निर्वाचनको तयारीमा लाग्न अध्यक्ष ओलीको निर्देशन
काठमाडौँ, ९ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अब हुने तिनै तहको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । पार्टीको पालिकास्तरका अधिवेशनको आज भर्चुअल माध्यमबाट उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री ओलीले मिति तय नभए पनि अब मुलुक निर्वाचनतर्फ अग्रसर भएकाले त्यसको तयारीमा लाग्न आग्रह गर्नुभएको हो । एमाले बहुदलीय प्रतिस्पर्धाबाट हरेश नखाने र आगामी निर्वाचनबाट जनादेश प्राप्त गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
पार्टीको केन्द्रीय कार्यालयको वार रुमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “मुलुकका जनताले लडेर ल्याएको लोकतन्त्र र संविधान तथा राष्ट्रियताको रक्षाका लागि एमाले विजयी हुनुको विकल्प छैन । जनादेश हाम्रो पक्षमा आउने आत्मविश्वासका लागि देशभर पार्टीका काममा क्रियाशील हुन म आह्वान गर्दछु ।” एमालेले यही कात्तिक ६ गते सबै वडास्तरमा अधिवेशन गरेको थियो भने आज नगरपालिका र गाउँपलिकास्तरका अधिवेशनको मिति तय गरेको हो । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म बाग्मती प्रदेशको चितवनमा हुँदैछ ।
विभाजनले असर गरेको छैन : एमाले सचिव ज्ञवाली
तम्घास, ९ कात्तिक ।नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीमा भएको विभाजनले नेकपा एमालेलाई कुनै असर नगरेको जिकिर गर्नुभएको छ । नेकपा एमाले रेसुङ्गा नगरकमिटीको प्रथम अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले अधिकांश कार्यकर्ता तथा जनप्रतिनिधि विभाजनको विरुद्धमा रहेको बताउनुभयो ।
पार्टीका केन्द्रीय कमिटीबाट २३ प्रतिशत र स्थानीय तहबाट सात प्रतिशत मात्रै समाजवादीमा गएको जिकिर गर्दै सचिव ज्ञवालीले गुल्मीमा कोही पनि जननिर्वाचित प्रतिनिधिले एमाले नछोड्नु खुसीको कुरा भएको र एमाले छोडेकाहरू पनि फर्कने क्रम सुरु भएको बताउनुभयो ।


