धरानमा बस पार्कको अभाव टार्न अब धरानमा स्मार्ट बसपार्क बन्दै

धरान, प्रदेश नं १ स्थित धरानमा बस पार्कको अभाव टार्न बल्ल बसपार्क बन्ने भएको छ । लामो समयदेखि शहरको मुटु भानुचोकबाट बसपार्क सञ्चालन हुँदै आएको धरानले अब भने सुविधा सम्पन्न स्पार्ट बसपार्क पाउने भएको छ । त्यसका लागि बुधबार धरान उपमहानगरपालिका र ठेकेदार कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

निर्माण व्यवसायी गीताञ्जली जेभी दुहबी सुनसरीसँग उपमहानगरले सम्झौता गरेको हो । उपमहानगर प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी तथा प्रमुख प्रशासकीय अधिकृत विदुरप्रसाद खनालको उपस्थितिमा ठेकेदार कम्पनीसँग सम्झौतापत्रमा हस्ताक्षर भएको उपमहानगरपालिकाको योजना तथा इञ्जिनीयरिङ महाशाखा प्रमुख सुरज श्रेष्ठले जानकारी दिनुभयो । धरान–८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनाको मल्टिपर्पोज एरियामा स्मार्ट बसपार्क निर्माण हुने भएको हो ।

ठेकेदार कम्पनीले १५ दिनभित्रमा निर्माण कार्यलाई अगाडि बढाउने इञ्जिनीयर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बसपार्क २३ करोड १५ लाखमा निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीसँग सम्झौतापत्रमा हस्ताक्षर भएको हो । तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । पचास प्रतिशत नेपाल सरकारको अनुदान र ५० प्रतिशत उपमहानगरको आन्तरिक स्रोतबाट बसपार्क निर्माण गर्न लागिएको हो ।

प्रमुख राईले उपमहानगरपालिकाले लामो समयदेखि थाँती रहेको योजनालाई सम्झौता गरेर अगाडि बढाउन पाएको बताउनुभयो । धरानको विकास र समृद्धिका लागि विगत लामो समयदेखि बसपार्क निर्माण गर्नुपर्ने योजना थियो । उपप्रमुख भण्डारी कार्यवाहक प्रमुख भएको बेला दुई वर्ष अघि तामझामका साथ शिलान्यास गरिएको भए पनि जग्गा विवादका कारण निर्माण कार्य अगाडि बढ्न सकेको थिएन । उपप्रमुख भण्डारीको पहलमा केन्द्रसँग समन्वय गरेर बसपार्क निर्माण गर्न लागिएको हो ।

यस्तो बन्दै छ संरचना

योजना तथा इञ्जिनीयरिङ महाशाखा प्रमुख श्रेष्ठले आयोजनामा बसपार्कका लागि मात्र ३० कठ्ठा जमीन छ । त्यसबाहेक सेल्स प्लटमा थप पाँच कठ्ठा हाराहारी खाली जग्गा पनि रहेको छ । बसपार्कका लागि ड्रेन र एजिङको काम पहिले हुने छ । वरिपरि पक्की सडक बन्ने छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)अनुसार स्मार्ट बसपार्क बेसमेन्टसहित तीन तलाको हुनेछ । बेसमेन्टमा २०० साना गाडी र १५० मोटरसाइकल अट्ने पार्किङ रहनेछ ।

यस्तै भुइँतलामा ४९ बस अट्ने क्षमता हुनेछ । भुईतलालाई १२ वटा विभिन्न रूटमा जाने गाडी राख्ने गरी डिजाइन गरिएको छ । बसपार्कको तेस्रो तलामा यात्रु लक्षित संरचना हुनेछन् । यस तलामा क्याफे, लाइब्रेरी र व्यापारिक कक्ष रहने डिपिआरमा उल्लेख छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।