बिरामीको कष्टमा हौसला दिन पालिका अध्यक्ष जनताको घरदैलोमा
नारायण कुमार राई/धनकुटा,१० जेठ । छथर जोरपाटी गाउँपालिका धनकुटाले होम आईसोलेसनमा रहेका कोरोना बिरामीहरुको घर–घरमा पुगेर स्वास्थ्य सामाग्री बितरण गरेर उनीहरुको हौसला बढाउने काम गरेको छ ।

पालिकाका अध्यक्ष शेरबहादुर लिम्बूको नेतृत्वमा पालिका कर्मचारी,स्वास्थ्यकर्मी,सुरक्षा निकाय तथा वडा अध्यक्षहरुको टोली आईतबार समुदायको घरदैलोमा पुगेको थियो ।
होम आईसोलेसनमा रहेका बिरामीहरुलाई अध्यक्ष लिम्बूले सुरक्षित रहेर आफ्नो स्वास्थ्यको ख्याल गर्न र आबश्यक परेमा पालिका संग सहयोग माग्न तथा स्वाब परिक्षण गर्न आउन आग्रह गर्नुभएको थियो ।
पालिका अध्यक्ष तथा जनप्रतिनीधिहरु दुःखको समयमा आएर स्वास्थ्य स्थितिको बारेमा चासो लिएकोमा आफूहरुलाई हौसला मिलेको भन्दै बिरामीहरुले खुशी ब्यक्त गरेका छन् ।
‘बिरामी भएको बेला अध्यक्ष सहित सबै सरहरु आईदिनु भएकोमा गर्व लागिराछ ।’–गाउँपालिका वडा नं.६ नाम्जाङका ४८ बर्षिया एक थापा थरका बिरामीले खुशी ब्यक्त गर्दै भन्नुभयो ।
पालिकाले होम आईसोलेसनमा रहेका ४७ जनालाई
थर्मोमिटर,सेनिटाईजर,माक्स,मल्टी भिटामिन,सिटामोल,साबुन,अण्डा लगाएतका सामाग्रीहरु सहयोग गर्ने कार्यक्रम रहेको छ ।
आईतबार मात्र वडा नं.२,३,५ र ६ का ४३ जना कोभिडका बिरामीहरुलाई स्वास्थ्य सामाग्रीहरु बितरण गरेको पालिकाका सूचना अधिकारी नेत्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।


