विदेश यात्रामा जाने ‘भिआईपी’ नेपालीलाई मात्रै थाहा हुने “ड्रागन फल” आज धेरै नेपालीको बारीबारीमा

जीवनप्रसाद राई । पशु चिकित्सक डा. जगन्नाथ राईले २० वर्षअघि नेपाल भित्र्याएको ड्रागन फल आज धेरै नेपालीको बारीबारीमा पुगेको छ। सेतो र रातो जातको यो फलबारे शुरु–शुरुमा विदेश यात्रामा जाने ‘भिआईपी’ नेपालीलाई मात्रै थाहा हुन्थ्यो। तर अहिले सामाजिक सञ्जाल र सञ्चार माध्यमका कारण धेरैले जानकारी पाएका र व्यावसायिक खेतीमा पनि हात हालेका छन्।

सुनसरीको धरान, मङ्गलबारेकी उद्यमी शिव वान्तवाले सात वर्षअघि गोरखा मिलेनियम बहुउद्देश्यीय सहकारी संस्थाबाट रु.५० हजारमा बिरुवा किनेर ड्रागन फल खेती शुरु गरेकी थिइन्। अहिले उनी वर्षमा रु.२० लाखसम्मका बिरुवा र फल बिक्री गर्छिन्। यही व्यवसायबाट उनको घर व्यवहार, बच्चाहरूको शिक्षादीक्षा, पाहुनापाछाको सत्कार, सामाजिक व्यवहार आदि चलेको छ। ड्रागन फलको सफलताबाट धेरै खुशी शिव व्यवसायलाई अझै विस्तार गर्ने योजनामा छिन्। 

दुई पटक मन्त्री बनेका लोकेन्द्र बिष्ट मगरले दाङको बिजौरामा ड्रागन फलको व्यावसायिक खेती गरेका छन्। मन्त्रालय हाँक्ने काममा भन्दा धेरै आनन्द र सन्तुष्टि यो व्यवसायमा मिलेको उनको कथन छ। काभ्रेका डा. सूर्य पाण्डे र भेषमान श्रेष्ठ, सुनसरीका हरि राई र कृपासुर घले, धनकुटाका अमर याक्खा राई, काठमाडौंका बासुदेव ढकाल, ललितपुरका बासु उपाध्याय, चितवनका सूर्यमान तामाङ ड्रागन फलबाट सफल र प्रख्यात केही पात्र हुन्। 

यिनैलाई पछ्याएर धेरैले यसको खेतीमा चासो देखाउँदै बिरुवा लगाएका छन्। तिनमा युवाहरू धेरै छन्। धनकुटा नगरपालिकाले त वडा नम्बर ८ लाई ड्रागन फलको पकेट क्षेत्र घोषणा गरेर प्रबद्र्धनका कार्यक्रमहरू अघि बढाएको छ। यसको प्रभाव जिल्लाका अन्य स्थानीय निकायमा समेत परेको छ। 

नेपालमा आँपको सिजन सकिन लागेको र सुन्तलाको सिजन शुरु नभैसकेको बेला बजारमा आउने भएकोले पनि ड्रागन फलको माग बढेको हो। असार लागेसँगै बजारमा आउन थाल्ने यो फल पुष महीनासम्म रहने गर्दछ। पाकेको ड्रागन फललाई लामो समयसम्म सामान्य तापक्रममै भण्डारण गर्न सकिने हुनाले पनि यसको बजार सम्भावना बढेको हो। प्रशस्त मात्रामा भिटामिन र मिनरल हुने ड्रागन फलमा क्यान्सर प्रतिरोधी गुण हुने विज्ञहरू बताउँछन्। 

भाटभटेनी सुपरस्टोर र अन्य केही आयातकर्ताका अनुसार नेपालमा वार्षिक रु.२० करोडसम्मको ड्रागन फल आयात हुने गरेको छ। सात–आठ वर्ष अघिसम्म शून्य रहेको यसको माग अहिले बढ्दै गएको छ। नर्सरी व्यवसायीहरूको तथ्याङ्कलाई केलाउने हो भने गएको पाँच वर्षमा ड्रागन फलका २७ लाखभन्दा बढी बिरुवा रोपिएका छन्। व्यवसायीहरूका अनुसार यसबाट अबको पाँच वर्षमा नेपालमा प्रतिवर्ष १ करोड ३५ लाख केजी ड्रागन फल फल्ने अनुमान गर्न सकिन्छ। 

नेपाली जिब्रोमा झुण्डिने खालको स्वाद भएकोले एकचोटी खाने धेरैले ड्रागन फल मन पराउँछन्। त्यस हिसाबले ४४ लाख घरधुरी सङ्ख्या भएको नेपालमा प्रत्येक घर परिवारले वार्षिक सरदर ५ केजी मात्रै उपभोग गरे भने पनि २ करोड २० लाख केजी खपत हुनेछ। तर व्यावसायिक खेती लोकप्रिय हुँदै गए पनि जुन गतिमा यसको विस्तार भइरहेछ, त्यसले नेपालको आन्तरिक बजारको माग पूरा गर्न दशौँ वर्ष मेहनत गर्नु र कुर्नुपर्ने हुन्छ। त्यसमाथि यसको खपत वर्षेनि बढ्दै पनि जानेछ। 

विदेशी बजारमा पनि प्रतिस्पर्धामा जाने हो भने त करोडौँको सङ्ख्यामा बिरुवा रोपेर खेती गर्नुपर्ने हुन्छ। त्यसका लागि सरकारी र निजी क्षेत्र सबैले धेरै पहल गर्नुपर्दछ। विदेशी बजारमा फलफूल बिक्री गर्नु भनेको उत्पादन वृद्धि गर्नु मात्रै नभएर आफ्नो क्षमता बढाउनु पनि हो। यसले प्रविधिको विकास गर्न र नेपाली उत्पादनको ब्राण्ड निर्माण गर्न समेत सहयोग गर्दछ। 

नेपालमा हामीले गर्न नसकेको भनेको आफ्ना उत्पादनको ब्राण्ड निर्माण पनि हो। ब्राण्ड निर्माण गर्न सक्यौँ भने त्यसबाट एकसाथ बिरुवा उत्पादन, मलजल, व्यवस्थापन, बजार विस्तार, प्राविधिक सेवा आदिमा असङ्ख्य रोजगारीको सिर्जना हुनेछ। र, यसले नेपालको समृद्धिको यात्रामा योगदान गर्नुका साथै नेपालीको अनुहारमा खुशी ल्याउने काम गर्नेछ।

(लेखकको अनुमतिमा हिमाल खबरबाट साभार गरिएको -सम्पादक)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।