अग्रज पत्रकार श्रेष्ठलाई सम्मान
धनकुटा,४ भदौ । फोटो पत्रकार महासंघ धनकुटाको दोस्रो अधिवेशनमा अग्रज पत्रकार विष्णुमान श्रेष्ठलाई सम्मान गरीएको छ ।
अधिवेशनको अवसर पारेर वि.स २०२३ साल बाट धनकुटामा पत्रकारीता सुरु गर्नु भएका ८५ बर्षिय श्रेष्ठ लाई उहाँ कै निवासमा पुगेर फोटो पत्रकार महासंघ धनकुटाले सम्ममान गरेको हो । वि.स २०२३ साल बाट करिब २५ बर्ष पत्रकारीता गर्नु भएका श्रेष्ठले त्यस बेलाको पत्रकारीतामा पुर्याएको योगदानको कदर गर्दै उहाँ लाई सम्मान गरिएको फोटो पत्रकार महासंघ धनकुटाका अध्यक्ष रमेशचन्द्र अधिकारीले बताउँनु भयो ।
सम्मान कार्यक्रममा बोल्दै अग्रज पत्रकार श्रेष्ठले पहिले भन्दा अहिले पत्रकार लाई समाजले हेर्ने दृष्टिकोणमा व्यापक परिवर्त भएको भन्दै केहि पत्रकारका कै कारणले पत्रकारीता पेशा र पत्रकार लाई समाजले हेर्ने र गर्ने व्यावहार नराम्रो बन्दै गएको बताउनु भयो ।


बेरोजगार अन्त्य गर्ने कार्यमा वर्तमान सरकार केन्द्रित : मन्त्री कार्की
इनरुवा, ४ भदौ (रासस) :नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले घरघरमा रोजगार सृजना गर्ने कार्यमा वर्तमान सरकार केन्द्रित रहेको बताउनुभएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरमा आज नेटवर्क विस्तार तथा शुभारम्भ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री कार्कीले वर्तमान सरकारले सूचना प्रविधिको विकास गरेर रोजगारी सृजना गर्नमा केन्द्रित भएको बताउनुभयो ।
देशमै रोजगारी नहुँदा युवा खाडी मुलकमा गएर जोखिम मोलेर कार्य गरिरहेको उल्लेख गर्दै मन्त्री कार्कीले त्यसको अन्त्यका लागि सरकार विभिन्न किसिमको काम गरिरहेको बताउनुभयो । स्वदेशमै रोजगारीको सृजना नहँुदा युवायुवती विदेश जान बाध्य भएको उहाँको भनाइ थियो । मुलुकलाई विकसित गर्न सबै मिलेर देशबाट बेरोजगारी र गरिबी अन्त्य गर्न आवश्यक भएको मन्त्री कार्कीले बताउनुभयो ।
कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी प्रमुख प्रभुप्रसाद ढकाल तथा सरोकारवालाको सभागिता थियो ।
यसैबीच मन्त्री कार्कीले आजै बाढीपीडित क्षेत्रको निरीक्षण गर्नुभएको छ । केही दिनअगाडि सप्तकोसी नदीले बहाव परिवर्तन गर्दा सुनसरी बराहक्षेत्र नगरपालिका–६ र ८ मा बाढीबाट प्रभावित क्षेत्रको उहाँले निरीक्षण गर्नुभएको हो ।
उक्त क्षेत्रलाई मन्त्रिपरिषद् बैठकले सङ्कटग्रस्त क्षेत्रका रुपमा घोषणा गरिसकेको जानकारी दिनुहुँदै मन्त्री कार्कीले आवश्यक राहतका लागि काम भइरहेको बताउनुभयो ।


