५० घरपरिवारलाई खाद्यान्न सहयोग
धनकुटा । धनकुटा नगरपालिका वडा नं ३ वडाध्यक्ष विकास घिमिरे सहित प्रवासमा रहेका त्यस ठाउँका बासिन्दाको समूहले ३ नं वडाका ५० घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

वडाध्यक्ष घिमिरेको नेतृत्वमा सुरेश याक्सो हङकङ, कुमार श्रेष्ठ झापा, चित्र घिमिरे अष्ट्रेलिया, रामचन्द्र घिमिरे अष्ट्रेलिया, त्रिलोचन खतिवडा अमेरिकाबाट संकलित रकमले त्यहाँका अति विपन्न ५० घरपरिवारलाई चामल, दाल, तेल र नुन सहयोग गरिएको वडाध्यक्ष घिमिरेले बताउनुभयो ।
कोभिडको कारण दैनिक काममा जान नपाएर खानको समस्या भएकालाई राहत वितरण गरिएको र अन्य त्यस्ता परिवारको खोजी गरेर राहत वितरण गरिने उहाँले बताउनुभयो । कोरोना संक्रमणको क्रम नरोकिएकोले प्रवासमा रहेर पनि केही सहयोग गरौं भनेर हालसम्म संकलित रकमले खाद्यान्न खरिद गरि वितरण गरिएको अमेरिकामा रहेका त्रिलोचन खतिवडाले बताउनुभयो ।
उहाँले विश्रान्ति वृद्धाश्रमलाई व्यक्तिगत २५ हजार सहयोग गर्ने आफ्नो योजनामा रहेको र धनकुटामा रहेका अग्रपंतिमा रहेर कोरोना नियन्त्रणमा खटिएका मानिसलाई केही दिनमै स्वास्थ्य सामग्री वितरण गर्ने तयारी गरेको समेत जानकारी दिनुभयो ।
खतिवडाले अहिले पनि प्रवासबाट रकम संकलनको काम भइरहेकाले यसपछि संकलित रकमबाट पुन सहयोग गरिने वताउनुभयो । दिनभरि काम गरेर बिहान बेलुकाको छाक टार्नुपर्ने बाध्यतामा रहेको आफुहरुलाई निशेधाज्ञाको कारणले काममा जान नपाएपछि खानेकुराको समस्या भएको बेला पाएको यो सहयोगले निकै राहत महशुस भएको स्थानीय कमला राईले बताउनुभयो ।


