छथरजोरपाटीमा एमालेको पालिका स्तरिय वृहत् भेला सम्पन्न
धनकुटा । छथरजोरपाटी गाउपालिकामा आज एमाले पार्टीको पालिका स्तरीय वृहत् भेला सम्पन्न भएको छ ।
एमाले गाउँ कमिटी अध्यक्ष ईन्द्र सारु मगरको अध्यक्षता , नेकपा एमाले केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज संघीय उम्मेदवार राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यमा आगामी मंशिर ४ को संघ र प्रदेश निर्वाचनको तयारी सम्बन्धमा महत्वपूर्ण निर्णय गर्दै भेला सम्पन्न भएको हो ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले आगामी संघ र प्रदेश सभा निर्वाचनको तयारीमा सबै कार्यकर्तालाई जुट्न आह्वान गर्नुभयो । उहाले निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्ने गरी तयारीमा लाग्न सम्पूर्ण संगठन आबद्ध नेताकार्यकर्तालाई आग्रह गर्नु भयो ।
एमाले नेतृत्वमा सरकार गठन नभएसम्म जनताले परिवर्तनको अनुभूति गर्न नपाउने बताउँदै एमाले संघका उम्मेदवार राईले सुशासन सहितको समृद्ध नेपाल समृद्ध धनकुटा निर्माणका लागि आगामी निर्वाचनमा एमाले उम्मेदवारहरुको जित सुनिश्चित हुनुपर्ने बताउनुभयो ।
भेलामा नेकपा एमाले जिल्ला पार्टी अध्यक्ष तथा प्रदेश निर्वाचन क्षेत्र नं ख का उम्मेदवार ईन्द्रमणी पराजुलीले पनि आफुले ५ वर्षे कार्यकालमा धेरै काम गर्न सफल भएको दावि गर्दै बाकी रहेका अधुरा काम पूरा गर्न एमालेलाई जिताउन आवश्यक रहेको बताउनु भयो ।
उहाले गठबन्धन बाट देश विकास नहुने प्रमाणीत भईसकेकाले मंसिर ४ पछि देश विकास नचाहाने विभिन्न तत्वहरुलाई किनारा लगाएर एमाले सरकार आउनु बाहेक देशको लागि विकल्प नरहेको बताउनुभयो । समानुपातिक उम्मेदवार शिव आङला लिम्बूले पनि सबै नेता कार्यकर्ता हरुलाई युद्व स्तरमा निर्वाचन होमिन निर्देशन दिनु भयो ।
भेलामा पार्टी जिल्ला कमिटी सचिवालय सदस्य पालिका निर्वाचन परिचालन संयोजक सेर बहादुर लिम्बू जिल्ला कमिटी सदस्य, पालिका पदाधिकारी, जनवर्गीय संगठनका पदाधिकारी, तथा सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन गाउँ कमिटी सचिव निल बहादुर थापाले गर्नु भएको थियो ।


