एक बर्खामै उप्किन्छन् कालोपत्र सडक

बलेवा, दुई महीना पहिले कालोपत्र भएको बागलुङ नगरपालिका–१३ पैँयुपाटाको सडक चार ठाउँमा उप्किएको छ । यस वर्ष कालोपत्र भएको झण्डै ५०० मिटर खण्डको बीचमा कालोपत्र उप्किएर खाडल बनेका छन् ।

सडक मुनिबाट खसेको पहिरो, सडक माथिबाट आउने पहिरो र जमीन नै भासिएपछि कालोपत्रे उप्किएको हो । सङ्घीय सरकारको रणनीतिक सडक योजनाअन्तर्गत कालोपत्र भएको सडक उप्किएपछि सडक डिभिजन कार्यालय बागलुङले मर्मतको काम थालेको छ ।

निर्माण कम्पनीलाई जिम्मेवारी दिएर सडक मर्मतको काम भइरहेको इञ्जिनीयर अर्जुन गौतमले बताउनुभयो । “निर्माणको जिम्मेवारी पाएको बिएमए निर्माण सेवाले पुनःनिर्माणको काम गरिरहेको छ”, उहाँले भन्नुभयो, “तलमाथि भाँसिएर कालोपत्र उप्केको हो ।” मालढुङ्गा–पाग्जा–अमलाचौर, कुश्मीशेरा बरेङ शान्तिपुर सडक नामकरण गरेर यो सडकमा सङ्घीय सरकारले दुई वर्ष पहिलेदेखि सडक मर्मत र कालोपत्रको काम गरिरहेको छ । बागलुङमा यस वर्ष कालोपत्र भएका अधिकांश सडकमा बाढीपहिरो र जमीन भाँसिने समस्या छ ।

सङ्घीय सरकारकै रणनीतिक सडकअन्तर्गत बागलुङ नगरपालिका–१२ अमलाचौरमा सडक कालोपत्रको काम चलिरहेको छ । कालोपत्रको काम चलिरहेकै अवस्थामा अमलाचौरको सडक पनि उप्किएको सामाजिक सञ्जालमा गुनासो आउन थालेको छ । डिभिजन कार्यालय बागलुङले भने त्यहाँ काम नै पूरा भई नसकेकाले सडक उप्किएको भन्न नमिल्ने जनाएको छ । कालोपत्रको काम चलिरहेकै समयमा सर्वसाधारणले खबरदारी गर्न भने छोडेका छैनन् ।

बागलुङ कुश्मीशेरा सडक खण्डअन्तर्गत बागलुङको बलेवा क्षेत्रमा १० किलोमिटर सडक कालोपत्र भएको छ । जेठको दोस्रो साता कालोपत्रको काम सकेको निर्माण कम्पनीले अन्य संरचना निर्माणको काम अन्तिम चरणमा रहेको जनाएको छ । कालोपत्र भएको एक महीना नबित्दै उक्त सडकमा समेत ठाउँठाउँमा कालोपत्र उप्किएको छ ।

कतै खोला तथा खहरेको भल पसेर कालोपत्रको मेटाएको छ भने कतै उक्त सडकसँग जोडिएका स्थानीय सडकको स्तरोन्नतिका कारणले कालोपत्रमा क्षति पुगेको स्थानीय बताउँछन् । यो सडकको नारायणस्थान खण्डबाट पैँयुपाटा जोड्ने नयाँ सडक निर्माण गर्दा पानीट्याङ्की नजिकै कालोपत्र उप्किएको छ भने ठाउँठाउँमा पहिराले कालोपत्र सडक पुरेर हिलाम्मे बनेको छ ।

बरेङ गाउँपालिकामा पहिलो पटक कालोपत्र भएको सडक पनि बाढीको चपेटामा परेको छ । बरेङ बजारमा कालेपत्र गरेको सडक छ महीनामै उप्किएर हिलाम्मे भएको हो । सडकको बिभिन्न ठाँउमा भासिएको छ भने कालोपत्र उप्किए दुर्घटना हुने जोखिम बढेको छ । लगातारको वर्षा र खेल मैदान निर्माणले गर्दा सडकमाथिदेखि फालिएको माटोले कालोपत्रे उप्किएको र सडकको ठाउँ–ठाउँमा भाँसिएको स्थानीयको भनाइ छ । कालोपत्र गरेको वर्ष दिन नपुग्दै हिलाम्मे भएपछि यात्रुहरुलाई सास्ती खेप्नुपरेको छ ।

बागलुङ बजारको मुख्य चोक ट्राफिक चोकदेखि रामरेखासम्म मर्मत गरिएको कालोपत्र समेत उप्किएर ठाउँठाउँमा खाडल बनेका छन् । कालोपत्र भएको साँझदेखि नै निरन्तर भएको वर्षाका कारण सडकमा प्रयोग भएको अलकत्र र गिट्टी बगाएको छ । सडक नालीको उचित व्यवस्थापन नहुँदा बजारको मुख्य चोकमा ठूलो वर्षा हुँदा नालीको पानी भल बनेर बग्ने गरेको छ । सडक निर्माण गर्दा पानीको उचित निकास र आसपासमा बन्नुपर्ने संरचनामा ध्यान नदिएका कारण कालोपत्र सडकमा समेत ठूलो क्षति हुने गरेको सर्वसाधारणको गुनासो छ ।

“बाटो बनेको छ तर नाली पानी नअट्ने खालको बन्छ, कसले हेर्ने कस्ले अनुगमन गर्ने” ,बलेवाका स्थानीयवासी भवानी शर्मा भन्नुहुन्छ, “सर्वसाधारणलाई प्राविधिक ज्ञान हुँदैन, क्षति व्यहोर्नुपर्छ ।” बाढी तर्काउने, पहिरोको व्यवस्थापन गर्ने र सडकका संरचना निर्माण गर्दादेखि नै ध्यान दिनुपर्ने सर्वसाधरणको सुझाव छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।