सिक्किमकी अञ्जना लिम्बु बनिन् याक्थुङ स्टार
लेखक सिङ्जाङ्गाे सहित चार जनालाई 'इम्बिरी याङ्थाङ्वा' अवार्ड
झापा । पछिल्लो समय चर्चामा आइरहेकी सिक्किमकी उदीयमान लेखक सन्ध्या सुब्बा सिङ्जाङ्गाे ‘इम्बिरी याङ्थाङ्वा’ अवार्डबाट सम्मानित भएकी छिन् । उनीसहित चार जना सर्जक एवम् अभियन्ता साे अवार्डबाट सम्मानित भएका हुन् ।
आइतबार झापाको बिर्तामोडमा अमर कृति म्युजिक प्रालिद्वारा आयाेजित याक्थुङ स्टार गायन प्रतियोगिताकाे ग्र्यान्ड फिनालेकाे अवसरमा खाेज, अनुसन्धान र लेखनमार्फत् याक्थुङ सभ्यता, पहिचान, मुन्धुमकाे संरक्षणमा याेगदान पुर्याएकाे भन्दै लेखक सिङ्जाङ्गाेलाई ‘इम्बिरी याङ्थाङ्वा’ अवार्डबाट सम्मानित गरिएको अध्यक्ष ब्राेसिस माबाेहाङले बताए ।
यसैगरी, गायक सञ्चमान ताम्लिङ, शरण सुब्बा सावादेन र शुकवीर ताम्लिङहरू पनि साेही अवार्डबाट सम्मानित भएका छन् । उनीहरू सबै सिक्किम राज्यका हुन् । सम्मानित हुनेहरूमध्ये लेखक सिङ्जाङ्गाेकाे मुन्धुमकाे दुई अनुवाद कृतिसहित चार पुस्तकहरू प्रकाशित छन् । उनकाे गत साता मात्रै ‘याक्थुङ सिभिलाइजेसन : इम्बिरी याङथाङ्वा पुम्मा’ नामक कृति सार्वजनिक भएको थियोे ।
गायक सञ्चमान ताम्लिङले दर्जनौं याक्थुङ गीतहरू रेकर्ड गराउनुका साथै लाेककला, साहित्य र सँस्कृतिमा याेगदान दिएका छन् । उनी याक्थुङ स्टार प्रतियोगिताका एक निर्णायक पनि हुन् । शरण सुब्बा पनि गायक हुन् । जसले कैयन् याक्थुङ गीति एल्बम प्रकाशन गरेका छन् । साथै, साहित्य लेखनमा समेत याेगदान दिएका छन् । शुकवीर ताम्लिङले भने सामाजिक काममार्फत् याक्थुङ समुदायमा परिचय बनाएका छन् ।
याक्थुङ सभ्यता (इम्बिरी याङ्धावा) पनि ताप्लेजुङको तमोर र काभेली नदी र कन्चनजङ्घा हिमाल सेरोफोरमा विकास भएको अध्ययनकर्ताहरू बताउँछन् । उनीहरूले पछिल्लो समय याक्थुङ सभ्यतालाई विश्वकाे एक प्राचीन सभ्यतामध्ये एक भनेर दाबी गरिरहेका छन् । याे सभ्यताले सृष्टि उत्पत्ति, मानव वंश उत्पत्ति, परिवारकाे विकास, राजनीतिक प्रणाली, सामाजिक आर्थिक संरचना लगायतका क्षेत्रमा आफ्नो छुट्टै विश्व दृष्टिकोण निर्माण गरेको अनुसन्धाताहरू भन्छन् ।
सिक्किमकी अञ्जना लिम्बु बनिन् याक्थुङ स्टार
यसैगरी, आइतबार भएको याक्थुङ स्टार गायन प्रतियोगिता रियालिटी साेकाे उपाधि सिक्किमकी अञ्जना नाल्वाे लिम्बुले जितेकी छिन् । बिर्तामोडमा भएको फाइनलमा सर्वाधिक मत प्राप्त गर्दै उनले नगद दश लाख रूपैयाँ, ट्रफी र प्रमाणपत्र हात पारिन् ।
दाेस्राे भएका पान्थरका बीबी शेर्माले नगद दुई लाख रूपैयाँ र ट्रफी पाए । तेस्रो पनि सिक्किमकै आइतहाङ लिम्बु भए । उनले नगद एक लाख रूपैयाँ र ट्रफी हात पारे । फाइनलमा उनीहरूसहित पान्थरका उदय बेघा लिम्बु, आसामका तारावीर सेरेङ लिम्बु र पान्थरका दिलीप लिम्बु गरेर छ प्रतियाेगीहरू फाइनलमा पुगेका थिए । उनीहरूले फाइनलमा हाक्पारे, पा:लाम, ख्याली र याक्थुङ साम्लाे(गीत)हरू प्रस्तुत गरेका थिए ।
याक्थुङ भाषा याक्थुङ लिपि याक्थुङहरुको शान, अस्तित्व र मौलिकता बचाउने याक्थुङ स्टारको अभियान भन्ने नाराका साथ अम्मर कृति म्युजिक प्रालिद्वारा आयोजित प्रतियोगिता तीन महिनाअघि सुरु भएको थियोे । प्रतियोगितामा १७० बढी सहभागी थिए । त्यसपछि, ४० हुँदै अन्तिममा २९ जना छनाेट गरिएको निर्णायक एवम् गायिका गङ्गा फियाकले बताइन् । उनीसहित गायक सञ्चमान ताम्लिङ र प्रमाेद लिम्बु समेत निर्णायकहरूमा रहेका थिए ।
प्रतियोगिताकाे साैजन्य याक्थुङ चुम्लुङ अन्तर्राष्ट्रिय समन्वय समिति, आनिसा याक्थुङ चुम्लुङ, सेवाराे क्याफे बिर्तामोड, नेपाली मिडिया ग्रुप, युमा साम्याे महासभा अन्तर्राष्ट्रिय समन्वय समिति, माबाेहाङ समाज यूकेले गरेका थिए ।


