नेपाली सडकमा भारतीय सवारीको रजाइँ, सरोकार पक्ष मौन

शङ्खर पहाडी,सर्लाही । जिल्लाको पश्चिमी क्षेत्रमा पछिल्लो समयमा भारतीय नम्बरका सवारी साधनको प्रयोग व्यापकरूपमा बढेको छ । भारतको विहार राज्यसँग सिमाना जोडिएका प्रदेश नं २ का अधिकांश जिल्लामा खुलेआम भारतीय सवारी साधनको प्रयोग बढेको छ । भारतीय सवारी साधनले भन्सारसमेत नबुझाई नेपाली सडकमा खुलेआम बर्चश्व जमाइरहेको पाइएको छ । भारतीय सवारी साधन सडकमा बर्चश्व जमाइरहेको भए पनि सरोकारवाला निकायको ध्यान नपुगेको स्थानीय सर्वसाधारणको आरोप छ ।

जिल्ला भन्सार कार्यालय सिमानामै रहेको भएको भए पनि भन्सारका कर्मचारी असुलीमा व्यस्त रहेका कारण पनि भारतीय सवारी साधनको दादागिरी चलेको स्थानीय व्यापारी राजीव सिंहले बताउनुभयो । सिमानामा २४सै घण्टा रहने नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि यस्ता सवारी साधनलाई ध्यान नदिँदा नेपाल प्रवेश गरेपछि भारतीय सवारी साधनको दादागिरी नेपाली बजारमा बढ्ने गरेको छ ।

बिना रोकटोक नेपाल प्रवेश गरेका भारतीय सवारीको प्रयोगले नेपाली भूमिमा आपराधिक गतिविधि हुनुका साथै तीव्रगतिमा सञ्चालन हुने यस्ता सवारी साधनका कारण दुर्घटनासमेत बढेको र बेथिति बढ्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक केदारमान दोङले बताउनुभयो । भारतीय सवारी साधनको प्रयोग, आपराधिक गतिविधि र दुर्घटनाका साथै बेथितिको विषयमा जिल्लामा सुरक्षा संयन्त्रको छलफल चलिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताउनुभयो ।

जिल्ला सुरक्षा संयन्त्रको छलफलबाट जिल्लामा सञ्चालन हुने भारतीय सवारी साधनको तथ्याङ्क सङ्कलन, भारतीय सवारी साधनको प्रयोगलाई नियमन गर्नेलगायतका काम हुने सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयो । जिल्लामा शान्ति सुरक्षा, आपराधिक गतिविधि र दुर्घटनाका साथै बेथितिको अन्त्यका लागि अनधिकृत रूपमा सञ्चालित सवारीको नियमन गरिने प्रजिअ पौडेलले बताउनुभयो ।

सरकारको आर्थिक प्रतिवेदनमा भारतीय सवारी साधनलाई आवश्यक भन्सार तिरेपछि एक महिनाका लागि नेपालभर सञ्चालन गर्न पाउने व्यवस्था भए पनि प्रदेश नं २ का अधिकांश नागरिकको घरघरमै भारतीय नम्बरका सवारी साधन रहेको पाइएको छ । प्रदेश नं २ का अधिकांश नागरिकको छिमेकी देश भारतसँग कुनै न कुनै रूपमा सम्बन्ध रहेको र उतैबाट खरिद गरी नेपालमा ल्याएर निर्वाधरूपमा सञ्चालन गर्ने गरिएको छ ।

भारतबाट भित्रिने भारतीय सवारी साधनको भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा ट्राफिक प्रहरी कार्यालयसँग कुनै तथ्याङ्क वा विवरण नहुँदा दुर्घटना हुँदासमेत भारतीय सवारी साधन फरार हुने र प्रहरीले फेला पार्न नसक्ने अवस्था रहेको भन्दै जिल्लावासीले गुनासो गर्ने गरेका छन् । यसरी नियमविपरीत सञ्चालित भारतीय सवारी साधनलाई कानूनबमोजिम कारवाही हुनुपर्ने स्थानीयवासीको माग छ ।

देश सङ्घीयतामा गइसकेपछि प्रदेश सरकारका मन्त्री, सांसद, नेता तथा स्थानीय निकायका प्रमुखले समेत भारतीय सवारी साधनको प्रयोग गर्ने गरेका कारण पनि यस्ता साधनलाई कारवाही गर्न समस्या हुने गरेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले बताउनुभयो । भारतीय मोटरसाइकल, अटोरिक्सा, कार, जिप, ट्र्याक्टर तथा ट्रक नेपाली बजारमा निर्वाधरूपमा सञ्चालनमा छन् ।

विश्वव्यापी माहामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण सीमा नाका बन्द हुँदा केही भारतीय सवारीले भन्सार तिर्न चाहँदा पनि भन्सार तिर्न नसक्ने अवस्था सिर्जना भएको चालक सुरेन्द्र पटेलले बताउनुभयो । भारतीय कार, जिप, बस र ट्रकको प्रयोग गर्दा दैनिक रु ४५३, मोटरसाइकल रु १०० र तीनपाङ्ग्रे सवारी साधनको रु ३०० भन्सार तिर्नुपर्ने भन्सार कार्यालय मलङ्गवाका कार्यालय प्रमुख राजेशकुमार दत्तले बताउनुभयो ।

उहाँका अनुसार ट्र्याक्टरको रु २०० र टेलरसमेत जडान भएको खण्डमा रु ४०० राजश्व तिर्नुपर्छ । कानूनअनुसार राजश्व तिरेर नेपाल प्रवेश गरेका भारतीय सवारी साधन एक महिनाभन्दा बढी नेपालमा रहन नपाउने व्यवस्था भए पनि वर्षौँदेखि नेपालमै रहने गरेको पाइएको छ । राजश्व तिरेर नेपाल प्रवेश गरेका भारतीय सवारी साधन ३५ दिनसम्म भन्सार नतिरी बसेको पाइएमा उक्त सवारी साधन जफत हुने कानूनी व्यवस्था रहेको भन्सार कार्यालयको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖