यूएईबाट २५ नेपाली श्रमिकको याचना- कम्पनीले धोका दियो,हामी सम्पर्कविहीन हुँदैछौँ
काठमाडौ । जागिर छोड्न बाध्य पारेर कम्पनीले १० महिनादेखि आफूहरूलाई बन्धक बनाएको भन्दै संयुक्त अरब इमिरेट्स (यूएई) बाट २५ जना नेपालीले सहयोगको याचना गरेका छन् । राजधानी आबुधाबीकाे मफ्रक औद्योगिक क्षेत्रस्थित अल इसुस भिलेज नामको श्रमिक शिविरमा कम्पनीले बन्धक बनाएर राखेकाे उनीहरूले बताएका छन् । साथै, काम गरेकाे पारिश्रमिकसमेत नदिएकाले कम्पनीका कारण आफूहरू चरम मानसिक तनावमा बाँचिरहेको उनीहरूले गुनासाे गरेका छन् ।
पीडितहरू मुसफास्थित अल फलाह सेक्युरिटी सर्भिसेस/नाइट बृज ग्लोबल सेक्युरिटी सर्भिस कम्पनीमा लामाे समयदेखि सुरक्षा गार्डका रूपमा काम गरेका थिए । तर, करिब १० महिनाअघि कम्पनीले विभिन्न आश्वासन दिएर राजीनामा गर्न लगाएको उनीहरूकाे भनाइ छ । तर, १० महिनासम्म आश्वासन देखाएअनुसार काम गर्नु त टाढाकै कुरा, उल्टै जागिरविहीन बनाएर राखेकाे र कतै जानसमेत नदिएकाे उनीहरूले बताएका छन् ।
‘हामी सबैको भिसा सकिएर ओभर स्टे फाइन सुरु भइसकेको छ । भिसा नहुँदा बाहिर हिँड्डुल गर्न पनि सकस र डर छ । भिसा नभएकै कारण कतिपय साथीहरूको सिमकार्ड बन्द छ । विस्तारै हामी सम्पर्कविहीन हुने खतरामा छौँ’, ह्वाट्सएपमा २० जना पीडितको नाम र हस्ताक्षर शिलापत्रलाई पठाउँदै पीडितहरूले भनेका छन् ।
यसबारे यूएईस्थित नेपाली राजदूतावाससँग समेत आफूहरूले सहयोग मागेको पीडित दिनेश उप्रेतीले बताए ।
भएकाे के थियाे ? यसाे भन्छन् पीडितः
अल फलाह सेक्युरिटी कम्पनीको मालिकले चलिरहेको कम्पनी अल फलाह कम्पनीलाई योजनाबद्ध रूपमा बन्द गराई उसकै भाइको नाममा अर्को सेक्युरिटी कम्पनी नाइट बृज ग्लोबल सेक्युरिटी कम्पनी दर्ता गराई हामी अल फलाहमा काम गर्ने पुराना सेक्युरिटी गार्डहरूलाई इन्ड अफ सर्भिस रकम नदिईकन भिसाको पैसा पैतालीस सय दिर्हाम्स लिएर नयाँ कम्पनी नाइट बृजमा जोइन हुन दबाब दियो । पैसा (इन्ड अफ सर्भिस रकम) नलिईकन जोइन नहुने भए राजीनामा देउभनी दबाब दिएकैले राजीनामा दियौँ । हामीले पाउनुपर्ने एकमुस्ट रकम विगत दश महिनादेखि दिएको छैन । कम्पनीले एक प्राइभेट लिगल कन्सल्टेन्सी (Mariam Ahamed Salem & Legal Consultants) खटाएर १०/१० जनाको सात ग्रुप बनाएर पैसा छोड्न नेगोसियसन गर्ने काम पनि गर्यो । एक लट (१० जना) लाई पैसा नपाइने विभिन्न डर, त्रास र मानसिक दबाब देखाएर दश/दश हजार छोड्न लगाएर आउट पास बनाई दिएर नेपाल पठाइ पनि सक्यो । अहिले हामी तपसिलमा उल्लेखित रहेका बाँकी श्रमिकहरूलाई रकम प्राप्त गर्न फेरि दुई महिना पर्खिनुपर्ने झुटो आश्वासन दिएर थप मानसिक तनाव दिएको छ । पुरानो कम्पनीको सेक्युरिटी डिपोजिट रकम निकाल्न पहल भएको र त्यो निकाल्न अझै दुई महिना लाग्ने र निकाले पनि यूएई मिनिस्ट्री अफ लेवर स्वयम्ले सबैलाई पैसा दिने अपत्यारिलो आश्वासन दिँदै आएको छ ।
हामी विगत दस महिनादेखि बेरोजगार भएर क्याम्पमा बन्दी जसरी बस्नु पर्दाको मानसिक आघात, फ्रस्ट्रेसन, डिप्रेसन त छँदैछ, त्यसमाथि पनि आर्थिक उपार्जन गरी घर व्यवहार धान्नुपर्ने हाम्रो जिम्मेवारी कम्पनीकै लापर्वाही र बेवास्ताका कारण भताभुङ्ग बनेको स्थिति छ । सबैको घरपरिवार उच्च चिन्ता कस्टसाध्य परिस्थिति र अभावबाट गुज्रनु परेको छ । यो सबै अवस्था कम्पनीको दमन र शोषणकारी व्यवहारकै उपज हो ।
उनीहरूले पाउनुपर्ने सम्पूर्ण इन्ड अफ सर्भिस रकम र १० महिनासम्म बिनाकाम क्याम्पमा बन्दी बनाई राखेकाले क्षतिपूर्तिसमेत पाउनुपर्ने माग राखेका छन् । यूएईस्थित राजदूतावासले यसबारे बुझेर आवश्यक सहयोग गर्ने बताएको छ ।

