अशक्त ब्यक्तिको सशक्त कर्म
जीवनप्रसाद राई । मानिस मानसिक रुपमा सशक्त भयो भने सशक्त ब्यक्तिहरुले भन्दा पनि असक्त ब्यक्तिहरुले राम्रो भन्दा राम्रो कर्म गरेका धेरै उदाहरणहरु हामीले देखेका छौ । यस्तै एक उदाहरण हो साँगुरीगढी गाँउपालिका वडा नम्बर ८ ढुंगेका परम्परागत मौरीपालक कृषक रामप्रसाद राई ।

उनी साउदी र कतारमा १३ बर्ष लामो बैदेशिक रोजगारीमा जीवन बिताए । ग्याँस प्लाण्टमा काम गर्ने सिलसिलामा उनलाई उच्चरक्तचापको बिरामी हुन थाले । यसपछि स्वदेश फर्केर आए । घर आएको केही समयपछि नै उनलाई उच्चरक्तचापको बिरामीका कारण असक्त बन्न पुगे । धेरै ठाँउमा उपचारका लागि धाए र लाखौ लाख रुपियाँ खर्च गरे तर उनको दाहिने हात ठीक भएन ।
तर उनले हिम्मत हारेनन र परम्परागत रुपको मौरीपालन ब्यवसायलाई अंगाले । हाल उनी संग ५० घार मौरी रहेका छन । त्यसमध्ये ३० वटामा मौरीका गोलाहरु रहेका छन । बर्षमा ३ पटक मह निकाल्दै आएका उनले बार्षिक रुपमा १ लाख रुपियाँ भन्दा बढी आम्दानी गर्ने गर्दछन । उनी दिनभर जंगलमा मौरीको गोला समात्ने र मौरीको घार बनाउने काममा सक्रिय रहन्छन् । कुनै बिशेष काम वा बर्षादको समयमा मात्रै घरमा भेटिन्छन ।

समाजमा रहेका हामी आम नागरिकहरु सबै कुराको सुविस्ता हुदाँ र शरिरीक रुपमा दुरुस्त हुंदा पनि रामप्रसाद राई जतिको कर्म गर्न नसक्दा हामीलाई कर्म गर्नका लागि आफ्नै विबेकले छेकेको जस्तो लाग्छ । समाजलाई गतिशील बनाउने र स्वादेशमै कर्म गरे यसबाट समाज रुपान्तरणमा महत्वपुर्ण योगदान पुग्न सक्छ भन्ने बिषयमा रामप्रसाद राईले बाटो देखाएका छन ।
उनको कर्म र संभावना
रामप्रसाद राईको कर्मले साँगुरीगढी गाँउपालिका वडा नम्बर ८ ढुंगेमा किराँती संस्कार सहितको चिउरी मौरी पर्यटनको संभावना राम्रो रहेको छ । लोप हुदै गरेको यो प्रकारको मौरीपालनलाई यथावत नै राख्दै आधुनिक घारहरुमा समेत मौरी पालेर तुलनात्मक रुपमा शिक्षण गर्ने गरिको पर्यटनको बिकास गर्न सकिने संभावना निकै राम्रो रहेको छ ।
प्रदेश सरकार तथा गाँउपालिकाले यसलाई प्राथमिकतामा राखेर कार्य गर्ने हो भने यो क्षेत्रको समग्र बिकासमा निकै महत्वको परियोजना संचालन हुदै धेरै रोजगारीको सिर्जना हुनेछ । यदि यसो हुन सकेमा असलमा राम प्रसाद राईको कर्मलाई सम्मान गरिएको हुनेछ । उनको कर्मलाई हामी सबैले सम्मान गरौ र अरुलाई समेत प्रेरणा प्रदान गरौ ।



