ओली नेतृत्व सरकारको विकल्प खोज्ने विपक्षी विफल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको तीन दिनको समय आज सकिँदै छ । तर, अहिलेसम्म केपी ओली नेतृत्व सरकारको विकल्प प्रस्तुत गर्न कसैले सकेका छैनन् । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका राजनीतिक दलहरू नयाँ सरकार गठनका लागि जनता समाजवादीलाई आफ्नो पक्षमा पार्न सक्रिय छन् । तर, जनता समाजवादी पार्टी नयाँ सरकार गठनमा नखुल्दा राष्ट्रपतिले दिएको समय सीमा त्यसै गुज्रिने सम्भावना बढ्दै गएको हो ।

बुधबारसम्म जसपा अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोसहित नेता संविधानको धारा ७६(२)अनुसार नयाँ सरकार गठनको पक्षमा देखिएका छैनन् भने अर्का अध्यक्ष उपेन्द्र यादवसहित नेता नयाँ सरकार गठनको पक्षमा देखिएका छन् । जसपाभित्र सहमति जुट्न नसक्दा वैकल्पिक सरकार गठन हुने सम्भावना कमजोर बन्न पुगेको हो ।

ठाकुरसहितका नेता बिहीबारसम्म नयाँ सरकार गठनको पक्षमा नखुले जसपा कार्यकारिणीको बैठकले बहुमतको आधारमा निर्णय गरेर अघि बढ्ने सम्भावना रहेको नेताहरूको दाबी छ । तर ठाकुर, महतोसहितका नेताले आफूहरू नयाँ सरकार गठनको पक्षमा नरहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुधबार नै जानकारी गराएका छन् । आफ्नो दलको समर्थनमा सरकार गठनको दाबी पेस भए त्यसलाई स्वीकार नगर्न उनीहरूले आग्रह गरेको स्रोतको दाबी छ ।

संविधानको धारा ७६(२)ले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको समर्थनमा संयुक्त सरकार गठन गर्ने व्यवस्था छ । उक्त व्यवस्था अनुसार कांग्रेस, माओवादी र जसपासहितको दलको समर्थनमा नयाँ सरकारको दाबी गर्ने सम्भावना भने कायमै रहेका नेताहरूले दाबी गरेका छन् । त्यस्तो अवस्थामा राष्ट्रपतिले विवादित जसपाको समर्थनलाई अस्वीकार गर्दै बहुमत सांसदको समर्थनसहित हस्ताक्षर माग गर्न सक्नेछिन् ।

विपक्षी दलहरूले उक्त संख्या पुर्याउनसक्ने सम्भावना कम रहेको छ । त्यस्तो अवस्थामा सरकार गठनका विषयमा नयाँ विवाद खडा हुने विश्लेषण गर्दै स्रोतले भन्यो, ‘त्यस्तो अवस्थामा राष्ट्रपतिले बिहीबार ९ बजेपछि नै संविधानको धारा ७६(३) अनुसार प्रतिनिधि सभाको ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता एवं वर्तमान प्रधानमन्त्रीलाई नै फेरि प्रधानमन्त्रीको शपथ गराउने सम्भावना छ ।’

जसपा एक नभएको अवस्थामा ओली सरकारको विकल्प खोज्ने अर्को बाटो एमालेका असन्तुष्ट पक्षको राजीनामा हो । एमाले वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपालसहितका नेताले प्रतिनिधिसभा सदस्यबाट राजीनामा गरेको अवस्थामा मात्र अहिलेको अवस्थामा वैकल्पिक सरकार गठनको ढोका खुल्नेछ । तर, उनीहरू पनि राजीनामा गर्ने वा पार्टीभित्रै बसेर अन्तरसङ्घर्ष गर्ने भन्नेमा स्पष्ट छैनन् । त्यसको निर्णय गर्ने अधिकार खनाल, नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे, घनश्यम भुषाल, गोकर्ण विष्टलाई जिम्मा दिएका छन् । भट्टराईसहित यीमध्ये बहुमत नेताहरू अन्तरसङ्घर्षको पक्षमा देखिएका छन् । यदि उनीहरूले राजीनामा नगरेको अवस्थामा ओलीको विकल्प खोज्ने दलहरूको प्रयास विफल हुनेछ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖