रमणीय हिमाली गाउँ पुग्दा…

दिलकुमार लिम्बू/ ताप्लेजुङ, १८ भदौ । ताप्लेजुङको हिमाली वस्ती याङ्माको यात्रा अविस्मरणीय रह्यो । ताप्लेजङ सदरमुकामदेखि लगभग तीन दिनमा पुगिन्छ हिमाली बस्ती । जिल्लाको दुर्गम र उच्च हिमाली क्षेत्रमा रहेको सो गाउँ पुग्ने जोकोहीले नाउर, पोखरीको सौन्दर्य, नजिकै हिमालको दृश्यावलोकन, सो गाउँको बसोबासशैलीले मन तान्ने गरेको छ ।

चीनको स्वशाशित क्षेत्र तिब्बतसँग सीमा जोडिएको ओलाङ्चुङगोलाको याङ्मा समुद्री सतहदेखि चार हजार दुई सय मिटरको उचाइमा रहेको बस्ती हो । सदरमुकाम फुङलिङदेखि एकदिन सवारीसाधन र बाँकी दुईदिन पैदल यात्रामार्फत तीन दिनमा याङ्मा पुगिन्छ । जिल्लाकै उच्च तथा दुर्गम बस्ती याङ्माका बासिन्दा अहिलेसम्म कुनै पनि सञ्चारमाध्यमको पहुँच नहुँदा सुविधा उपभोग गर्नबाट वञ्चित छन् । सीमावर्ती फक्ताङ्लुङ गाउँपालिका-७ ओलाङ्चुङगोलाको याङ्मा अहिलेसम्म सञ्चारको पहुँच बाहिर रहेको जिल्लाकै उच्च हिमाली बस्ती हो ।

हिउँद मौसमभर हिउँले ढाक्ने वरिपरि हिमालले घेरेको याङ्मा खोलाको किनार खोँचमा रहेको याङ्मामा कहिलेदेखि बस्ती बस्न थालेको हो भन्ने थाहा नभएको बताउने स्थानीय ६५ वर्षीय ठावा शेर्पाले सञ्चारसुविधा नहुँदा सूचना आदानप्रदानमा समस्या रहँदै आएको बताए । देशमा विकास र परिर्वतनले धेरै गति लिए पनि याङ्मा बस्ती अहिलेसम्म ओझेलमै रहेको शेर्पाले गुनासो गरे ।

याङमाकै अर्का स्थानीय छाम्जे शेर्पाले पनि सञ्चार सुविधा नहुँदा धेरै समस्या रहेको बताए । भारतको दार्जिलिङलगायतका सहरमा अध्ययन गर्ने आफ्ना छोराछोरी र अन्य आफन्तसँग सम्पर्क नहुँदा सधैं मनमा पीडा हुने गरेको शेर्पाको भनाइ छ ।

सञ्चार पहुँच नभएकै कारण मरिमराउ र कुनै संवेदनशील अवस्थाको खबर समयमा नपाउँदा समस्यामाथि समस्या हुने गरेको याङ्माका बासिन्दा बताउँछन् । उनीहरुकाअनुसार कुनै जरूरी सञ्चार सम्पर्क गर्नुपरेमा एकदिन पैदल हिँडेर ओलाङ्चुङगोला पुग्नुपर्दछ । ओलाङ्चुङगोलामा भने करिब एकवर्ष अघि नेपाल टेलिकमले मोबाइलको टावर विस्तार गरेपछि सञ्चार सम्पर्कका लागि सहज भएको छ । मोबाइल टावर राख्नुअघि ओलाङ्चुङगोलामा पनि सञ्चारको समस्या उस्तै थियो ।

बर्खा मौसममा भने याङ्मा–ओलाङ्चुङगोला आवतजावत गर्ने अवस्था पनि नरहेको याङ्मावासी बताउँछन् । याङ्मा खोलामा हिउँदमा काठेपुल लगाएर आउजाउ गर्ने गरिन्छ भने बर्खामा पुल बगाउने हुँदा ओलाङ्चुङगोलासँग सम्पर्क टुट्ने याङ्माका स्थानीय सोनाम शेर्पाले बताए ।

शेर्पाकाअनुसार याङ्मा गाउँदेखि एक डेढ घन्टा टाढा डाँडा-डाँडामा नेटवर्क खोज्दै जाँदा कुनैबेला स्काई मोबाइलमा सम्पर्क हुने गरेको छ । कुनै-कुनै बेला स्काइमा सम्पर्क भइहाले पनि कुराकानी भने सहजले गर्न नपाइने उनले बताए ।

दुर्गम तथा दूरदराजमा थोरै परिवार र जनसंख्याको बस्ती भएकाले याङ्मामा सञ्चारको पहुँच पुर्याउने तत्काललाई कुनै योजना नभएको गाउँपालिकाले जनाएको छ । ओलाङ्चुङगोलावासीसमेत रहेका फक्ताङ्लुङ गाउँपालिकाका प्रवक्ता छेतेन शेर्पाले याङ्मासम्म सञ्चार पहुँच विस्तार गर्ने कुनै योजना नरहेको बताए ।

केही वर्षअघिसम्म विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)को सहयोगमा सञ्चालित स्याटेलाइटमार्फत एस्टीएम प्रविधिको टेलिफोन सेवा बिग्रिएपछि हाल याङ्मा सञ्चार पहुँचबाहिर रहेका प्रवक्ता शेर्पाले बताए ।

शेर्पाकाअनुसार याङ्मासम्म कुनै सञ्चार सूचना आदानप्रदान गर्नुपरेमा मानिस नै जानुपर्ने र चिठीपत्र पठाउनुपर्ने अवस्था छ । याङ्मा गाउँसम्म केही सूचना पुर्याउनु परेमा मान्छे नै गएर सूचना दिने गरेको वा चिठी पठाउने गरेको स्थानीय टासी फिन्जो शेर्पाले बताए ।

कुनै पनि सञ्चारमाध्यमको नेटवर्क नचल्ने हुँदा सञ्चार प्रवाहमा स्वयं मानिसको उपस्थिति र चिठीपत्रबाहेक अरु विकल्प नरहेको शेर्पाले बताए ।
याङ्माका बासिन्दाको मुख्य व्यवसाय भनेको विगतदेखि नै याकपालन हो । प्रायः याक गोठमा समय बिताउने याङ्मावासीले गोठमा रहँदा पनि सूचना आदानप्रदान गर्न डाँडामा निस्केर ठूलो आवाजमा कराउनु र सुसेलीको माध्यम छ । ठूलो आवाजमा कराएको र सुसेलीको आवाज सुनेपछि एउटा गोठदेखि अर्को गोठसम्म आवश्यक सूचना आदानप्रदान हुने गरेको स्थानीय याक गोठाला कान्देग्याबु शेर्पाले बताए ।

यसरी स्थानीय शैलीको खबर आदानप्रदानले हालसम्म सञ्चार चलेको भए पनि अहिलेको सूचना र प्रविधिको समयमा पूरै गाउँबस्ती सञ्चारविहीन अवस्थामा रहनु अन्धकारको संसारमा रहनुसरह भएको कम्प्युटर एसाेसिएसन महासङ्घ नेपाल (क्यान) ताप्लेजुङका अध्यक्ष विष्णुकुमार लिम्बुको भनाइ छ । हालको तीनै तहको सरकार तथा नेपाल टेलिकमले याङ्माका बासिन्दालाई सञ्चार सुविधा पुर्याउनका लागि आवश्यक पहल गर्नुपर्ने लिम्बूको सुझाव छ । हिमाली बस्ती याङ्मामा हाल १० परिवार बस्दै आएका छन् । यहाँको जनसंख्या ४० जना छ ।-न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।