नयाँ शहर आयोजना : सधैँ बजेट अभाव, पूर्वाधार निर्माण सुस्त

रवीन्द्र काफ्ले, पाँचथर, २७ भदौ । नयाँ शहरका रूपमा विकास भइरहेको फिदिममा पूर्वाधार निर्माणका लागि सधैँ बजेट अभाव हुने गरेको छ । पूर्वाधारयुक्त शहर निर्माण गरी बसोबासका लागि आकर्षण गर्ने उद्देश्यका साथ निर्माणाधीन नयाँ शहर आयोजना फिदिममा हालसम्म ३९ करोड ४५ लाख ३४ हजार रुपैयाँ खर्च भएको छ ।

पाँचथरको फिदिमलाई पुष्पलाल (मध्यपहाडी) लोकमार्गका आसपासका १० शहरमध्ये एक नम्बरमा नयाँ शहरका रूपमा विकास गर्ने योजनाका साथ गत आर्थिक वर्ष २०७१/०७२ देखि पूर्वाधार निर्माण कार्य भइरहेकामा उक्त परिमाणमा खर्च भएको हो । उक्त रकम जग्गा खरिद, सडक, बसपार्क, उद्यान, फोहोर व्यवस्थापन स्थान, भवन लगायतको निर्माणमा खर्च भएको नयाँ शहर आयोजना कार्यालय फिदिमले जनाएको छ ।

नयाँ शहर निर्माणको योजनाअनुसार अहिलेसम्म यहाँ धेरै पूर्वाधारहरु निर्माण भई निजी क्षेत्रको लगानी वृद्धि हुने तथा नयाँ शहरमा बसोबासका लागि आकर्षण बढ्नुपर्ने थियो । तर, नयाँ शहरका रूपमा निर्दिष्ट क्षेत्रमा कालोपत्रे सडक निर्माण, व्यवस्थित विद्युतीकरण, खानेपानी, ढल निकासी लगायतको प्रवन्ध, उद्यान, खेलमैदान, मनोरञ्जनस्थल, हाट बजार लगायतको निर्माणका कार्य व्यवस्थित रूपमा हुन सकिरहेको छैन । यस अतिरिक्त बसोबासलाई व्यवस्थित गर्ने, बसाइ सरी तराईका जिल्ला तथा ठूला शहरहरुमा जानेहरुलाई रोक्न यहाँ आकर्षण गराउन विशेष सुविधाहरुको ब्यवस्था गर्नेजस्ता कुनै कार्यक्रम नै बन्न सकेका छैनन् ।

‘१० वर्षसम्म निश्चित शहरहरुमा पर्याप्त लगानी गरी त्यहाँ हुने प्रगति हेरेर अन्यत्र लगानी गरिनुपथ्र्यो’, नयाँ शहर आयोजना कार्यालय फिदिमका प्रमुख विश्वराम प्रजापतीले भने, ‘त्यसो गर्दा लगानी भएका स्थानले फड्को मार्थे भने अन्यत्र पूर्वाधार निर्माणका लागि पाठ सिक्न पाइन्थ्यो ।’

तर, नयाँ शहरहरूसहित स्मार्ट शहर, हुलाकी लोकमार्गका शहर, तराई–मधेशमा अव्यवस्थित शहरलगायतको विकास गर्ने भनि घोषणा भएको, तर बजेट पर्याप्त नहुँदा परिणाम प्राप्त नभएको प्रजापतीले बताए । नयाँ शहरका लागि पूर्वाधार निर्माण गर्ने कार्य विक्रम संवत् २०९० सालमा सम्पन्न गर्ने सरकारी लक्ष्य भएकाले निर्माण थालनी भएको १० वर्षमा समीक्षा हुनेमा आफूहरू आशावादी रहेको प्रजापतीको भनाइ छ ।

पूर्वाधार निर्माण सुस्त

नयाँ शहर निर्माणका लागि आवश्यक भनि एकीन गरिएका पूर्वाधारहरु निर्माणमा खर्च हुँदै आएको छ । तर, बजेट पर्याप्त नहुँदा पूर्वाधार निर्माण सुस्त भइरहेको छ । २०७२÷०७३ मा फिदिममा आयोजना कार्यालय स्थापना भएपश्चात १७ किलोमिटर सडकको ट्र्याक कार्य सम्पन्न भएको छ भने ९ दशमलव ९४ किलोमिटर सडक ग्रावेल निर्माण भएको छ ।
यस्तै दुई किलोमिटर सडकको कालोपत्रे तथा १ दशमलव ३२ किलोमिटर सडक ढलान कार्य सम्पन्न भएको नयाँ शहर आयोजना कार्यालय फिदिमका प्रमुख विश्वराम प्रजापतीले जानकारी दिए ।

गत आर्थिक वर्षमा ३ दशमलव ४३ सहित हालसम्म कार्यालयले कूल २० किलोमिटर नाला तथा ढल निर्माण कार्य सम्पन्न गरेको छ । कार्यालयका लागि दुईवटा भवन निर्माण पूरा हुनका साथै कार्यालयबाट फिदिम–२ पल्लोटारमा नौ रोपनी क्षेत्रफलमा बसपार्क निर्माण कार्य पूरा भएको कार्यालय प्रमुख प्रजापतीले बताए ।

बहुवर्षीय योजनाका रुपमा कार्यालयले फिदिम–४ गणेशमान उद्यान (पार्क) र फिदिम–१४ मा सुकेपोखरी व्यवस्थापन तथा उद्यान निर्माण थालेको छ । यस्तै व्यवस्थित बसोबास निर्माणका लागि ९९ रोपनी जमिनको जग्गा एकीकरण गर्ने कार्यसमेत पूरा भएको छ । फिदिम–२ नेपालटारमा १०८ कित्तामा रहेको एकीकृत जग्गालाई सडक, विद्युत तथा खानेपानीलगायतका संरचनाले युक्त बनाई जग्गा जग्गाधनीलाई फिर्ता गर्न थालिएको प्रजापतीले जानकारी दिए ।

उक्त जग्गा एकजनाको हो । यहाँ सातवटा कार्यालयको भवन निर्माणका लागि समेत जग्गा प्राप्त भएको छ । यस्तै ६३ रोपनी क्षेत्रफलमा फैलिएको फिदिम–५ स्थित रङ्गशाला निर्माणका लागि प्रकृया अगाडि बढाइनुका साथै ५२ रोपनी क्षेत्रफलमा रहेको फोहोर ब्यवस्थापन स्थानमा समेत संरचनाहरु निर्माण गर्ने कार्यलाई सो कार्यालयले क्रमशः अगाडि बढाएको छ ।

कार्यालयले यथाशीघ्र रुपमा फिदिम–२ को मुस्कानचोक–बसपार्क सडक तथा फिदिम–१ को शिवालय मन्दिरबाट जग्गा एकीकरण स्थानसम्म सडक कालोपत्रे गर्ने कार्यलाई अगाडि बढाउन लागेको छ । मुस्कानचोक–बसपार्क सडक निर्माणका लागि जग्गाधनी तयार नहुँदा काम अगाडि बढाउन नसकिएकाले फिदिम नगरपालिकालाई लगतकट्टा गरिदिन आग्रह गरिएको प्रजापतीले बताए । उक्त सडकले मेची राजमार्गमा चल्ने लामो दूरीका सवारीका साधनलाई फिदिम बजारभित्र प्रवेश नगरी वैकल्पिक माध्यमबाट जानसक्ने माध्यम प्रदान गर्छ ।

निजी लगानी आवश्यक

नयाँ शहरहरुको निर्माणमा सरकारीभन्दा निजी लगानी महत्वपूर्ण हुन्छ । सरकारले पूर्वाधार निर्माण गरेपछि त्यसैको जगमा शहर विस्तार गर्न मद्दत गर्ने कामहरु निजी क्षेत्रबाट हुन आवश्यक छ । यसका लागि विशेषतः शिक्षा, स्वास्थ्य र रोजगारी प्रवद्र्धन गर्ने कार्य निजी क्षेत्रबाट हुनुपर्ने नयाँ शहर आयोजना कार्यालयका प्रमुख प्रजापतीको अनुभव छ ।
‘सरकारी लगानीको कम्तिमा तीन गुणा बढी लगानी निजी क्षेत्रबाट हुन आवश्यक छ’, प्रजापतीले भने, ‘तर फिदिममा त्यसरी लगानी वृद्धि भएको भने देखिएको छैन् ।’

नयाँ शहर आयोजनाको लक्ष्यअनुसार फिदिममा विक्रम संवत् २०९० सालमा जनसंख्यालाई एक लाख पु¥याउने हो । यसका लागि शिक्षा, स्वास्थ्य तथा रोजगारीका क्षेत्रमा लगानी गर्ने, खरिद बिक्री हुने जग्गाको मूल्य सामान्य हुनुपर्ने, अन्य पूर्वाधारको पर्याप्त उपलब्धता तथा बसाइ सरी आउने लक्षित समुदायको आर्थिक अवस्था सुधारका कार्यक्रम सञ्चालन हुनु आवश्यक छ । यद्यपि यस प्रकारका कार्यक्रमहरूसमेत यहाँ सञ्चालन हुन सकेका छैनन् । ‘लक्षित समुदायको अर्थतन्त्र चलायमान बनाउन आयआर्जन वृद्धि, औद्योगिक ग्राम स्थापना, कृषि उपज उत्पादन तथा मूल्यमा सुधार जस्ता कार्य पनि सँगसँगै हुन सकेमात्रै लक्ष्य प्राप्ति हुन्छ’, प्रजापतीले भने ।

महत्वमा अगाडि, प्राथमिकतामा पछाडि

नयाँ शहर आयोजना समन्वय कार्यालय काठमाडौंका अनुसार शहरीकरणलाई व्यवस्थित गरी प्रत्येक नयाँ शहरहरूलाई यस क्षेत्रको केन्द्रका रूपमा विकास गर्ने, ठूला शहरी क्षेत्र तथा तराईको कृषियोग्य क्षेत्रमा हुने बसाइसराइ नियन्त्रण गर्ने, वस्तीहरुको विकासको रणनीतिक योजना, यी शहरहरुमा कार्यक्रम तथा भू–उपयोग व्यवस्थित गर्ने, कृषि, पर्यटन, शैक्षिक तथा औद्योगिक क्षेत्रको विकास गरी आर्थिक कृयाकलापहरुको बढोत्तरी गर्ने, ग्रामीण क्षेत्रबाट हुने बसाइसराइलाई नयाँ शहर केन्द्रित गर्ने उद्देश्यले नयाँ शहर निर्माण थालिएको हो ।

तर, बसाइसराइ तीव्र रहेको पूर्वी पहाडमै फिदिममा लक्ष्यअनुसारको कुनै पनि प्रगति देखिएका छैनन् । यहाँ विगतको जस्तै जग्गाको खरिद विक्री तथा घर एवं पूर्वाधार निर्माण निकै सुस्त गतिमा छ । नयाँ शहरमा पूर्वाधार र आकर्षण नहुँदा जीवनशैलीको परम्परागत रुपान्तरण प्रक्रिया निरन्तर छ । ‘ठूलो लक्ष्य राखिएको भएपनि प्राथमिकतामा नपर्ने तथा विकास प्रक्रिया राजनीतिक प्रभाव पर्नाले निराश हुनुपर्ने अवस्था छ’, आयोजना कार्यालयका प्रमुख प्रजापतीले भने । -न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।