सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौँ, १५ कात्तिक ।नेपालको सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला रु १०० ले बढेर छापावाल सुन प्रतितोला रु ९१ हजार ८०० कायम भएको छ । आइतबार उक्त सुन प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ३०० रहेकामा आइतबार प्रतितोला रु ९१ हजार २०० तोकिएको थियो ।महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर एक हजार २४५ कायम भएको छ । चाँदी आइतबार प्रतितोला रु एक हजार २४० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।
यो पनि पढ्नुहोस्..भूमाफियाबाट फिर्ता गरिएको जग्गामा आकर्षक उद्यान
काठमाडौँ, १५ कात्तिक ।काठमाडौँ महानगरपालिका– ११ मा जनप्रतिनिधि र समुदायको संयुक्त प्रयासमा भूमाफियाको चङ्गुलबाट फिर्ता गरिएको जग्गामा आकर्षक उद्यान निर्माण सुरु गरिएको छ । बुद्धनगरस्थित संयुक्त राष्ट्रसङ्घ उद्यानको दुई रोपनी तीन आना जग्गामा बाटिका निर्माण सुरु गरिएको हो । वाग्मती प्रदेश पूर्वाधार विकास साझेदारी योजनाअन्तर्गत रु २० लाख बजेटमा आकर्षक वाटिका निर्माण भइरहेको छ । वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको सक्रियतामा वाटिका निर्माणका लागि डिजाइन सम्पन्न गरी वाटिकालाई आकर्षकस्थलका रुपमा विकास गर्ने काम अघि बढेको हो ।
स्थानीयवासीलाई आवश्यक परेका बेला खुला स्थानका रुपमा प्रयोग गर्न, तरोताजा हुन एवं प्राकृतिक विपत्तिका बेला समुदायले उपयोग गर्ने गरी व्यवस्थापन गर्न लागिएको वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकारले बताउनुभयो । वाटिका निर्माणपछि संयुक्त राष्ट्रसङ्घ उद्यानअन्तर्गत नै राखी यसको व्यवस्थापन गरिने काठमाडौँ–१० का सदस्य नरोज अर्यालले राससलाई जानकारी दिनुभयो ।संयुक्त राष्ट्रसङ्घ उद्यानको व्यवस्थापन हाल अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले गर्ने गरेको छ । नदी किनारमा वाटिका निर्माणपछि वाग्मती सफाइ महाअभियानमा पनि सहयोग पुग्ने आशा गरिएको छ । यसैगरी वडा नं १० र ११ मा सार्वजनिक जग्गा मिची बनेका संरचना भत्काएर आकर्षक उद्यान निर्माण गर्न स्थानीय सरकारसँग मिलेर काम गरिएको प्रदेशसभा सदस्य श्रेष्ठले बताउनुभयो ।


