‘नेपालमा भविष्य छ’ भन्ने सकारात्मक भाष्य स्थापित गरौँ : अर्थमन्त्री डा महत

काठमाडौँ, ७ मङ्सिर : अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः समाधान हुँदै गइरहेका बताउनुभएको छ । राष्ट्रिय कर दिवस, २०८० का अवसरमा सञ्चालित कर सप्ताहको आज समापन गर्दै उहाँले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि जिम्मेवार निकायको उपस्थितिमा सर्वपक्षीय र सर्वदलीय छलफल गरिएको जानकारी दिनुभयो ।

“विश्वकै अर्थतन्त्रमा शिथिलता छ, त्यो शिथिलता हामीले पनि भोग्यौँ, आन्तरिक र बाह्य कारणबाट मुलुकको अर्थतन्त्रमा शिथिलता आयो”, मुलुकको आर्थिक अवस्था अप्ठ्यारो अवस्थातर्फ लैजाने विगतका अभ्यासबारे जानकारी दिँदै उहाँले भन्नुभयो, “कोरोना महामारी, भूकम्पलगायत कारणबाट मुलुकको अर्थतन्त्र समस्यामा थियो, आर्थिक अवस्थाको मूल्याङ्कन नगरी लिइएका नीतिका कारण समस्या चुलियो ।”अर्थतन्त्रमा देखिएका समस्या हट्दै गएका र सकारात्मक दिशातर्फ अर्थतन्त्र अघि बढिरहेको उहाँको भनाइ छ । “हरेक देशमा समस्या आइरहेको छ, समस्यारहित केही छैन, समस्याको समाधान गरिएको छ, मुलुकमा केही हुन्छ भन्ने विश्वास वृद्धि भएको छ”, मन्त्री डा महतले भन्नुभयो, “मुलुकको विकास जुन रफ्तारमा हुनुपर्ने हो, त्यसो नभए पनि मुलुकको अवस्थामा सुधार भइरहेको छ ।”

रोजगारी सिर्जना, उत्पादन वृद्धि, हरित ऊर्जालगायत क्षेत्रमा लगानीका लागि सरकारले प्रोत्साहन गरिरहेको उल्लेख गर्दै उहाँले सूचना प्रविधि, पर्यटनलगायत क्षेत्रमा लगानीको उच्च सम्भावना रहेको बताउनुभयो । “नेपाल भविष्य छ, सकारात्मक ‘भाष्य’ स्थापित गरौँ, अर्थतन्त्रमा कहिलेकाहीँ तलमाथि हुनसक्छ”, मन्त्री महतले भन्नुभयो, “तर सरकार अर्थतन्त्रलाई सही मार्गमा ल्याउन क्रियाशील छ, सरकार र निजी क्षेत्र एक भएर काम गरेर सुखद नतिजा आउनेछ ।”

दायित्व सिर्जना भएको बिल सरकारले तिरिसकेको जानकारी दिँदै उहाँले भुक्तानी दिन बाँकी भए तत्काल विवरण पठाउन अन्य मन्त्रालयलाई आग्रह गर्नुभयो । कुनै पनि वहानामा करदातालाई दुःख नदिन कर प्रशासनका कर्मचारीलाई निर्देशन दिँदै उहाँले साना र मझौला क्षेत्रका उत्कृष्ट करदातालाई पनि सम्मान गर्ने व्यवस्था मिलाउन आन्तरिक राजस्व विभागलाई आग्रह गर्नुभयो ।

अर्थसचिव कृष्णहरि पुस्करले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायका प्रतिवेदनले नेपालको अर्थतन्त्र सही बाटोमा अघि बढिरहेको देखाएको उल्लेख गर्दै सरकारले चालेको सुधारका कार्यक्रमले अर्थतन्त्रलाई थप गति प्रदान गरेको बताउनुभयो । उहाँले निजी क्षेत्रको समस्यालाई सरकारले गम्भीररुपमा लिएको र समस्या समाधान गर्न लागि परेको जानकारी दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकका आर्थिक सूचक सकारात्मक भए पनि अझै निजी क्षेत्रको मनोबल बढ्न नसकेको उल्लेख गर्दै निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्न सरकारलाई सुझाव दिनुभयो । “विदेशी मुद्रा सञ्चिति, विप्रेषण आप्रवाह, पर्यटकको आवागमन अहिलेसम्मकै बढी भएको छ, तर पनि निजी क्षेत्रमा विश्वास बढ्न नसक्नु चुनौतीपूर्ण छ”, उहाँले भन्नुभयो, “निजी क्षेत्र र आम जनतालाई सरकारले विश्वास दिलाउनुपर्छ ।”नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले व्यवसायीलाई करको दायरामा ल्याउन सचेता बढाउनुपर्ने, व्यवसायीको आत्मबल बढाउनुपर्ने तथा स्थायी कर नीति हुनुपर्ने बताउनुभयो ।

उहाँले कर नतिर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो । नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले करको दर नभइ दायरा वृद्धि गर्नुपर्ने, कर नीतिको स्थायित्व हुनुपर्ने, पूँजीगत खर्च बढाउनुपर्ने तथा खर्च गर्ने वातावरण सिर्जना गरिनुपर्ने बताउनुभयो । उहाँले अप्ठ्यारो अवस्थामा रहेको अर्थतन्त्रलाई लयमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वपक्षीय छलफल थाल्नुभएका आभार प्रकट गर्नुभयो ।

नेपाल उद्योग व्यापार महासङ्घका साना तथा मझौला व्यवसायीलाई कर सचेतना र विभिन्न सुविधा दिइनुपर्ने बताउनुभयो । सम्मानित सूर्य नेपाल प्रा.लिका उपाध्यक्ष रवि केसीले करदातालाई सम्मान गर्ने परिपाटीले धेरै व्यवसायीलाई हौसला प्रदान गरेको बताउनुभयो । करको दरभन्दा पनि दायरा विस्तार गर्नुपर्न सरकारलाई सुझाव दिँदै उहाँले करदाता र लगानीकर्तालाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖