कोशी प्रदेशको नाम पुन:नामांकन गर्न पहिचानवादीहरुको माग
धनकुटा । पहिचान पक्षधरहरुले जबर्जस्ती रुपमा राखिएको प्रदेशको कोशी नाम खारेज गर्न माग गरेका छन् । प्रदेश नं १ पुन:नामांकन संयुक्त संघर्ष समिति धनकुटाको आयोजनामा धनकुटामा सञ्चालित कार्यक्रममा बोल्दै उनिहरुले त्यस्तो माग गरेका हुन् ।
किरात याक्थुम चुम्लुङका संस्थापक अध्यक्ष नन्द कन्दङ्वाको प्रमुख आतिथ्य तथा किरात राई यायोख्खा जिल्ला कार्य समिति धनकुटाका अध्यक्ष उद्धवमणी राईको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा पहिचान पक्षधरहरुले अहिले जबर्जस्ती रुपमा राखिएको प्रदेशको नाम खारेज गरि यो प्रदेशका नागरिकहरुको धार्मिक,सामाजिक संरचना तथा पहिचानको आधारमा पुन:नामांकन गर्नुपर्ने बताएका छन् ।
उनिहरुले प्रदेशको नाम कोशी राख्ने सरकारलाई पहिचान विरोधीको संज्ञा दिदै सो सरकारले संविधानको समेत बर्खीलाप गरेर जबर्जस्ती प्रदेशको नाम राखेको बताएका छन् ।
कार्यक्रममा बोल्ने वक्ताहरुले चुनावको वेला न कुनै राजनीतिक दलले भोट माग्दा प्रदेशको नाम कोशी राख्छौ भनेर भोट मागेको न घोषणा पत्र बनाएको न त आफुहरुले नै त्यो नाम राख्न भनेर भोट दिएको भन्दै बहुमतको आडमा जबर्जस्ती प्रदेशको नामांकन गरिएकोले त्यो आफुहरुलाई मान्य नहुने बताएका छन् ।
उनिहरुले दमक रंगशाला, सुकेटार विमान स्थल,मुकुम्लुङ पाथिभरा मन्दिर जस्ता पुरातात्विकक तथा धार्मिक स्थलहरुको नामांकनलाई आधार बनाएर सरकारले आफुहरुको पहिचान नामेट गर्दै लगेको बताएका छन् । त्यसैले आफ्नो पहिचानका लागि आफुहरु आन्दोलित हुन बाध्य भएको उनिहरुको भनाई छ ।
वक्ताहरु यो पहिचानको आन्दोलनमा मानशिक,शारिरीक र वौद्धिक रुपमा होमीन सम्पूर्ण पहिचानवादी पक्षधरलाई आह्वान समेत गरेका छन् । उनिहरुले किरात भन्ने शब्दलाई जातीगत हिसाबले व्यख्या गरि भ्रम र्सिजना गर्ने गरिएको भन्दै किरात शव्द सभ्यता हो भनि बुझ्न जरुरी रहेको समेत बताएका छन् । त्यसैले किरात भित्र राई मात्र नभई अन्य जातीहरुपनि पर्ने उनिहरुले बताएका छन् ।
कार्यक्रमलाई प्रमुख अतिथी किरात याक्थुम चुम्लुङका संस्थापक अध्यक्ष कन्दङ्वा,प्रदेश पुन:नामांकन संघर्ष समितिका महासचिव रामभक्त कुरुम्वाङ,नेपाल आदीवासी जनजाती जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष सञ्जयसन्तोषी राई सहित किरात राई यायोख्खाका पालिका अध्यक्षहरु,किरात याक्थुमचुम्लका जिल्ला तथा नगर अध्यक्ष एवम् पदाधिकारीहरुले सम्बोधन गरेका थिए ।


