तिहार संगै धनकुटा सदरमुकाम सुनसान
धनकुटा,९ कार्तिक । विजया दशमी पछि तिहारको केहि दिन चहलपहल भएको धनकुटा सदरमुकाम पुन: सुनसान भएको छ ।
हिन्दु नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार मनाउँन अध्यायन, व्यापार व्यावसाय, नोकरी लगायतका काममा सदरमुकाम बसेकाहरु घर तथा अन्य स्थान तर्फ लागे संगै बजार सुनसान भएको हो ।
बजारमा भिलिमिली वतिले चोक, सडक उज्याले भए पनि मानिसको चहल पहल भने घटेको हो । दशैं मनाउँन गाउँघर गएकाहरु तिहार पछि मात्र फर्किने भएकाले तिहार पछि भने चहल पहल बढ्ने गर्दछ ।



यो पनि…
भैरहवामा दुई सय बढीको म्हः पूजा
भैरहवा, ९ कात्तिक (रासस) :नेपाल संवत् ११४३ को अवसरमा शुभकामना आदान–प्रदानका साथै भैरहवामा दुई सय बढीको म्हः पूजा गरिएको छ । नेवार समुदायमा मनाइने नेपाल संवत्का अवसरमा नेवाः खलः सिद्धार्थनगरले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उपस्थित सबैको म्हः पूजा गरिएको हो । सोही कार्यक्रममै गृहमन्त्री बालकृष्ण खाणको पनि म्हः पूजा गरिएको छ ।
म्हः पूजा चन्द्रमानक नेपाल संवत्अनुसारको नयाँ वर्षको सुरुआत कछलाथ्व पारु (कार्तिक शुक्लपक्ष प्रतिपदा) तिथिका दिन नेवार समुदायले मनाउने पर्व भएको नेवाः खलः सिद्धार्थनगरका पूर्वअध्यक्ष विजयगोविन्द श्रेष्ठले बताउनुभयो । यस पर्वमा हिन्दू तथा बौद्ध दुवै समुदायका नेवारहरूले आफूले आफैँलाई पूजा गरी सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्ने गरिन्छ । यसका लागि परिवारका सबै सदस्यहरू अनिवार्यरूपमा एकै ठाउँमा बसी आफूलाई मण्डलमा प्रतिबिम्बित गरी आफैँले आफ्नो पूजा गर्ने गरिएको श्रेष्ठले बताउनुभयो । यस दिन आफ्नो प्रतिबिम्ब सार मण्डलमा चित्रित गरी आफूलाई चिन्ने ज्ञानदर्शन प्राप्त गरी जीवन सुख आनन्दमय बनाउने र सुस्वास्थ्य दीर्घायुको कामना गर्ने गरिएको छ ।
श्रेष्ठका अनुसार नेवारी भाषामा म्हः भनेको शरीर हो । आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष रहेको छ । समग्र देवता ऊर्जा शक्ति विश्व ब्रम्हाण्ड मानव शरीरभित्र रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफैँ अघि सर्नुपर्ने परम्पराका रूपमा यो पर्व विकास भएको श्रेष्ठले बताउनुभयो ।
नेपाल संवत् र विक्रम संवत्मा २४ दिनको मात्र फरक परेता पनि नेपाल संवत्लाई नेवारी समुदायको मात्र रहेको भन्दै यसलाई हेयको दृष्टिले हेर्ने गरेको नेवारी अगुवाहरूको गुनासो छ । नेवार अगुवा विजयगोविन्द श्रेष्ठले विक्रम संवत् भारतबाट आयतित संवत् भएकाले यसको सट्टा नेपाल संवत्लाई राष्ट्रिय संवत्को रुपमा मान्यता दिनुपर्ने बताउनुभयो ।
गृहमन्त्री खाणले यस विषयमा छलफल अगाडि बढाउने बताउनुभयो । उहाँले कवि र साहित्यकारहरू देश र समाजको प्रतिबिम्ब भएको उल्लेख गर्नुभयो । नेपाल संवत्का प्रवर्तक राष्ट्रिय बिभूति शङ्खधर साख्वाःलाई सम्झिँदै उहाँले जुनसुकै भाषाको भए पनि साहित्यकारहरू नेपालको गहना रहेको बताउनुभयो ।
फरक प्रसङ्गमा बोल्दै मन्त्री खाणले नेपालले पटक–पटक विपद्हरू भोगेको र यसको मार अहिलेसम्म परिरहेको बताउनुभयो । उहाँले कोभिडको समयमा देखिएको समस्याको असर अहिले अर्थतन्त्रमा परेको बताउनुभयो । “कोभिड महामारीकै बीचमा बंैक ब्याजहरू नियन्त्रण गरिने काम भयो, तर यसको असर अहिले कोभिड महामारी सकिएपछि देखिँदैछ”, खाणले भन्नुभयो, “म नेपालका बैंकहरूलाई आग्रह गर्न चाहन्छु, नेपालका उद्योगी र आम नागरिकको जीवन सहज भयो भने मात्र बैंकलाई प्रतिफल दिइरहने भएकाले बैंकहरू यस विषयमा गम्भीर हुनुपर्छ ।”


