किसानलाई अनुदानमा ४५७ क्विन्टल आलुको बीउ
रामपुर (पाल्पा), २१ कात्तिक । रम्भा गाउँपालिकाले आलुखेतीलाई प्रवद्र्धन गर्न किसानलाई अनुदानमा बीउ उपलब्ध गराएको छ । गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार यसवर्ष ४५७ क्विन्टल बीउ ५० प्रतिशत अनुदानमा पाँचवटै वडाका आलु किसानलाई वितरण गरेको हो । आलु खेतीलाई व्यवसायीकरण गर्नका लागि किसानलाई उत्प्रेरित गर्न अनुदानमा बीउ उपलब्ध गराउँदै आएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।
गाउँपालिकाले अघिल्ला वर्षमा पनि अनुदानमा बीउ वितरण गरेकामा यसवर्ष वडा नं १ मा १४ क्विन्टल, २ मा ६५ क्विन्टल, ३ मा ९७ क्विन्टल, वडा नं ४ मा ६५ क्विन्टल र ५ मा ९५ क्विन्टल बीउ आलु उपलब्ध गराएको छ । यहाँका पिपलडाँडा, हुँगीलगायत क्षेत्र आलु उत्पादनको राम्रो पकेट क्षेत्र मानिन्छ । पालिकाका सबै वडाका समथर खेत तथा बारीमा पनि किसानले आलुखेती गरेका छन् । गाउँपालिकाले अनुदानमा बीउ दिन थालेपछि यहाँका किसान हिजोआज आलुखेतीमा आकर्षित हुन थालेका छन् । घरायसी प्रयोजनका निम्ति मात्र आलु लगाउने किसानले पछिल्लो समय व्यावसायिक उत्पादनमा जोड दिएका छन् ।
यो पनि पढ्नुहोस्..प्रहरी सीतापुल झरेपछि तिंकरनाका सुरक्षाविहीन
–नरेन्द्रसिंह कार्की,दार्चुला, २१ कात्तिक । दार्चुलाको उत्तर व्याँस गाउँपालिकाको तिंकर छायाँलेकमा रहेको नेपाल प्रहरी यही कात्तिक पहिलो साता छांगरु झरेपछि चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन बनेको छ । स्थानीयवासी बसाइँ नसरी प्रहरी चिसो छल्न छांगरु झरेको हो । कात्तिक पहिलो साता आएको अविरल वर्षा र हिपातसँगै तिंकरको छायाँलेक स्थित प्रहरीहरू छांगरु झरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो । हिमपातका कारण अत्यधिक जाडो बढेर पानीसमेत खान नसकिने अवस्था भएपछि प्रहरी अहिले छांगरुमा बसेको जनाइएको छ । अहिले छांगरु र तिंकर प्रहरी नीतिकुण्डमै बसेका छन् ।
त्यहाँका स्थानीयवासी आगामी मङ्सिर पहिलो सातामात्रै सदरमुकाम खलङ्गा बसाइँसराइ (कुञ्चा)सर्ने तयारी भएको व्याँस गाउँपालिका–१ का वडासचिव विनोदसिंह बुढाथोकीले जानकारी दिनुभयो । “बढी हिमपात भयो भने यो महिनाभित्रै कुञ्चा सर्ने सम्भावना छ, अस्ती दुईपटक हिमपात हुँदा आधा फिट हिउँ जमेको थियो”, उहाँले भन्नुभयो ।तिंकरमा रहेका प्रहरी जाडोयाममा वर्षेनी नजिकका अन्य युनिटमा सर्ने गर्छन् । अहिले प्रहरीका लागि छांगरु नीतिकुण्डमा पक्की भवन निर्माण सुरुआत भएको छ ।
तिंकरमा सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट (बिओपी)को भवन यस वर्ष निर्माण भएको छ तर सशस्त्र प्रहरीले बस्न सुरु गरेका छैनन् । चीनसँग जोड्ने मार्गमा रहेको प्रहरी चौकी भवन सुविधासम्पन्न नहुँदा सुरक्षाकर्मी त्यहाँ बाह्रैमास बस्न सक्दैनन् । छांगरुमा सशस्त्र प्रहरीको नम्बर ५० गुल्म स्थापना छ । गुल्मका लागि गत वर्षबाट भवन निर्माण सुरु भए पनि अधुरै छ । सशस्त्रले अहिले भाडाको घरमा बसेर ड्युटी गर्दै आइरहेको छ । यहाँका स्थानीयवासी छ महिना चिसो छल्न सदरमुकाम खलङ्गा र छ महिना गर्मी छल्न व्याँसको छांगरु तिंकर उक्लिने गर्छन् । उनीहरू नेपालतिर आउन बाटो नभएपछि हरेकपटक भारतीय बाटो हुँदै बसाइँसराइ गर्ने गरेका छन् ।


