कांग्रेसले आगामी निर्वाचपछि नेपाली कांग्रेसले बहुमत ल्याउने र कांग्रेसको एकल सरकार बन्ने – डा महत
फुङ्लिङ, १८ कात्तिक । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले आगामी निर्वाचपछि नेपाली कांग्रेसले बहुमत ल्याउने र कांग्रेसको एकल सरकार बन्ने बताउनुभएको छ । आज ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “अब हुने स्थानीय तह, प्रदेश र सङ्घको निर्वाचमा नेपाली कांग्रेसको बहुमत आउनेछ र कांग्रेसले नै सरकार निर्माण गर्नेछ ।”अहिले सरकार गठबन्धनमा भए पनि आगामी निर्वाचनमा नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउने उहाँको दाबी थियो । नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेसँगै देशका भ्रष्टाचार नियन्त्रण हुने र कोभिडबाट क्षति पुगेका क्षेत्रहरुको पुनर्निर्माण भई देश विकासको मार्गमा अघि बढ्ने बताउनुभयो ।
सहमहामन्त्री डा महतले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमै सम्पन्न हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “पार्टीको महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुन्छ, मैले महामन्त्रीमा उम्मेदवारी दिन्छु ।” उहाँले नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई आजैदेखि निर्वाचनको तयारीमा लाग्न पनि आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “पार्टीको आसन्न महाधिवेशनको तयारीमा लाग्नुहोस्, महाधिवेशनको तयारीसँगसँगै निर्वाचनको तयारी पनि थाल्नुहोस् ।” डा महतले हाल देशको सर्वाेच्च अदालतमा देखिएको विवाद अदालत आफैँले समाधन गरोस् भन्ने आफूले चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सर्वोच्च अदालतमा जुन विवाद छ, त्यसले न्याय सम्पादनमा समेत समस्या सिर्जना गरेको छ । यो न्यायालयको विवादको त्यहीँ सर्वोच्चबाटै समाधानको निकास आओस् भन्ने हामी चाहन्छौँ ।”
उहाँले केपी शर्मा ओलीको नेतृत्वको सरकारले ताप्लेजुङको विकासमा महत्व नदिएको आरोप पनि लगाउनुभयो । पाथीभरालाई धार्मिक पर्यटकका रुपमा विकास गर्नु आवश्यक रहेको समेत उहाँले बताउनुभयो । तमोर कोरिडोरलाई सरकारले प्राथमिकतामा राखेर विकास गर्न आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।
यो पनि पढ्नुहोस्..गृहमन्त्री खाँणद्वारा डुबान क्षेत्रको निरीक्षण
बैतडी, १७ कात्तिक । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय सिगास गाउँपालिका–५ ढुङ्गारस्थित सेती नदीबाट भएको डुबानको स्थलगत निरीक्षण गर्नुभएको छ । सुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडी जिल्लाका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा उहाँ आज यहाँ आउनुभएको हो । गत असोजको अन्तिम साता र यही कात्तिकको पहिलो हप्तामा आएको बाढीबाट ढुङ्गारमा सेती नदीबाट १२५ भन्दा घरबस्ती डुबानमा परेको थियो । ढुङ्गार पश्चिम सेती जलविद्युत् आयोजनाको डुबान क्षेत्र पनि हो । निरीक्षणपछि गृहमन्त्री खाँणले नदी डुबान क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन सरकारले सम्पूर्ण रुपमा मद्दत गर्ने स्थानीयवासीलाई आश्वासन दिनुभयो । उहाँले भन्नभयो, “ढुङ्गार क्षेत्रस्थित सेती नदीमा बलियो तटबन्ध बनाएर डुबान प्रभावित क्षेत्रलाई सुन्दर र पर्यटकीयस्थल बनाइनेछ ।”


