दुई वडाका करिब एक हजार २०० परिवारको जमिनबारे छानबिन गर्न आउँदो …

राजकुमार पराजुली ,काभ्रेपलाञ्चोक, ६ कात्तिक । विगत ४५ वर्षदेखि लालपुर्जाविहीन काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई वडाका करिब एक हजार २०० परिवारको जमिनबारे छानबिन गर्न आउँदो मङ्सिरमा पुनः टोली फिल्डमा पठाइने भएको छ । कोरोना सङ्क्रमणको जोखिमका कारण करिब डेढ वर्ष छानबिनको काम रोकिएको थियो ।

गाउँपालिकाको दुई वडामा २०७६ साल पुसमा नापी र मालपोतका दुई कार्यालय स्थापना गरिएको थियो । त्यसलगत्तै नेपालमा पनि कोरोना महामारी फैलिएपछि थालिएको काम रोकियो । कोरोना जोखिम घटेपछि २०७७ मङ्सिरबाट पुनः केही काम हुँदै थियो । पुनःकोरोनाको दोस्रो लहरले छानबिनको कामलाई जहाँको तही थाँती राखिदियो । “तिहारपछि अर्थात् आउँदो मङ्सिरदेखि काम पुनः थालिने गरी टोली पछाइनेछ”, नापी कार्यालय प्रमुख रामविनयकुमार सिंहले भन्नुभयो ।

सिंहका अनुसार छानबिनका लागि टोली पठाउन जिल्ला मालपोत कार्यालय र स्थानीय तहसँग छलफल तथा समन्वयको काम भइरहेको छ । हाल स्थानीयस्तरका नापी र मालपोतका कार्यालय कर्मचारीविहीन बनेका छन् । फिल्डमा खटेको नापी कार्यालयको टोली स्थापनाको केही महिनापछि नै फर्किएपछि ४५ वर्षदेखि लालपुर्जाको पर्खाइमा बसेका करिब एक हजार २०० परिवारमा पुनःनिरासा छाएको छ भने लालपुर्जा वितरणमा थप अन्योल कायम हुँदै आएको हो ।

उक्त गाउँपालिकाको सात र ८ नम्बर वडामा स्थानीयको जग्गाधनी र जग्गाको छानबिन गरी लालपुर्जा दिन जिल्लास्थित कार्यालयमा सिफारिस गर्न दुई कार्यालय राखिएको थियो । तत्कालीन नक्साङ्कनको अवस्थामा सीमा विवादका कारण आफ्नै जमिन आफ्नो नाममा नभएपछि ती लालपुर्जाविहीनले फिल्डका नापी र मालपोतको दुवै कार्यालयमा २०७७ माघ महिनासम्म लालपुर्जा प्राप्तिका लागि निवेदन दर्ता गरेका थिए ।

कार्यालयका प्रमुख सिंहले दुई लहरको कोरोना सङ्क्रमणका कारण करिब डेढ वर्ष भुम्लु गाउँपालिकाको जमिनको छानबिन गरी लालपुर्जा वितरणको काम प्रभावित बनेको बताउनुभयो । उहाँका अनुसार करिब ३०० को लालपुर्जा तयार भइसकेको छ । सिंहले भन्नुभयो, “छानबिन गरी नाममा पुर्जा दिन केही व्यक्तिको मृत्यु भइसकेकाले कुन आधारमा नामसारी गर्ने भन्नेबारे थप समस्या सिर्जना भएकाले त्यसबारे गम्भीररुपमा छलफल र कानूनी आधारमा सहमति गर्नुपर्ने देखिएको छ, गर्न सकिन्छ–असम्भव छैन ।”

साविकको भुम्लुटार र फलाँटे गाउँ विकास समितिबीचको सिमाना विवादका कारण ४५ वर्षदेखि यी दुई तत्कालीन गाविसका सर्वसाधारणले हालसम्म पनि आफूले प्रयोग गर्दै आएको जग्गाको जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) प्राप्त गर्न सकेका छैनन् । कार्यालयका अनुसार हालसम्म ७ नम्बर वडास्थित कार्यालयमा ९३२ र ८ नम्बरमा ३१७ निवेदन दर्ता भएको छ । नापी कार्यालयद्वारा निवेदन बुझ्ने काम भएको तर थप प्रक्रिया अघि बढेको छैन ।

कार्यालयका नापी अधिकृत सुरेश मानन्धरले मालपोत कार्यालयबाट जमिनको सुरुदेखि अन्तिम जग्गाधनी को हुन् भन्नेमा स्रेस्ता आएपछि मात्रै निवेदन दिएका व्यक्तिको जग्गा दर्ता गरी लालपुर्जा दिन सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाल दुवै वडामा तेस्रोपक्ष व्यक्तिमा किनबेच नभएको जग्गामात्रै दर्ता गर्न सकिनेछ, अन्यको हकमा कानूनी आधारमा निक्र्यौल गरी प्रक्रिया थाल्नुपर्ने देखिन्छ ।” नापी र मालपोत कार्यालयका कर्मचारीले दुई वडाको सीमाङ्कनको काम सुचारु नगर्दा अन्यौल छाएको र लालपुर्जाविहीनमा निरासा छाएको वडा नम्बर ७ का स्थानीय रमेश खरेलले बताउनुभयो ।

खरेलले भन्नुभयो, “लामो समयपछि लालपुर्जा पाउने आशमा बसेकामा नापी र मालपोत कार्यालयको बेवास्ताका कारण थप अन्योल छाएको छ ।” उहाँका अनुसार दुवै कार्यालयका कर्मचारीले स्थानीयको निवेदन बुझेर हिँडेका हुन् । भुम्लु गाउँपालिकाले भने काम सुचारु गराउन जिल्लास्थित नापी र मालपोत कार्यालयलाई छुट्टाछुट्टै पत्राचार गरेको छ ।

“निवेदनउपर छानबिन गरी जग्गादाताले आवश्यक प्रमाण जुटाउने प्रक्रिया अघि बढिरहेका बेला कोरोनाले काम प्रभावित बनायो, अब के कसरी कामलाई निरन्तरता दिन सकिन्छ भन्नेबारे दुवै कार्यालयसँग छलफल अघि बढाउँदैछौँ”, गाउँपालिका अध्यक्ष गुमानध्वन कुँवरले भन्नुभयो ।

कुँवरका अनुसार साविकको पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे गाविस दुवैमा खेतीयोग्य जमिन परेपछि त्यो जमिन कुन गाविसले लिने भन्ने विषयमा विवाद हुँदा २०३२ सालमा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण तत्कालीन नापी टोली फर्किएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।