छथर जोरपाटीको ६१४ घरको फुस्को छाना हटाईने
नारायण कुमार राई,धनकुटा । छथर जोरपाटी गाउँपालिकाले आफ्ना पालिकाका सम्पूर्ण घरहरुको फुस्को छाना हटाएर जस्ता बितरण गर्न दोस्रो चरणको सर्भेक्षण शुरु थालिएको छ ।
नेपाल सरकारको सुरक्षित जनता आवास कार्यक्रम अन्तर्गत गत बर्ष ५० फुस्को घरमा जस्ता बितरण गरेको गाउँपालिकाले यो बर्ष दोस्रो चरणको जस्ता बितरणका लागि सर्भेक्षण शुरु गरेको हो ।
६ वडा भएको पालिकामा गत बर्ष वडा नं. १ मा १० घर र अन्यमा ८÷८ घरका दरले फुस्को घर हटाईएको थियो ।
यो बर्ष पालिकाले वडा नं. ४ को कुल ३९३ घर मध्ये फुस्को घर भएका १ सय १७ घर छनौट गरेको छ ।
त्यस्तै वडा नं.५ मा सर्भेक्षण गरिएको १ सय २९ फुस्को घर मध्ये गत बर्ष ८ र यो बर्ष ७३ गरी ८१ घर फुस्को घर हटाउने भएको छ ।
अन्य वडाहरुमा सर्भेक्षणको काम निरन्तरतामा रहेको गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँपालिकालाई आउने बर्ष भित्र फुस्को घर रहित बनाउने गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिनुभएको छ ।
गाउँपालिकामा कुल ३ हजार ९ सय २२ घरधुरी मध्ये ६ सय १४ फुस्को घुर रहेको छ ।


