एमाले केन्द्रीय कमिटी बैठक सुरु
काठमाडौँ, १२ कात्तिक । दशौँ राष्ट्रिय महाधिवेशनको तयारीलगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) कोे केन्द्रीय कमिटीको बैठक आज सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा जारी बैठकमा महाधिवेशनमा भाग लिने प्रतिनिधिको मापदण्ड र कार्यतालिकाबारे बिहीबारको स्थायी कमिटी बैठकमा निर्णय अनुमोदन, वडा र पालिकाको अधिवेशनको रिपोर्टिङ र समीक्षाको कार्यसूची राखिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
स्थायी कमिटीको बैठकले मापदण्डका आधारमा देशभरका सात लाख २१ हजार पार्टी सदस्यबाट एक हजार ५३६ प्रतिनिधि छान्ने तय गरेको थियो । आगामी मङ्सिर १० देखि १२ सम्म चितवनमा हुने महाधिवेशनमा केन्द्रीय कमिटी, केन्द्रीय आयोग र सल्लाहकार परिषद्बाट २६२ जना पदेन प्रतिनिधि हुनेछन् । यस्तै भूगोलबाट एक हजार १९६ र प्रवास क्षेत्रबाट २० तथा पार्टी निकट प्रत्येक जनसङ्गठनबाट पाँच जना प्रतिनिधि चयन हुनेछन् ।
यो पनि पढ्नुहोस्..एमाले पोखरा महानगरका अध्यक्षमा न्यौपाने
कास्की, १२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोखरा महानगरपालिका कमिटीको अध्यक्ष पदमा दिलीप न्यौपाने सर्वसम्मत चयन हुनुभएको छ । यही कात्तिक ९ गते सुरु प्रथम महानगर अधिवेशनमा नेतृत्वका आकाङ्क्षीबीच सहमति नजुट्दा अधिवेशन लम्बिएकामा बिहीबार साँझ अन्य चार उम्मेदवारले मनोनयन फिर्ता लिएपछि न्यौपाने सर्वसम्मत अध्यक्ष चुनिनुभएको हो ।
अध्यक्षका लागि न्यौपानेसहित दीपक पौडेल, तेजनारायण अधिकारी, धनबहादुर नेपाली र हरिप्रसाद त्रिपाठीले उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको थियो । यसैगरी महानगर कमिटीको उपाध्यक्षमा मोहन गुरुङ, सचिवमा जीवन आचार्य र उपसचिवद्वयमा रामचन्द्र थापा र हरिमाया गुरुङ सर्वसम्मत हुनुभएको एमाले कास्कीका सचिव दामोदर बैरागीले जानकारी दिनुभयो । महिला खस आर्य, जनजाति, दलित अल्पसङ्ख्यक, अपाङ्ग, श्रमिक, खुला सदस्य र भूगोलतर्फ सर्वसम्मत चयन गरिएको छ ।
नवनिर्वाचित अध्यक्षलगायतका पदाधिकारी तथा सदस्यलाई बिहीबार रातिनै शपथ ग्रहण तथा निर्वाचित प्रमाणपत्र प्रदान गरिएको थियो । पाँच पालिका रहेको जिल्लामा मादी, अन्नपूर्ण र रुपा गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन गरिएको छ । मादीमा बालकृष्ण गुरुङ,अन्नपूर्णमा विवेक देवकोटा र रुपामा सवाबक्स मियाँ पालिका कमिटीको अध्यक्ष सर्वसम्मत निर्वाचित हुनुभएको छ । माछापुच्छ«े गाउँपालिकामा भने अध्यक्षका प्रत्याशीका बीचमा सहमति नजु्टदा अधिवेशन को निर्वाचन प्रक्रिया स्थगन गरिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिनुभयो । माछापुच्छ«ेमा विक्रम गुरुङ, महेश्वर दवाडी, यदुराम अधिकारी र पानबहादुर जिसीले अध्यक्षमा मनोनयन दर्ता गराउनुभएको छ ।


