अरुण तेस्रोका लागि जग्गा अधिग्रहण शुरु

केदार मगर खोटाङ, १७ भदौ (रासस) : अरुण तेस्रो जलविद्युत् आयोजनाका लागि यहाँ जग्गा अधिग्रहणको काम सुरु गरिएको छ । सङ्खुवासभाबाट उत्पादन गर्न लागिएको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत्को प्रसारणलाइनले ओगट्ने यहाँका दुई गाउँपालिकाभित्रको जग्गा अधिग्रहण गर्न कित्ता नम्बर, क्षेत्रफल, जग्गाधनीको नामलगायतका विवरण सङ्कलन शुरु गरिएको हो ।

सङ्खुवासभाबाट भोजपुर हुँदै खोटाङको साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट उदयपुरको ढल्केबरमा अरुण तेस्रोको प्रसारणलाइन जोडिने आयोजनाका साइडअफिस को–अर्डिनेटर प्रवीण यादवले बताउनुभयो । विसं २०७२ मा गरिएको गुगल परीक्षणका क्रममा साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका ३०÷४० घरका १३८ कित्ता जग्गा अधिग्रहण गर्ने निश्चित गरिएको छ ।

प्रसारणलाइनको रुट निश्चित गरेसँगै त्यो बेला रुटमा पर्ने जग्गा अधिग्रहणका लागि रोक्का गरिएको थियो तर, हाल पहिरो, खोलाखोल्सी, मानव बस्ती, पहरालगायतका प्राकृतिक अवरोधलाई छल्न जलविद्युत् आयोजनाको रुट सामान्य परिवर्तन भएपछि अधिग्रहण हुने जग्गाको पुनः यकिन गर्न शुरु गरिएको यादवले बताउनुभयो ।

आयोजनाको रुट परिवर्तन भएसँगै दुई वर्षदेखि रोक्का जग्गा फुकुवा गर्ने निर्णय गरिसकिएको छ । जिल्ला मालपोत कार्यालयसँगको समन्वयमा आयोजनाको प्रसारणलाइनले ओगट्ने जग्गा छुट्याउने र मुआब्जा दिलाउने प्रक्रिया सुरु हुने आयोजनाले जनाएको छ । अरुण तेस्रो जलविद्युत् आयोजना प्रसारणलाइनअन्तर्गत खोटाङका दुई गाउँपालिकामा ७९ खम्बा राखिने जनाइएको छ । पहिले राखिएका खम्बा पुनः अर्को ठाउँ सार्न नमिल्ने भएकाले अनिवार्य जग्गा अधिग्रहण गर्नुपर्ने अवस्था आएको हो ।

यस्तै राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत पर्ने दूधकोशी जलशाययुक्त जलविद्युत् आयोजनाका लागि पनि आवश्यक जग्गा व्यवस्था गर्न अधिग्रहण शुरु गरिएको छ । खोटाङको रावाबेँसी–३ लामीडाँडा र ओखलढुङ्गाको चिशङ्खुगढी–६ भदौरेको सिमानामा पर्ने दूधकोशी नदीस्थित रभुँवाघाटबाट ६३५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाका लागि पाँच हजार ८२६ कित्ता जग्गा अधिग्रहणको प्रक्रिया शुरु गरिएको हो ।

दूधकोशी जलविद्युत् आयोजनका उपनिर्देशक सीताराम तखाछेका अनुसार अधिग्रहणका लागि सार्वजनिक सूचना जारी गरिसकिएको छ । आयोजनाका लागि खोटाङमा करिब १३ हजार रोपनी जग्गा आवश्यक पर्नेछ ।

यसमध्ये एक हजार रोपनी सरकारी र १२ हजार रोपनी व्यक्तिका नाममा छ । व्यक्तिगत जग्गा आयोजनाका नाममा ल्याउने प्रक्रिया अघि बढी सकेको छ । ओखलढुङ्गाको सात हजार रोपनी र सोलुखुम्बुको ५०० रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ । ओखलढुङ्गा र सोलुखुम्बुको जग्गाको भने स्रेस्ता उतार्ने काम भइरहेको तखाछेले जानकारी दिनुभयो ।

आयोजनाले समुद्री सतहदेखि ६४० मिटरसम्मको जग्गा डुबानमा पार्ने भएकाले ६५० मिटरसम्मको जग्गा अधिग्रहणको प्रक्रियामा लगिएको तखाछेले सुनाउनुभयो । खोटाङको जग्गा जति सक्दो छिटो अधिग्रहणको काम सक्ने योजना बनाइएको जग्गा अधिग्रहण मूल्याङ्न समितिका संयोजक एवं खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिनुभयो ।

असोज–कात्तिकसम्ममा मुआब्जाको काम सक्ने योजना बनाइएको शर्माले बताउनुभयो । मुआब्जादेखि अन्य विभिन्न कामका लागि यस वर्ष करिब रु आठ करोड बढी खर्च हुने जनाइएको छ । आयोजना सञ्चालनका लागि करिब रु एक खर्ब ६० अर्ब खर्च लाग्ने अनुमान गरिएको विद्युत् प्राधिकरणले जनाएको छ । दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि एसियाली विकास बैंक (एडिबी)ले आर्थिक लगानी गर्ने जनाएको छ ।

दूधकोशी आयोजनाका कारण डुबानमा पर्ने रावाबेँसी–१ लामीडाँडास्थित रभुँवा माझीगाउँका समुदायले नदी र जङ्गल आसपासमै पुनःस्थापित गर्नुपर्ने बताएका छन् । जन्मदेखि मृत्युसम्मको सांस्कृतिक परम्परा नदीसँगै सम्बन्धित भएकाले नदी र जङ्गल आसपासमै पुनःस्थापित गर्नुपर्ने उनीहरुको माग छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।