कर नतिर्ने ठूला करदाताबाट असुल गर्न पञ्चेबाजासहित टोलटोलमा

काठमाडौँ, ९ भदौ । काठमाडौँ महानगरपालिकाले विगत २८ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट असुल गर्न पञ्चेबाजासहित टोलटोलमा पुगेको छ । बक्यौता रकम असुल गर्न महानगरले पटकपटक सार्वजनिक सूचना जारी गर्दासमेत सम्बन्ध भएका निकाय सम्पर्कमा नआउँदा यस किसिमको अभ्यास थालेको हो ।

आजदेखि महानगरले पञ्चेबाजासहित कर असुलसम्बन्धी लोक तथा दोहोरी गीत बजाएर घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदातासमक्ष पुगेको छ । यसअघि कामपाले गत असार १६ गते र साउनको अन्तिमसाता गरी कर नतिर्ने ७२ ठूला करदाताको नाम सार्वजनिक गरी ३० दिनभित्र सम्पर्क गरी विवरण पेश गर्न आग्रह गरेको थियो ।

कामपाले सार्वजनिक सूचना, आवश्यकताका आधारमा निवेदन, फोनमार्फत पटकपटक जानकारी गर्दा पनि धेरैले अटेर गर्दै आएका छन् । दुई चरणमा गरिएको सार्वजनिक सूचनाको धेरैले बेवास्ता गरी सम्पर्कमा पनि नआउने र विवरणसम्म पेश नगरेकाले महानगरले ताकेता गर्नुपरेको राजस्व महाशाखा प्रमुख डा शिवराज अधिकारीले जानकारी दिनुभयो ।

करदातालाई कर बुझाउन रचनात्मक दबाब दिँदै विभागले आज दरबारमार्ग, न्यूरोड र नयाँ बजारका करदाताको घर–आँगनमा पञ्चेबाजासहित नाचगान गरेका छन् । “अटेर गर्नेलाई कानूनी कारवाही चलाउनुबाहेक विकल्प छैन, अनुरोध र सूचनाको अटेर गर्नेको यही भदौ २४ देखि सिलबन्दी गरेर सरकारी बाँकी सरह राजस्व असुली गरी महानगरबाट दिइने सबै सेवा बन्द गर्ने हो”, उहाँले भन्नुभयो ।

आफ्नो विवरण लिएर सम्पर्कमा आए नियमानुसार महानगरबाट दिइने कर छुट सुविधा प्राप्त गर्न सकिने र अझै आलटाल गरिरहे थप समस्या हुने जनाउँदै इमान्दार भएर कर तिर्न निजी र अर्धसरकारी सङ्घ संस्थालाई अनुरोध गरिएको छ ।

मुख्यगरी कर नतिर्नेमा नेपाल स्काउट, साझा भण्डार, राष्ट्रिय नाचघर, चेम्बर भवन, कर्मचारी सञ्चयकोष भवन, नेपाल रेडक्रस सोसाइटी, नेपाल विद्युत् प्राधिकरण, नेशनल ट्रेडिङ लिमिटेड, जय नेपाल हल, इम्पेरियल अपार्टमेन्ट, कान्तिपुर होटल, शिशु अर्याल, होटल ग्याङ्जोङ (हाल हिमालय), सिटी होटल्स, शुभकामना हाउजिङ डेभलर्पस प्रालिलगायत रहेका छन् । लामो समयसम्म कर नतिरेका करदाताबाट सार्वजनिक सूचना जारी गरेपछि कामपाले रु तीन करोड बक्यौता असुल गरेको पनि विभागले जानकारी गराएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।