूहमध्ये खुम्बु पासाङल्हामु गाउँपालिका–३ नाम्चेका कान्छा शेर्पा पनि एक हुनुहुन्छ । त्यसबेला ‘हाइ अल्टिच्युड शेर्पा’ का रूपमा गएका ८८ वर्षीय शेर्पा २० वर्षको उमेरमा तेञ्जिङनोर्गे शेर्पा र सरएडमण्ड हिलारीको लागि बाटो बनाउँदै शिखर नजिक सात हजार ८०० मिटरसम्म पुग्नुभएको थियो । उहाँसहित दुई जना हाइअल्टिच्युड शेर्पा हुनुहन्थ्यो भने अन्य लो अल्टिच्युड शेर्पाका रूपमा गएको कान्छा शेर्पाको भनाइ छ ।

कान्छा शेर्पाका अनुसार भक्तपुरबाट ४०० भरियासहित आरोहण दलका ३५ सदस्य टोली नाम्चे हिँडेको थियो । चार सयमध्ये १०० को टोली एक–एक दिनको फरकमा हिँडेको थियो । उहाँले भन्नुभयो, “काठमाडौँमा गाडी थिएन, भक्तपुरमा गाईवस्तु चथ्र्यो, अहिले भक्तपुरमा त टेन थाउजेण्ट घरहरु होला है ! सपनाकै कुरा हो ।” “बाटोमा कुनै होटल पसल थिएन”, शेर्पाले भन्नुभयो, “मकैको छ्याङ अनि सातु खाँदै हिँड्नपथ्र्यो, अहिले त जताततै होटल पसल, सुविधा राम्रो छ, त्यो बेला केही थिएन निकै गाह्रो थियो ।”
भक्तपुरबाट हिँडेको टोली १६ दिनमा नाम्चे पुगेको थियो ।

सगरमाथा प्रवेशद्वार नाम्चे पुगेपछि ४०० भरियालाई दैनिक रु पाँच ज्याला दिएर फर्काएपछि शिखरतर्फ अगाडि बढेको टोली छ दिनमा आधार शिविर पुगेको शेर्पाको भनाइ छ । उहाँका अनुसार ४०० भरियाले बोकेकामध्ये २५ भारी त पैसामात्रै थियोे । “नाम्चेबाट ३५ जना टोली आधारशिविर लाग्याँै, पाँच दिनमा त्यहाँ पुगेपछि बस्ने व्यवस्था मिलायौँ,” उहाँले ६७ वर्ष अगाडिको अनुभव सुनाउँदै भन्नुभयो, “क्याम्प एकसम्म पुग्नकै लागि निकै कठिन भयो, बाटो खोज्दै जाँदा खुम्बु आइसफलमा ठूलो खर्पस भेटियो, हामीसँग भ¥याङ थिएन, अनि नाम्चे फर्केर १० सल्लाको रुख काट्यौँ, २० जनाले बोकेर उकालो लाग्यौँ, अनि काठको पुल बनाएर बाटो बनायौँ ।”

त्यतिबेला सगरमाथा नामकरण गरिएको थिएन, स्थानीय भाषामा चोमोलोङमा भन्ने गरेको उहाँको भनाइ छ । क्याप दुई, तीन हँुदै चारसम्म बाटो बनाएपछि, तेञ्जिङ र हिलारी शिखरतर्फ गएर चढेको उहाँले सुनाउनुभयो । “मे २९ को दिन दिउँसो १ बजे ओकेटोके बोकेको थियो, त्यसबाट भने हामी सक्सेस भयौं, तिमीहरु क्याम्प–२ मा बस्नु भने हामी सबै खुशी भयाँै”, शेर्पाले भन्नुभयो, “दुई घण्टापछि क्याम–२ मा उनीहरु आए खुशीले अँगालो हाल्यौँ, किस खायौँ, सबै नाच्यौँ ।” त्यसबेला कान्छा शेर्पाको दैनिक ज्याला रु आठ थियो । तर के कति पैसा बुझेको उहाँलाई थाहा छैन ।

सोलुखुम्बुको थामेमा जन्मेका तेञ्जिङ नोर्गे शेर्पाले दार्जिलिङमा पुगेर ट्रेकिङ कम्पनी खोलेपछि सोही माध्यमबाट सरएडमण्ड हिलारीसँग भेट भएको बताइन्छ । एडमण्ड हिलारीले सगरमाथा चढ्ने प्रक्रिया अगाडि बढाएपछि तेञ्जिङलाई समेत जन्मभूमि फर्कने अवसर मिलेको उनीहरुलाई बाटो देखाउने कान्छा शेर्पाले सुनाउनुभयो ।

पर्यटन व्यवसायीको सुझाव

सगरमाथा क्षेत्रमा फोहरको मात्रा बढेको र हिउँ घटेको प्रति सबैको चिन्ता बढिरहेको बेला यस वर्ष आरोहण ठप्प भयो । केही वर्षयता सरकारले समेत हिमाल सफाइ अभियान नै सञ्चालन गरेको भए पनि आरोहीको चापले सोचेजति सफाइ हुन नसकेको आरोही किताबसिं तामाङको भनाइ छ ।

यस वर्ष कोरोना कहरकै बीचमा सरसफाइ अभियान सञ्चालन गर्ने पर्यटन मन्त्रालयको धारणा सुनेका व्यवसायी तथा सम्वद्ध निकाय हर्षित भए पनि कार्यान्वयन नहुँदा निरास बन्नुपरेको टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का उपाअध्यक्ष चोलेन्द्र कार्कीको भनाइ छ । यो समयमा आरोही नभएको बेला पर्यटन मजदुर तथा आरोहीलाई नै सामाजिक दूरी कायम गरी सगरमाथा सफाइमा संलग्न गराएको भए प्रभावकारी हुने उहाँले बताउनुभयो ।

हिमाली क्षेत्रमा जानका लागि यो उपयुक्त समय भएकाले त्यसमा ध्यान पुग्न नसकेको उहाँको भनाइ छ । अबको दुई वर्षसम्म पर्यटन क्षेत्रसँगै सगरमाथा आरोहण सन्तोषजनक नहु्ने भएकाले सोहीअनुसार कार्यक्रम तय गर्नुपर्ने उहाँले सुझाएका छन् ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।