कोरोना नियन्त्रणका लागि पाख्रीबास नगरपालिकाले जारी गर्यो यस्तो सुचना
धनकुटा । कोरोनाको नयॅं लहर सुरु भइ धनकुटामा पनि सक्रिय संक्रमितको संख्यामा दैनिक बृद्दि भइरहेको अवस्थामा पाख्रीबास नगरपालिकाले पनि संक्रमणलाई मध्यनजर गर्दै नगर अन्तर्गतका सरकारी कार्यालय,विद्यालय,स्वास्थ्य संस्था,बैक तथा वित्तिय संस्थाहरु,क्लव तथा सबै प्रकारका व्यवसायीहरुको ध्यानाकार्षण गर्दै ९ बुंदे सुचना प्रकाशित गरेको छ ।
नपाका प्रमुख प्रशासकिय अधिकृत डिक बहादुर राईद्वारा हस्ताक्षरित सुचनामा भनिएको छ -सबै प्रकारका आमसभा,जुलुस,भेला माघ मसान्त सम्म सॅचालन नगर्न,गोष्ठी,सेमिनार,समिक्षा बैठक जस्ता क्रियाकलापहरु गर्नु परे भर्चुवल माध्यमबाट संचालन गर्ने तथा भौतिक उपस्थिति मै रुपमै गर्नु परे जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरि र एन्टिजेन परिक्षण गरि रिपोर्ट नेगेटिभ आएमा बढीमा २५ जना मात्र सहभागी रहने गरि संचालन गर्न पाइनेछ ।
त्यस्तै बिद्यालय,ट्युशन सेन्टर,तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप संचालम गर्दा माघ १५ सम्म भौतिक उपस्थितिमा संचालन नगर्ने र मन्दिर,गुम्बा तथा च्रच लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरि माघ मसान्त सम्म नित्य पुजा,ध्यान र प्रार्थना मात्र गर्ने गराउन पाइनेछ ।
त्यसैगरि नियमित रुपमा संचालन हुनु पर्ने स्वास्थ्य सेवाहरु जनस्वास्थ्यका मापदण्ड पालना गरि संचालन गर्ने तथा आफुलाई कोरोना संक्रमण भएको शंका लागेमा एन्टिजेन परिक्षण गराउनु हुन सबैमा जानकारी गरिएको पनि सुचनामा उल्लेख छ ।


वीरगञ्ज भन्सार कार्यालयले रु एक खर्ब पाँच अर्ब राजस्व सङ्कलन
वीरगञ्ज, ६ माघ (रासस) ःवीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु एक खर्ब पाँच अर्ब ९० करोड ८३ लाख ३५ हजार राजस्व सङ्कलन गरेको छ ।
यो लक्ष्यभन्दा ५ दशमलव ६७ प्रतिशत बढी हो । सो अवधिमा कार्यालयले रु एक खर्ब २२ करोड १५ लाख ३७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । गत वर्षको सोही अवधिको तुलनामा रु ३२ अर्ब बढी राजस्व सङ्कलन गरेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
कुन शीर्षकमा कति राजश्व ?
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कार्यालयले सबैभन्दा बढी मूल्यअभिवृद्धि करतर्फ रु ४१ अर्ब तीन करोड ४५ लाख राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा ३२ प्रतिशत बढी हो । सो अवधिमा कार्यालयले रु ३१ अर्ब १२ करोड ९५ लाख ७९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।
यसैगरी कार्यालयले सो अवधिमा भन्सार महसुल आयाततर्फ रु ३८ अर्ब ५७ करोड ७३ लाख १४ हजार र भन्सार महसुल निर्याततर्फ रु एक करोड ३२ लाख १९ हजार मात्र राजस्व सङ्क्रकन गरेको छ । भन्सार महसुल निर्याततर्फ लक्ष्यको तुलनामा १९ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ । सो अवधिमा कार्यालयले भन्सार महसुल निर्याततर्फ रु ६ करोड ९९ लाख ७६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।
त्यस्तै सो अवधिमा कार्यालयले अन्तःशुल्कतर्फ रु १२ अर्ब २६ करोड ८१ लाख ६४ हजार र पेट्रोलियम पदार्थको आयातमा लगाइएको पूर्वाधार करतर्फ रु सात अर्ब ९७ करोड ३२ लाख ३२ हजार राजस्व सङ्कलन भएको भन्सार कार्यालय वीरगञ्जले जनाएकोे छ । यसैगरी कार्यालयले सो अवधिमा अग्रिम आयकरतर्फ रु १४ करोड ६८ लाख ९० हजार, स्वास्थ्य जोखिम करतर्फ ८३ लाख ६५ हजार, कृषिसुधार शुल्कतर्फ रु ७३ करोड ६३ लाख ७६ हजार, सडक मर्मत तथा सुधार दस्तुरतर्फ रु दुई अर्ब ३९ लाख ९५ हजार राजस्व र अन्य आय शीर्षकमा रु पाँच करोड ५७ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ ।
गतवर्ष कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण अवरुद्ध भएको वैदेशिक व्यापार यो वर्ष बढेकाले चालु आवमा आयातसँगै राजस्वमा सङ्कलनमा पनि सुधार भएको छ । यो वर्षको सुरुआतसँगै आयात उल्लेख्य बढेर विदेशी विनिमयमा दबाब देखिएको छ ।
विदेशी मुद्राको सञ्चित घटेपछि सरकारले आयात निरुत्साहित गर्ने नीति लिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिनुभयो ।


