सहिदभूमि ६ माम्फिंगमा चोया बाँस सम्बन्धि सिप विकास तालिम सम्पन्न
मालती मोक्तान/धनकुटा,माघ २७ । धनकुटा जिल्लाको सहिदभूमि गाँउपालिकाको वडा नं ६ माम्फिंगमा चोया बाँस सम्बन्धि सिप विकास तालिम सम्पन्न भएको छ ।

नेपाल सरकार उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग र सहिदभूमि गाउंपालिकाको आयोजनामा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत उक्त सिप बिकास तालिम माघ ९ गतेदेखि माघ २५ गते सम्म सञ्चालन गरिएको हो । १५ दिन सम्म संचालित तालिममा ज्वालादेवी लघु उद्यम समुह सहिदभूमि ६ का १३ जनाको सहभागिता रहेको थियो । सहभागीलाई तालिमका प्रशिक्षक चन्द्रप्रकाश राईले तालिम दिनु भएको थियो ।
तालिमको एक कार्यक्रमका बिच बुधबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुमार शाक्यको प्रमुख आतिथ्यमा समापन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि शाक्यले गाउँपालिकाबाट क्रमश: गत वर्ष देखि विभिन्न वडाहरु २, ३, र ४ का १ हजार ९ जनालाइ सिप विकास तालिम दिएर नयाँ उद्यमी विकास गरि उद्यम समुह गठन गरेर गाउँपालिकाले निरन्तर फलोअप गरिरहेको जानकारी गराउनु भएको थियो । सोहि कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा गापाको ५ र ६ नं वडामा तालिम संचालन भइरहेको जानकारी गराउनु भयो ।

वडा न ६ का वडा अध्यक्ष हेम कुमार राईले सहभागीलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो । त्यस्तै गरी वडा अध्यक्ष राईले कार्यक्रममा बोल्नु हुदै तालिममा सहभागीहरुले सिकेका सिपलाई प्रयोग गरेर स्थानिय स्तरमा रहेका कच्चा पदार्थलाई प्रयोग गरी आयआर्जन तथा रोजगारीका माध्यम सिर्जना गर्न सक्ने बताउनु भयो । तालिम उद्यम सहजकर्ता खुमा राईले कार्यक्रमको संचालन गर्नु भएको थियो ।


