वेप कार्यक्रममा सहभागी बिद्यार्थी दाहालको बिदाई
धनकुटा खबर संवाददाता । रुम्जाटार माध्यमिक बिद्यालय ओखलढुंगाबाट तेखिमे कृषि परामर्श सेवा फर्म धनकुटा १, हिलेमा कार्य अनुभव कार्यक्रम वेपका लागि ३ महिने कार्यक्रम सकेर बिद्यार्थी सुभम दाहाल आज औपचारिक रुपमा बिदाई भएका छन । बिदाई कार्यक्रमको आयोजना संयुक्त महिला समुह नामक संस्थाले गरेको हो ।

कार्यक्रममा शिक्षाशास्त्री बिश्वनाथ दाहालले कृषि पढ्ने बिधार्थीहरु यसरी सामुदायिक ठाँउहरुमा ईन्टनसीप गर्न आउदा आर्थिक गतिबिधि बढ्नुका साथै हिलेको नाम चारैतिर फैलिई सकारात्मक सन्देश जाने हुंदा हिलेका ग्रामीण समुदायलाई धेरै फाईदा पुग्ने धारणा ब्यक्त गर्नुभयो । यसप्रकारका कार्यहरुमा हिलेका संस्थाहरु निरन्तर लाग्नुपर्ने कुरामा समेत जोडदिनु भयो ।
वेप कार्यक्रम सकेर बिदाई हुदै गर्दा बिद्यार्थी दाहालले आफुले आफनो साथीहरुले गरेको ईन्टनसीप भन्दा फरक अनुभव लिने अवसर पाएको र यसबाट धेरै बिषयहरु सिकेर जान सकेकोमा गर्व गर्दै धनकुटा र ओखलढुंगा बीच कृषि क्रान्तिका लागि आफु सदैव सहज र कार्यमा सहभागी भईरहने प्रतिबद्धता ब्यक्त गर्नुभयो । आफु पढेको बिधालयका अब पढ्ने भाई बहिनीहरुलाई कृषि अध्ययन भ्रमणका लागि धनकुटा उपयुक्त रहेको र सामुदायिक खालका वेप कार्यक्रम संचालन हुने भएकोले यही ठाँउ सिफारिस गर्ने बचन समेत ब्यक्त गर्नुभयो ।

तेखिमे कृषि परामर्श सेवा फर्मका अध्यक्ष जीवनप्रसाद राई द्धारा संचालन भएको उक्त कार्यक्रममा संयुक्त महिला समुहका अध्यक्ष पार्वती श्रेष्ठ, उपाध्यक्ष कमला दाहाल, सदस्यहरु देविका बराल, अन्जना खड्का केसी, मन्जु भण्डारी, निता रायमाझी तथा बिधार्थीको (घरबास) ब्यवस्थापनमा संलग्न रुकमिणी पौडेलको समेत उपस्थिति रहेको थियो । कार्यक्रम होटल देउराली एण्ड लज तोङबाचोक हिलेमा भएको थियो ।

यो पनि…
डोटीमा बढ्दै व्यावसायिक सुन्तलाखेती
दिपायल, १६ कात्तिक (रासस) ःदिपायल र डोटीमा कृषकले व्यावसायिक सुन्तलाखेती बढाएका छन् । थोरै लगानीको सजिलो खेती र राम्रो आम्दानी हुने भएकाले अन्य पेसा–व्यवसायमा संलग्न व्यक्ति पनि व्यावसायिक सुन्तला खेतीमा सहभागी भएका छन् ।
यहाँका किसानले परम्परागतरुपमा गरिँदै आएको सुन्तला खेतीलाई व्यवसायीकरण गर्न थालेका छन् । डोटीको बडीकेदार गाउँपालिका–२ का तारा मटेलीले व्यावसायिकरुपमा सुन्तला खेती गर्दै आएका छन् । उहाँले आफ्नो जमिनमा सानाठूला गरी सुन्तलाका करिब पाँच सय बोट लगाएका छन् । बाबुबाजेले अन्नबाली लगाउँदै आएको जमिनमा चाहेजस्तो आम्दानी नभएपछि सुन्तलालाई खेती गरी वार्षिकरुपमा रु सात लाखदेखि नौ लाखसम्म आम्दानी हुँदै आएको उहाँले बताउनुभयो ।
विभिन्न निकायको सहयोगमा सुन्तलाखेती फस्टाउनसमेत सहयोग भएको उहाँको भनाइ छ । “फलफूल बिक्रीवितरणबाटै घरपरिवार चलाएको छु”, उहाँले भन्नुभयो, “राम्रो आम्दानी हुन थालेपछि यसलाई व्यवसायीकरण गरेको हुँ ।” यस वर्ष भने असिनाले दानामा असर गर्दा उत्पादनमा कमी आउने उहाँको भनाइ छ ।
अन्य खेतीमा पटकपटक मेहनत गर्नुपर्ने भए पनि सुन्तलाखेतीमा वर्षका एक÷दुईपटक मलजल गरेपछि राम्रै फल पाइने बडीकेदार गाउँपालिका–४ का किसान चक्र जेठराले बताउनुभयो । उहाँले हाल बारीमा सानाठूला गरी सात सय वटा सुन्तलाका बोट रोपेको र वार्षिकरुपमा सात लाख आम्दानी गरिरहेको बताउनुभयो । सडकको पहुँचबाट टाढा रहेको सो गाउँमा हाल उहाँले आफ्नो रु चार लाख लगानीमा सडक निर्माण गरी उत्पादन गरिएका सबै वस्तुले सहजरुपमा बजारमा लैजाने सकिरहेको बताउनुभयो ।
स्थानीय स्थरमा उत्पादन गरिएका सबै वस्तुलाई बजारसम्म लैजान र बजारीकरण बनाउन पहल भइरहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउँदले बताउनुभयो । साथै स्थानीय सरकारले सडक नजोडिएको स्थानमा सडक जोड्ने र कृषि उत्पादन हुने क्षेत्रमा कृषि पकेट क्षेत्र बनाइ लगानी गर्ने उहाँको भनाइ छ ।
यससँगै डोटीका जोरायल , बोगटान फुड्सिल र बडीकेदार गाउँपालिकालाई सुन्तला जोन क्षेत्र घोषण गरिएको कृषि ज्ञानकेन्द्रका प्रमुख नरेन्द्र पनेरुले बताउनुभयो ।
साथै यस क्षेत्रमा परम्परागतरुपमा रहेका सुन्तला खेतीलाई पछिल्लो समय व्यावसायिकीकरण गरिँदै आएको र यसलाई थप आधुनिकीकरणका लागि पहल भइरहेको उहाँले बताउनुभयो ।


