एक मुर्ख नेपालीको साहसिक यात्रा : पुस्तक समिक्षा
-मोहन राई ‘परदेशी’
साधारणतय आम नागरिकहरु आफनो परिवार पाल्नका लागि उर्वर समय खर्चने गर्दछन । जीवनका उर्वर समय परिवार पाल्ने तथा आर्जन गर्ने कार्यलाई लत्याएर कृषि पर्यटनको अभियान लिएर मुलुकका ७७ वटै जिल्ला घुम्न निस्किएका एक मुर्ख नेपाली हुन भोजपुर होम्ताङमा जन्मिएका जीवनप्रसाद राई । जतिबेला आफ्ना परिवारका लागि आवास निर्माण, गुणस्तरीय शिक्षा प्रदान, सामाजिक मान प्रतिष्ठाका लागि अरु सराह समाजमा उपस्थिति, धनआर्जन लगायतका बिषयहरु जसलाई आवश्यकता भनिन्छ । यसका पछि लाग्नुपर्ने बेलामा पुरै परिवार श्रीमतिको जिम्मा लगाई देश घुम्नु भनेको मुर्ख मात्रै होईन महामुर्ख नै हो । जीवनप्रसाद राईले यस्तै गरेका छन । उद्धेश्यका पछि लागेपछि आवश्यकता पुरा हुदैन नै । संमृद्धिका आधार नामक पुस्तकले त्यसै भन्छ । अर्को नकारात्मक अर्थमा लिने हो भने पलायनबादी समेत भन्न मिल्छ । आवश्यकतालाई मध्यनजर गरिकन भन्ने हो भने ।

अमेरिकाको एक ठाँउबाट अर्को ठाँउमा पुग्नका लागि २४ घण्टाको समय काफी हुन्छ । त्यही अमेरिकाको एकजना नागरिकले नेपालमा पदयात्रा गर्ने क्रममा एकहप्ता हिड्दा एउटा जिल्ला समेत छिचोल्न नसक्दा उनले ब्याङग्य गर्दै भनेका थिए रे । नेपाल अमेरिका भन्दा धेरै ठुलो छ । नेपाल बिश्वमा जनसंख्याको आधारमा ४७ औ र क्षेत्रफलको आधारमा ९५ औ ठुलो देश हो । अनेकौ प्राकृतिक बिबिधता र जैविक बिबिधता बोकेको नेपाल घुम्ने ईच्छा कसको पो नहोला र ? तर नेपालका सबै जिल्ला र जिल्लाका पनि कुना कुनामा पुग्न त्यति सजिलो कदापि छैन । घुम्नु केवल रकमको मात्रै आवश्यकता होईन, समयको पनि उतिकै खर्च गर्नुपर्दछ । समय सितैमा पाईए पनि यसलाई सही समयमा सही काम गर्न सकिएन भने जीवनमा केही पनि गर्न सकिन्दैन । समय सित्तैमा पाईए पनि एक मानिसले जीवनमा पाईने समयको सही प्रयोग नै समय ब्यवस्थापन हो । शितल कदाम्बिनीले गाँउनु भएको गीत “कहाँ थियौ रंगमन्च उठेपछि आयौ, समयले जवानी लुटेपछि आयौ” भने झै समयले सबै थोक बदलिदिन्छ । यसैले समयको महत्व ज्यादै रहेको छ । हिड्नु डुल्नु, भ्रमण गर्नु भनेको जीवनको उर्वर समय भएको बेला नै हो । त्यो सही उद्धेश्य, परिकल्पना र योजनाका लागि । यहाँ राईले मुलुकको भ्रमण चार उद्धेश्य राखेर गरेका थिए ।
१) संमृद्ध नेपाल निर्माणका लागि स्रोत पहिचान गर्न २) लेख्नका लागि नयाँ बिषयबस्तु खोज्न ३) आम युवाहरुलाई प्रेरणा प्रदान गर्न र ४) एउटा र अर्को जिल्ला बीच सम्बन्ध स्थापित गर्न । पुस्तकमा उद्धेश्य बमोजिमको कार्यहरु प्रसस्त्रै भएको पाईन्छ । लेखकले कोठाभित्र बसेर लेखेको नभई यो पुस्तक ७ बर्ष ९ महिना १९ दिनको अथक प्रयासले नेपालको भ्रमण गरि कृषि पर्यटनको मनग्य जानकारी दिने उद्धेश्यले लेखेका छन् । न सामाजिक लगानी, न राज्यको लगानी । लेखक आफ्नै लगानीमा पुस्तक छाप्दै बेच्दै मुलुकका सबै जिल्ला घुमेका छन ।
पुस्तकका सवल पक्षहरु :
पुस्तकले पाठकहरुलाई मनोरन्जन दिनुका साथै नेपाल आफै नै घुमेको र बिभिन्न ब्यक्तिहरु संग आफै कुराकानी गरेको अनुभुति दिनेछ । लेखक कुना कन्दरामा पुग्दा आफु पनि त्यही नै पुगेको अनुभुती हुन्छ । कृषि, वन, वनस्पति, कृषि पर्यटन, भुगोल लगायत लगानीका संभावनाहरु, युवाहरुका लागि प्रसस्त्रै मात्रामा जानकारीमुलक तथा उद्धेश्यमुलक संभावनाहरुको बारेमा प्रसस्त्रै मात्रामा खोज गरेका छन । अनेकौ संभावनाको बारेमा लेखकले सुश्म ढंगले दिलो ज्यान दिएर खोजेका छन । आफ्नै पहलबाट यसरी खोजको कार्य गर्नु भनेको प्रसंशानीय नै हो । पुस्तकले ब्यवसायी, जाँगरिला युवाहरुलाई सुचनाको भण्डारकै रुपमा प्रस्तुत गरिदिएका छन । कृषिमा कस्तो प्रकारको र कस्ता ब्यक्तिले कुन कृषि ब्यवसाय गर्दा उपयुक्त हुन्छ भन्ने जस्ता सहज परामर्श समेत पुस्तकको माध्यमबाट प्रदान गर्न सफल छन । कृषिका उत्पादन मात्रै होईन, यसको प्रशोधन, ब्राण्ड निर्माण, बजारीकरण लगायत देखि होम स्टे, कृषि पर्यटनको बारेमा स्पष्ट शब्दमा अनि ब्यवहारिक प्रकारको बिषयहरु पस्कन सकेका छन । राज्यले गरिदिनु पर्ने कार्य एक ब्यक्तिको स्वईच्छाबाट भएको देखिन्छ ।

पुस्तकमा कमजोर पक्ष :
भ्रमण क्रममा पारिवारिक देखि अनेकौ भोगेका समस्याहरु भए सम्मको ब्यक्त गरेका छन । जसबाट पाठकहरुलाई समेत दिक्क बनाउन सक्छ । भ्रमण पुर्वी नेपालबाट भएको कारणले गर्दा प्रदेश नम्बर एकको बारेमा कमै बिषयहरु समेटिएको महसुस हुन्छ भने घुम्दै सिक्दै गरेको जस्तो जति पश्चिमतर्फ लेखकले यात्रा गरेको छन त्यति नै धेरै बिषयहरु समेटने प्रयत्न गरेको देखियो । यस पुस्तकलाई अझै गहकिलो बनाउने बिषयहरु लेखकले खोजेर पनि पस्कन नसकेको देखिन्छ । धेरै मिठो तरकारीहरु टाढाबाट बटुलेर ल्याई पकाउनमा चाँहि मेहनेत नपुगेको देखिन्छ । पुस्तकलाई अझै स्तरीय बनाउन सकिने ठाँउहरु प्रसस्त्रै मात्रामा भेटिन्छन । पुस्तक सरसर्ती हेर्दा यात्रा संस्मरण जस्तै देखिन्छ । यसलाई यात्रा संस्मरणका साथै बहु जानकारी मुलक बनाउन सकिने थियो । त्यतिका त्याग गरिसकेपछि लेखकले आफनो गुनासोहरु पुस्तकमै नराख्दा चाहि राम्रो हुने थियो ।
उपयोगिता :
पुस्तकको अन्तिममा लेखकले आफ्नो भ्रमण क्रममा भएका घट्नाहरुको समग्रमा प्रस्तुती दिएका जसले नेपालमै बसेर नयाँपनको कार्य गर्न चाहनेहरुलाई निकै प्रेरणाप्रद हुन्छ भन्न सकिन्छ । यो पुस्तक खासमा बैकिङ तथा बित्त कम्पनीमा कार्य गर्नेहरुका लागि निकै उपयोगी देखिन्छ । कृषिको बजारीकरण गर्ने क्षेत्रमा संभावना देखेका ब्यक्तिहरुका लागि यो निकै उपयोगी मात्रै नभई मार्गदर्शन गर्ने खालको छ । कृषि, कृषि पर्यटन, होम स्टे, होटल ब्यवसाय, मनोरन्जन ब्यवसाय, कृषिमा प्रशोधन उधोग, कृषिमा ब्राण्ड निर्माण कार्य लगायतका बिषयमा पुस्तकले उत्प्रेरणा दिनुका साथै मार्गदर्शन गर्नेछ ।
पुस्तक:
लेखक : जीवनप्रसाद राई
पुस्तकको नाम : संमृद्धिका आधार
प्रकाशक : संग्रिला बुक्स, बागबजार काठमाण्डौ
पृष्ठ संख्या : ५५६ गाता सहित
मुल्य रु. ८४८/-


