शहिद प्रकाश थापा तेस्रो स्मृति कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको विजेता नेपाल प्रहरी
नरेन्द्र कश्चित,धनकुटा । धनकुटाको सहिदभुमि गाउँपालिका वडा नं १ घगंरुमा आयोजित शहिद प्रकाश थापा तेस्रो स्मृति कप १ नं प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा १ नं प्रदेश प्रहरी कार्यालय बिराटनगर विजयी भएको छ ।
नेपाल प्रहरी र सभापोखरी गाउँपालिका संखुवासभा विच भएको फाइनल खेलमा पहिलो सेट २६-२४ ले नेपाल प्रहरी सभापोखरी संखुवासभासँग पराजित भएको थियो ।त्यस्तै दोस्रो सेटदेखि लगातार खेललाई आफ्नो नियन्त्रणमा लिदै नेपाल प्रहरीले २५-१७,२५-१९,२५-२२ ले सभापोखरी संखुवासभालाई पराजित गरेको थियो ।
सभापोखरी गाउँपालिका संखुवासभालाई पराजित गरेसँगै नेपाल प्रहरीले नगद रु १ लाख ५ हजार ५ सय ५५ रुपैया ट्रफी,मेडल र प्रमाणपत्र हात पारेको छ भने उप-विजेता बनेको सभापोखरी गाउँपालिका संखुवासभाले नगद रु ५५ हजार ५ सय ५५ ,ट्रफी,मेडल र प्रमाण-पत्र प्राप्त गरेको छ । हिजो भएको फाइनल खेलमा नेपाल प्रहरीका देवेन्द्र लिम्बू सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
सर्वोत्कृष्ट खेलाडी घोषित लिम्बुलाई नगद रु ५ हजार ५ सय ५५, मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो । यसैगरि सभापोखरी गाउँपालिका संखुवासभाका शम्भु कट्टेल उत्कृष्ट स्पाईकर,उत्कृष्ट सभर्र राजेश गुरुङ घोषित भए ।
उत्कृष्ट घोषित कट्टेल र गुरुङलाई जनही नगद रु २ हजार,प्रमाणपत्र,मेडल प्रदान गरिएको थियो । त्यस्तै नेपाल प्रहरीका उत्कृष्ट ब्लकर अम्बिका खत्री,उत्कृष्ट सटर बिपिन पोख्रेल,उत्कृष्ट डिफेन्डर युगल मगर घोषित भए ।उत्कृष्ट घोषितलाई जनही नगद रु २ हजार,प्रमाणपत्र,मेडल प्रदान गरिएको थियो ।
सहिद प्रकाश थापा स्मृति ट्रष्ट सहिदभूमि गाउँपालिका वडा नं १ को आयोजनामा खुल्ला पुरुष भलिबल प्रतियोगितामा १२ वटा टिमहरु मध्ये नेपाल प्रहरी र सभापोखरी गाउँपालिका संखुवासभा फाइनलमा प्रवेश गर्न सफल भएका थिए ।
फाइनल खेल खेलाउनु अघि धनकुटा र भोजपुरका महिलाहरुको मैत्रीपूर्ण भलिबल खेल समेत खेलाइएको थियो । विजेता नेपाल प्रहरी र उप-विजेता सभापोखरी गाउँपालिका संखुवासभाका खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि १ नं प्रदेश संसद इन्द्रमणी पराजुली,शहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई,उपाध्यक्ष रत्नश्वरी राई,वडा नं १ का वडाध्यक्ष रमेश राई,वडा नं ७ का वडाध्यक्ष बम बहादुर राई लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।
पुरस्कार वितरण समारोहमा बोल्दै प्रमुख अतिथि १ नं प्रदेश संसद पराजुलीले भलिबल खेलले राम्रो खेल्दै गएमा अवसर समेत प्राप्त गर्न सकिने बताउनु भयो । पहिला पहिला यस्ता प्रतियोगिताहरु कम हुने गरेको बताउदै संसद पराजुलीले आजकाल धेरै ठाँउमा यस्ता प्रतियोगिताको आयोजना हुने गरेकोले खेलमा अवसर भएको बताउनु भयो । भलिबल खेलमा सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरिएको थियो ।


