जङ्गली कच्चा पदार्थलाई आयसँग जोड्दै व्यास नगरपालिका

मिला दरै/डुम्रे, १ जेठ (रासस) ः आठ महिने काखे बच्चा च्यापेर सीप सिक्नमा व्यस्त हुनुहुन्छ तनहुँको व्यास नगरपालिका–१३ का मेनुका आले । आफूमा सीप भए आयस्तर बढाउन सजिलो हुन्छ भनेर काखे बच्चा च्यापेर नै सीप सिक्दै गरेको उहाँले बतानुभयो ।

“एक महिनाको प्रशिक्षण वडा दिनेभन्दा सिक्ने समय लामो भयो भनेर बच्चा छोडेर जाँदा गाह्रो हुन्छ लागेको थियो, सिक्दै जाँदा आम्दानीसँग सीधा जोडिँदा आकर्षित ग¥यो”, उहाँले भन्नुभयो, “कहिले आफैँले च्यापेर सिक्न आउने त कहिले घरमा छाडेर आउने गरेको छु, सीप सिक्न न त उमेरले छेक्ने न त अन्य कुनै चिजले ।”

बच्चा सानो भए पनि सीप सिकेँ, अब यसलाई निरन्तरता दिएर आय बढाउने सोच बनाएको उहाँको भनाइ छ । “वनजङ्गलमा खेर जाने वस्तुबाट हामीले आम्दानी गर्न सक्ने रहेछौँ, तर हामी घाँस बाहेक केही होइन भन्दै बसिरहेका रहेछौँ, हामीले कमाउने वस्तुहरु कुहिएर जाने रहेछन्, अब यसलाई ल्याएर आम्दानीको स्रोत बढाउने प्रयासमा हुनेछौँ, सिकेको सीपलाई निरन्तरता दिएर आम्दानी बढाउने हो”, उहाँले भन्नुभयो ।

“हामीले वातावरणमा जलवायुमा प्रदूषण फैलिएको भन्ने सुनेका छौँ, यसलाई सहयोग पुग्छ भनेर थाहा पाएका छौँ, जङ्गली कच्चा पदार्थले प्रदूषण हुन पनि दिँदैन, यसको प्रयोगलाई बढाउने र हाम्रो पनि दायित्व हो वातावरण सफा बनाउने भनेर बझ्यौँ, यसले अझ आकर्षित गरेको छ”, उहाँले भन्नुभयो ।

त्यस्तै अस्मिता परियार पनि नौ महिने काखे बच्चा च्यापेर नै सीप सिकेर आर्थिक उन्नतिमा जोडिने प्रयास हुनुहुन्छ । केही बेर सुतिहाल्छन् त्यो बेला सुतेको बखत सिक्न सजिलो हुने उहाँले बताउनुभयो । “घरमा कुरा गरेर खेर गएको समय उपयोग गर्न पाइने भएपछि सीप सिक्न आएको हो, बच्चाको पढ्ने बेलामा आफैँले आम्दानी गर्न सक्छु र खर्चको जोहो गर्ने सोच बनाएको छु”, उहाँले भन्नुभयो ।

त्यसैगरी सुनिता परियार पनि १६ महिने काखे बच्चा च्यापेरै सीप सिक्न लागिपर्नुभएको छ । यो सीप सिकेपछि आफैँले बजार खोज्नुपर्ने बाध्यता नहुँदा काम सिक्न पनि जाँगर आएको उहाँले बताउनुभयो । “वडाध्यक्ष ज्युले हामीले बनाएका सामनको माग भइरहेको बताउनुभएको छ, धेरै ठाउँमा हामीले बनाएका सामन पुग्ने भएको छ भन्नुहुन्छ, सिक्दैमा पनि आम्दानी हुन्छ भन्नुभयो, अब हामीले बनाएका सामान पठाउने भन्नुभएको छ, अनि त्यो त हामीलाई आम्दानी भयो नि”, सुनिताले भन्नुभयो ।

व्यास नगरपालिका–१३ वडा कार्यालयको आयोजना र ओम राजश्री एग्रो प्रालिको प्राविधिक सहयोगमा ‘स्थानीय स्रोत र साधन, रोजगारी सिर्जनाको प्रमुख आधार’ भन्ने नाराका साथ महिलालाई प्राकृतिक रेसाजन्य वनस्पती थाकलबाट हस्तकलाका विभिन्न सामग्री उत्पादन गर्ने प्रशिक्षण दिएको छ । जसले महिलालाई उत्साहित पनि बनाएको छ । तीस दिने प्रशिक्षणले महिलालाई आत्मनिर्भरतातर्फ अगाडि बढाउने उद्देश्यले प्रशिक्षण दिएको वडाध्यक्ष वसन्तबहादुर आलेले बताउनुभयो ।

वनजङ्गलमा कुहिएर खेर जाने कच्चा पदार्थको उपयोग हुनुका साथै महिलालाई आम्दानीसँग जोड्ने प्रयासमा रहेको उहाँले बताउनुभयो । “विशेष गरी महिलाले निर्माण गरेका वस्तुको माग मुलुकका विभिन्न स्थानबाट माग भइरहेको छ, तर हामीले वैदेशिक मुद्रा आयात गर्ने हिसाबले विदेश निर्यातलाई जोड्ने छौँ”, वडा अध्यक्ष आलेले भन्नुभयो, “विश्वका अधिकांश देश आर्थिक सङ्कटमा पुगेको छ, यस्ता प्राकृतिक वस्तुको बिक्री वितरणले देश तथा वडामा विदेशी मुद्रा आयातमा जोड दिएका छौँ, युवाले सोचेर गरेका कामले नै आर्थिक समृद्धि सम्भव छ र गर्नुपर्छ ।”

यहाँ उत्पादन भएका सामग्री थाकलबाट बनेका टोपा र झोलाको पोखरा, काठमाडौँ, तराई क्षेत्रलगायतका पर्यटकीय स्थानबाट माग गरिरहेका उहाँले बताउनुभयो । प्राथमिकता विदेशलाई दिए पनि उत्पादनलाई बढाउन सके स्वदेशका बजारमा पनि यहाँका सामग्री पु¥याउने जमर्कोमा जुटेका उहाँले बताउनुभयो ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेले आर्थिक सङ्कटको व्यवस्थापन र पूर्तिलाई सहज बनाउन नगरपालिकाका वडामा खेर जाने कच्चा पदार्थको प्रयोगबाट उत्पादन वृद्धि गरी आर्थिक सञ्चितिमा जोड दिएको बताउनुभयो ।

“यसले नगरपालिकाभित्र विदेशी मुद्रा आयात गर्छ, प्रथमतः सीप उपयोग गर्ने महिला आर्थिक समृद्ध हुन्छन्, त्यसपछि वडा हुँदै नगरपालिका र देश नै आर्थिक समृद्धितर्फ जानेछ, यस्ता वस्तुको उत्पादनमा जोड दिनु आवश्यक ठानेर यो प्रशिक्षण दिने सम्झौता गरेका हौँ, युवा महिलाको आकर्षणले पनि थप ऊर्जा मिलेको छ”, नगर प्रमुख न्यौपाने भन्नुभयो ।

“बजारीकरणको अभाव हुनेमा कुनै सङ्कोच मान्नुपर्दैन, उत्पादन तपाई गर्नुहोस् यसको बजारीकरणमा हाम्रो समन्वय रहनेछ”, उहाँले भन्नुभयो, “यो प्रशिक्षणले महिलालाई उद्यमशीतातर्फ उन्मुख बनाउनेछ, यो सीपले विदेशबाट आयातित कच्चा पदार्थ नभई स्थानीयस्तरका कच्चा पदार्थको उपयोग गरी वातावरणमैत्री बनाउन सहयोग पुगेको छ ।”

व्यास नगरपालिकाले ५ र १३ नम्बर वडामा स्थानीय कच्चा पदार्थ प्रयोगबाट उत्पादन गर्ने प्रशिक्षण दिएर आर्थिकस्तर वृद्धिमा जोडिएका उहाँले बताउनुभयो । नगर प्रमुख न्यौपानेका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा व्यासका अन्य वडामा पनि यस्ता प्रशिक्षण दिएर उत्पादन वृद्धि र विदेशी मुद्रा सिञ्चितिमा अगाडि बढ्ने योजना रहेको छ । वडामा हुने कच्चा पदार्थको उत्पादनअनुसार प्राथमिकता दिएर प्रशिक्षण दिई उद्यमशीलतातर्फ जोड्ने र आर्थिक वृद्धि गर्ने प्रयासमा लागिपरेको उहाँले बताउनुभयो ।
नगर उपप्रमुख इन्दिरा दरैले ५० प्रशिशत महिलालाई अधिकार प्राप्त भएको अवस्थामा आर्थिक समृद्धितर्फ अग्रसर हुन आवश्यक रहेको बताउनुभयो । “महिलाबाट नै आर्थिक सशक्तीकरण जागरण गरी आर्थिक उन्नति गर्नुपर्ने उपप्रमुख दरैले भन्नुभयो, “जिम्मेवारी हाम्रो पनि छ भनेर सीपको उपयोग गरी आयस्तर वृद्धि गर्नुपर्छ ।”

ओम राजश्री एग्रो प्रालिका सञ्चालक युवराज गैह्रेले महिला सशक्तीकरणका कार्यक्रम गरिए पनि आर्थिक सशक्तीकरणमा महिलालाई जोड्नबाट चुकेको बताउनुभयो । महिलाबाट नै आर्थिक सशक्तीकरण हुन सके आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भनेर पाँच वर्षदेखि स्थानीयस्तरमा पाइने कच्चा पदार्थको सामग्री उत्पादन र विदेशमा निर्यात गर्दै आएको उहाँले बताउनुभयो ।

“स्थानीय कच्चा पदार्थबाट सामग्री उत्पादन हुन्छ, जसले गर्दा कच्चा पदार्थमा लगानी गर्नु पर्दैन, जङ्गलमा खेर गएका कच्चा पदार्थ उपयोग हुन्छ, आयातित कच्चा पदार्थ होइन, स्थानीयस्तरका थाकल, मकैको खोस्टा, गहुँको छ्वाली, बाँसको प्रयोगबाट प्रशिक्षण र स्रोतको पनि उपयोग गर्ने गरी सिकाइ आवश्यक भएकाले प्रशिक्षण दिँदै आएका छौँ, कम लगानीमा उत्पादन गरी विदेशी मुद्रा आर्जन गर्नुपर्छ, त्यसको समन्वय गरिरहनेछु”, गैह्रेले भन्नुभयो ।

कच्चा पदार्थ सहजरुपमा पाइने, कच्चा पदार्थ सङ्कलन गर्ने, प्रतिक्विन्टल रु २० हजारमा बिक्री वितरण गर्न सकिने उहाँले बताउनुभयो । उद्यमीलाई सहज बनाउने उद्देश्यले तनहुँमा नै सङ्कलन केन्द्र स्थापना गर्ने योजना बनाइएको उहाँले जानकारी गराउनुभयो । स्थानीयस्तरमा रहेका स्रोत र साधनको अधिकतम उपयोग गरी सङ्कटग्रस्त आर्थिक अवस्थामा उद्यमशीलतातर्फ उन्मुख हुनुपर्नेमा उहाँको जोड थियो । प्रशस्त वनजङ्गलमा रहेका कच्चा पदार्थको उपयोग हुनेछ ।

व्यासमा उत्पादित वस्तु थाकलबाट बनेका टोपा, झोला, पेपल, गमला, फूलदानी, ढकिया, टे«लगायतका सामग्री बनाउन सकिन्छ । यस्ता सामग्री निर्माणले जङ्गलमा खेर गएका कच्चा पदार्थको मूल्य र व्यवसाय नै हुने भएको छ ।

थाकल, मकैको खोस्टा, गहुँको छ्वाली, बाँसबाट निर्माण गरिएका पेपल, गमला, फूलदानी, ढकिया, टे«लगायतका सजावटका सामग्री अहिले स्थानीय बजारभन्दा पनि बढी अन्तर्राष्ट्रिय बजारमा माग बढी रहेको छ ।

यहाँ उत्पादित वस्तु जापान, युएई (दुवाई), ट्युनिसियालगायत नेपालका पर्यटकीयस्थलबाट माग हुने गरेको छ । यस्ता वस्तु उत्पादन र विदेश निर्यात गर्नसके विदेशी मुद्रा आयतमा वृद्धि हुने अपेक्षा वडा र नगरपालिकाले लिएको छ । वडामा उत्पादित सामग्रीको प्रवद्र्धनमा पनि वडा र नगरपालिकाले महत्वपूर्ण र अर्थपूर्ण भूमिका रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।