छथरजोरपाटी गाउँपालिकामा भोलीबाट भौतिक उपस्थितिमा विद्यालयको पठन पाठन हुने
धनकुटा,२९ माघ । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा भोली आइतबारबाट भौतिक उपस्थितिमै विद्यालयका कक्षा संचालन हुने भएका छन् ।
गाउँपालिकाले एक सुचना जारी गर्दै आगामी शौक्षिक सत्रलाई समेत मध्यनजर गर्दै भोली फागुन १ गते बाट स्वाथ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाई भौतिक रुपमा कक्षा संचालन गर्न र यस क्रममा कुनै विद्यार्थी तथा शिक्षकमा संक्रमण देखा परे सम्बन्धीत शिक्षक तथा विद्यार्थी सात दिन सम्म होम आइसोलेसनमा बस्न र अन्य शिक्षकले नियमित रुपमा पठन पाठन अगाडी बढाउन समेत निमित प्रमुख प्रशासकीय अधिकृत निर्मला सुवेदीद्धरा जारी गरिएको सुचनामा जनाईएको छ ।

फागुन ११ गते राप्रपा केन्द्रीय कार्य समितिको बैठक
काठमाडौँ, २९ माघ (रासस) :राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आगामी फागुन ११ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बस्ने भएको छ । स्थानीय तहको निर्वाचनमा उमेदवार छनोट, उम्मेदवार उठाउनका लागि नामावली तयार गर्ने मापदण्डकाबारे विशेष छलफल हुने बैठकमा सासामयिक विषयवस्तुमा समीक्षा हुने नेता सुन्दर पाण्डेले जानकारी दिनुभयो । जिल्ला कार्यसमिति र स्थानीय तहअन्तर्गत समितिका सिफारिसमा फागुन मसान्तभित्र उम्मेदवार छनोट गर्ने कार्ययोजना छ । पार्टीको नीति, विचार, सिद्धान्त र कार्ययोजनाबारे आम जनतालाई जागरुक गराउन देशव्यापी घरदैलो कार्यक्रम सञ्चालन गर्ने योजना छ ।
आगामी फागुन महिनालाई प्रशिक्षणको महिनाका रूपमा गतिविधि सञ्चालन गरी पार्टीको सङ्गठन सुदृढीकरण गर्ने भएकाले केन्द्रीय, प्रदेश र जिल्ला तहमा प्रशिक्षण कसरी सञ्चालन गर्ने विषयमा पनि छलफल गरिने छ । देशव्यापीरूपमा राजनीतिक कार्यक्रम सञ्चालन गरी स्थानीय तहको निर्वाचनमा पार्टीका सम्पूर्ण शक्ति परिचालन गर्ने छ । आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई अत्यधिक सफलता हासिल गर्न महामन्त्री एवं स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजकत्वमा स्थानीय तह निर्वाचन विशेष कार्ययोजना निर्माणका क्रममा छ ।
पार्टीले राजसंस्था, हिन्दू राष्ट्रको पुनःस्थापना, सङ्घीयताको खारेजी र सुदृढ स्थानीय तहलगायतका सैद्धान्तिक अवधारणा र कार्यदिशामा समान विचार भएका सङ्गठनसँग एकता तथा सहकार्यका लागि वार्तालाई निरन्तरता दिएको छ भने समावेश भइसकेका र हुने व्यक्ति, समूहलाई उचित जिम्मेवारी दिने छ ।


