कक्षा १२ को परीक्षा सञ्चालनको विकल्प खोज्दै बोर्ड

काठमाडौं, भदौ २० । राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम तह कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प समेटेर नेपाल सरकारलाई सुझाव दिने तयारी गरेको छ।

शिक्षा पत्रकार समाज (सेज) ले शनिबार आयोजना गरेको भर्चुअल बहसमा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले विद्यार्थीले संसारभरि लिएर जान सक्ने विधिवत् लब्धांकपत्र प्राप्तिको सवाललाई गम्भीरताका साथ आफूहरुले अध्ययन गरिरहेको जनाए।

उनले कक्षा १२ को परीक्षालाई यसअघि असोजको पहिलो साताबाट सञ्चालन गर्ने तयारी गरिएकामा कोरोना भाइरसको जोखिम बढेकाले मिति पछि सर्न सक्ने र यसबारे बोर्डले मात्रै निर्णय गर्न नसक्ने स्पष्ट गरे।

उनले बोर्डले दिने सुझाव अध्ययन गरेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कोभिड–१९ रोकथाम तथा नियन्त्रण केन्द्र (सीसीएमसी) ले परीक्षा सञ्चालनका विधि र मितिबारे बाधा अड्काउ फुकाउसहित निर्णय गर्ने बताए।

बोर्डले कोभिड–१९ को जोखिम बढिरहेको र कक्षा १२ को परीक्षाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता पाउनुपर्ने भएकाले कक्षा १० र ११ का जस्तो आन्तरिक मूल्याङ्कनका आधारमा प्रमाणीकरण नगरी राष्ट्रियस्तरको परीक्षा गर्न सुझाव तयार गरेको छ ।

विद्यालय तहका सबै विद्यार्थी अनलाइन सिकाइमा समावेश हुन नसकिरहेको अवस्थामा अनलाइनबाट कक्षा १२ परीक्षा सञ्चालन गर्न वा कोरोना जोखिम नभएका ठाउँमा परीक्षा सञ्चालन गरेर अन्य जिल्लामा फरक फरक मितिमा परीक्षा लिन सकिने प्रतिवेदनमा उल्लेख छ।

चरणबद्ध परीक्षा भएमा पनि परीक्षाफल एकै समयमा हुने अध्यक्ष पौडेलले जानकारी दिए। गत चैत ८ गतेदेखि हुने कक्षा १२ र चैत २५ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा बन्दाबन्दीका कारण स्थगन भएको थियो।

अध्यक्ष पौडेलले भने, ‘पाठ्यक्रम र मूल्यांकन प्रणाली बोर्डले नभई पाठ्यक्रम मूल्यांकन विकास परिषद्ले तय गर्ने भएकाले निर्धारित पाठ्यक्रम र सरकारले दिएको परीक्षासम्बन्धी नीतिभन्दा बाहिर हामीले केही गर्न सक्दैनौँ। विषम परिस्थितिमा सरकारको निर्णयलाई आधार मानेर काम गर्नेछौँ।’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले सरकारले स्वास्थ्य जोखिमलाई ध्यान दिएर कक्षा १० र ११ को परीक्षाको निकास दिइसकेकाले कक्षा १२ का सम्बन्धमा आवश्यक गृहकार्य भइरहेको जानकारी दिए। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का सहअध्यक्ष डिके ढुंगानाले कक्षा १२ विद्यालय तहको अन्तिम परीक्षा हुने भएकाले यसलाई व्यवस्थित र मर्यादित हुने गरी सञ्चालन गर्नुपर्ने बताए।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) का महासचिव सुवास न्यौपानेले छ महिना बितिसक्दा पनि परीक्षार्थीहरु अन्योलमा रही मानसिक तनावमा पर्नु दुःखद् भएको बताए।

उच्च शिक्षालय तथा विद्यालय संघ (हिसान)का सचिव रामहरि सिलवालले समयमै विभिन्न विकल्प सहितको योजना तर्जुमा नहुँदा हालसम्म परीक्षाबारे विद्यार्थी र अभिभावकमा अन्योल देखिएको जनाउँदै कक्षा १० र ११ लाई सस्तो रुपमा आन्तरिक मूूल्यांकन नगराउन आग्रह गरे। सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका कर्णाली प्रदेश संयोजक गोविन्द कोइरालाले लामो समयसम्म अन्योल राख्न नहुने जनाउँदै स्थानीय तह र विद्यालयलाई जिम्मेवार बनाउनुपर्ने बताए।

नेपाल राष्ट्रिय शिक्षक संगठनका काठमाडौँ जिल्ला अध्यक्ष विष्णु पनेरुले कक्षा १२ को परीक्षालाई मर्यादित रुपमा सञ्चालनका लागि स्थानीय तहलाई जिम्मेवार बनाई केन्द्र निर्धारण वा अनलाइन विधिबाट सञ्चालन गर्न सकिने सुझाव दिए।

शिक्षा अभियन्ता बिके श्रेष्ठले निरन्तर सिकाइ उपलब्धिलाई जोडेर गुणस्तरीय शिक्षाको सुनिश्चितता हुन नसकेमा दिगो विकास लक्ष्य अनुसारको जीवनोपयोगी शिक्षाको लक्ष्य परिपूर्ति नहुने बताउँदै खुल्ला पुस्तक परीक्षा प्रणालीमा पनि जान सकिने उपाय सुझाए।

तत्कालीन उच्चमाध्यामिक शिक्षा परिषद्का पूर्वसदस्यसचिव भीमलाल गुरुङले व्यवस्थापन गर्न गाह्रो भए पनि कक्षा १२ को परीक्षाका लागि सबै विकल्पमा जान सकिने जनाए।

कार्यक्रममा विभिन्न प्रदेशबाट प्रधानाध्यापक, शिक्षक, अभिभावक र सञ्चारकर्मीको सहभागिता थियो। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।