मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्डमा धमाधम कालोपत्र

खेमराज गौतम/गलकोट, १४ फागुन । मध्यपहाडी पुष्पलाल लोकमार्गको पोखरा–बागलुङ खण्डमा धमाधम सडक कालोपत्र भइरहेको छ ।

साँघुरो र धेरै ठाउँमा जीर्ण प्रायः बनेको भूपि शेरचन राजमार्गलाई अहिले राष्ट्रिय गौरवको आयोजनाको रुपमा मध्यपहाडी लोकमार्गका रुपमा स्तरोन्नति गर्ने क्रम तीव्र छ ।

पश्चिम क्षेत्रको सर्वाधिक चल्तीको मार्ग भए पनि यस सडकमा यात्रा गर्न सकसपूर्ण भएकाले अहिले लोकमार्गको विस्तार र स्तरोन्नतिसहित धमाधम सडक कालोपत्र भइरहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजनाले जनाएको छ । पोखराबाट पर्वत हुँदै बागलुङसम्मकोे ६२ किलोमिटर सडकमा धमाधम कालोपत्रको काम भइरहेको छ । अहिले कास्की जिल्लाको हेम्जाको छ लेन र पर्वत जिल्लाको कुश्मा बजारबाट अर्मादीसम्मको दुई लेन सडकमा कालोपत्रको काम भइरहेको छ भने घट्टेखोलाको पूलबाट कास्की नयाँ पुलसम्मको २५ किलोमिटर सडक कालोपत्र सम्पन्न भइसकेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिनुभयो ।

“कोरोना कहरका कारण केही ढिला भएको थियो, अहिले निकै द्रुत गतिका साथ सडक कालोपत्र भइरहेको छ”, उहाँले भन्नुभयो, “भवितव्य नभए पोखरा–बागलुङ खण्डको काम यही असारसम्म सक्नेमा हामी विश्वस्त छौँ ।” विसं २०७४÷७५ मा पोखरा–बागलुङ खण्ड स्तरोन्नति गरी कालोपत्र गर्न उक्त ६२ किलोमिटर सडकलाई चार खण्डमा विभाजन गरी तीन वर्षका लागि ठेक्का लगाइएको थियो । ठेक्का अवधिभित्र कोरोनाका कारण पाँच महिना मात्रै समय अवधि थप गर्न सकिने आयोजना कार्यालय पर्वतका इञ्जिनीयर उज्वल शर्माले बताउनुभयो ।

मध्यपहाडी पुष्पलाल लोकमार्गको पोखरा–बागलुङ खण्डको ६२ किलोमिटरमध्ये झण्डै ४० किलोमिटर सडक कालोपत्र भइसकेको छ । अहिले सबै खण्डमा पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अहिले पर्वत खण्डमा समेत सडक विस्तार र कालोपत्र दुवै काम शुरु भइसकेको छ । कास्कीको हेम्जा खण्डको ८० प्रतिशत सडक कालोपत्र सम्पन्न भइसकेको छ भने नयाँपुलबाट कुस्मा–बागलुङ खण्डमा करिब ३० प्रतिशत सडक कालोपत्र भइसकेको छ । अन्य स्थानमा धमाधम कालोपत्रका लागि बेस, सव बेस तथा ग्राभेल बिच्छ्याउने काम भइरहेको छ । साँघुरो कालोपत्र सडक भत्काएर दुई, चार र छ लेनमा विस्तार गरी कालोपत्र भइरहेको छ ।

लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डको कास्कीको हेम्जास्थित याम्दी पुलदेखि यताको छ किलोमिटर सडक शर्मा एण्ड कम्पनी जेभी, हेम्जाको दोस्रो खण्डको घट्टे पुलसम्मको छ किलोमिटर सडक स्वच्छन्द÷इलाइन्ट जेभी, घट्टेखोलादेखि कास्की नयाँपुलसम्मको २५ किलोमिटर सडक श्रेष्ठ÷दिवा÷एपेक्स जेभी र नयाँपुलदेखि बागलुङ र पर्वतको सिमानास्थित मालढुङ्गासम्मको २५ किलोमिटर सडक लामा कन्ट्रक्सनले निर्माणको जिम्मा लिएको छ । छ लेनको सडक रहेको कास्कीको याम्दी पुलदेखि फेदीखोला नजिकैको ११ किलोमिटर र फेदीखोलासम्मको दुई लेनको एक किलोमिटर सडकको भौतिक प्रगति ८० प्रतिशत पुगेको आयोजना कार्यालयका कास्की खण्डका इञ्जिनीयर अनन्त बरालले बताउनुभयो ।

बैसठ्ठी किलोमिटर सडकको लागत अनुमान झण्डै रु चार अर्बको रहेको मध्यपहाडी लोकमार्गले जनाएको छ । शुरुमा झण्डै ५.५ मिटर चौडा रहेको भूपि शेरचन राजमार्गलाई मध्यपहाडी लोकमार्ग भएपछि हेम्जामा छ लेनको झण्डै ११ किलोमिटर ३० मिटरको चौडा, कुस्मा बजारमा दुई किलोमिटर सडक चारलेनको २२ मिटर चौडा र अन्य सडक दुई लेनको १० मिटर चौडा पारिएको हो ।

छ लेनको ११ किलोमिटर र अन्य सडक छुट्टाछुट्टै प्रविधिबाट कालोपत्र गरिरहेको आयोजनाका इञ्जिनीयर शर्माले जानकारी दिनुभयो । छ लेनको सडक अलकत्रासँग घोलिएरको चिप्स गिट्टीले कालोपत्र गरिएको छ भने अन्य सडकखण्ड अलकत्रा बिच्छ्याइएपछि चिप्स गिट्टी मात्रै हालेर कालोपत्र भइरहेको छ । आयोजनाको पोखरा बागलुङ खण्डले तीव्रता पाए पनि ठेक्का शुरु गरेको चार वर्षसम्म बागलुङदेखि रुकुम खण्डको १४० किलोमिटर सडकमा अझै ४६ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ ।

निसीखोला खण्डमा कालोपत्र गर्ने कामको सन्तोषजनक अवस्था रहे पनि बागलुङ बजारबाट घोडाँबाधेसम्मको २५ किलोमिटर सडक कालोपत्र हुन सकेको छैन । घोडाबाँधेदेखि खर्बाङसम्मको ३५ किलोमिटरमा सबै भागको काम सकिएको छ । छब्बीस जिल्लाका सर्वसाधारणलाई फाइदा हुने गरी विसं २०६४ मा डिजाइन गरिएको लोकमार्ग अहिले निर्माण चरणमै छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।