गङ्गामायाको जीवनरक्षा गर्न राष्ट्रपतिको पहल

प्रकाश सिलवाल काठमाडौँ, २७ माघ (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले लामो समयदेखि अनसनमा रहनुभएकी गङ्गामाया अधिकारीको जीवनरक्षा गर्न र बैतडीकी किशोरी भागरथी भट्टको हत्यासम्बन्धी घटनामा अनुसन्धान तीव्र बनाउन राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै अनसन बसिरहेकी अधिकारीको स्वास्थ्य स्थिति जटिल बन्दै गइरहेकाले उहाँको जीवन रक्षाका लागि तत्काल पहल गर्न आग्रह गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोगका नवनियुक्त पदाधिकारीसँग भएको छलफलमा राष्ट्रपति भण्डारीले आयोगलाई पहल लिन आग्रह गर्नुभएको हो । गत पुस ६ गतेदेखि गङ्गामाया अनसन बसिरहनुभएको छ । उहाँको स्वास्थ अवस्था जटिल बन्दै गएकाले आयोगले तत्काल पहल गरी उहाँको जीवन बचाउन पहल गर्न राष्ट्रपतिले आयोगका पदाधिकारीलाई आग्रह गर्नुभयो ।

राष्ट्रपतिले आफूले यस विषयमा नेपाल सरकारको बारम्बार ध्यानाकर्षण गराइसकेको स्मरण पनि गर्नुभयो । आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्याको छानबिन हुनुपर्ने र दोषीलाई कारवाही हुनुपर्ने माग राख्दै गोर्खा फुजेलकी गङ्गामाया गत पुस ६ गतेदेखि अनशनमा बस्नुभएको छ । अहिले उहाँको मुख्य माग दुईवटा रहेको देखिन्छ । राष्ट्रपतिले नेपाल सरकारले पाटन उच्च अदालतमा पुनरावेदन गरेको कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दालाई अघि बढाउनुपर्ने र मुद्दाको पेशी स्थगन हुन नहुने तथा हत्याका मुख्य आरोपी हाल आयरल्यान्डमा रहेका रुद्र आचार्यलाई नेपाल झिकाई कारवाही अगाडि बढाउनुपर्ने सुझाव पनि दिनुभयो ।

राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालका अनुसार संवैधानिक अङ्गका नवनियुक्त प्रमुख र सदस्यसँग राष्ट्रपतिले नियमित भेटघाट गर्ने क्रममा आज सो भेट भएको हो । कृष्णप्रसादको हत्या आरोपमा १३ जनाविरुद्ध चितवन जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो । आरोपी भीमसेन पौडेल र पर्शुराम पौडेललाई पक्राउ गरेपछि तत्कालीन एनेकपा (माओवादी) का नेताको विरोधका कारण पक्राउ परेका उनीहरुलाई धरौटीमा रिहा गरिएको थियो । सरकारले सो मुद्दा पुनरावलोकनका लागि पाटन उच्च अदालतमा दिएको निवेदन हाल विचाराधीन छ । रुद्र आचार्य हाल आयरल्याण्डमा छन् ।

नेपाल सरकारले आचार्यलाई यातना नदिने आशयसहितको पत्र बेलायत सरकारलाई लेखी नेपाल झिकाउन सक्छ, यस मामिलामा परराष्ट्र मन्त्रालय तयार रहेको देखिन्छ । नेपाल सरकारका तर्फबाट तत्कालीन शान्ति तथा पुनः निर्माणमन्त्री नरहरि आचार्यले गङ्गामायासँग गरेको तीन बुँदे सम्झौतामा मुद्दा चलाउने, रुद्र आचार्यलाई नेपाल झिकाउने र गङ्गामायाको जीवन निर्वाहका लागि आर्थिक सहयोग उपलब्ध गराउने उल्लेख थियो । यसैअनुसार वर्तमान सरकार गठनपछि गङ्गामायाको नाममा खाता खोली रकम जम्मा गरिएकामा उक्त रकम ब्याजसहित हाल उहाँकै खातामा रु एक करोड १७ लाख रहेको छ । उहाँको आफ्नै छोरा नुरप्रसादको असहमतिका कारणले उक्त रकम उहाँको लागि घर किन्ने कुरामा उपयोग हुन सकेको छैन ।

“संवैधानिक अङ्गका रुपमा आयोगले नेपाल सरकारका सम्बन्धित मन्त्रालयसँग समन्वय गरी गङ्गामायालाई उहाँका मागबारे आश्वस्त पार्न भूमिका खेल्न सक्छ । मुद्दा अघि बढाउने र रुद्र आचार्यलाई नेपाल झिकाउने कुरामा सरकार तयार रहेको कुरा उहाँलाई स्पष्ट रुपमा बताएर उहाँको जीवनरक्षा गर्न सकिन्छ”, राष्ट्रपतिले भन्नुभयो, “अनशनकै अवस्थामा विसं २०७२ मा गङ्गामायाका पति नन्दप्रसाद अधिकारीको निधन भएको हो । नन्दप्रसादको शव अहिले पनि शिक्षण अस्पतालको शवगृहमा छ, दाहसंस्कार भएको छैन । आयोगले यसका लागि पनि भूमिका खेल्न सक्छ ।”

विसं २०७७ माघ २६ गते मानव अधिकारकर्मीको एउटा टोलीले संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र महान्याधिवक्ता अग्नि खरेलसँग भेट गरी सरकारी वकिल मुद्दा अघि बढाउन चनाखो रहनुपर्ने सुझाव दिएको छ, यसमा महान्यायाधिवक्ताको जवाफ सकारात्मक छ ।

सो अवसरमा बैतडीमा हालै बलात्कारपछि हिंसाको शिकार बनेकी किशोरी भट्टको मुद्दामा भइरहेको अनुसन्धानलाई तीव्र बनाउन आवश्यक सहयोग गर्न पनि राष्ट्रपतिले आयोगलाई आग्रह गर्नुभएको थियो । आयोगका पदाधिकारीले बैतडीमा स्थलगत अनुगमन गर्न धनगढीस्थित कार्यालयबाट आयोगको टोली खटाइएको र घटनास्थलमा पुगिसकेको जानकारी गराउनुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।