राज्यबाट थप सहयोग प्राप्त भएमा साना सञ्चारमाध्यमलाई निःशुल्क सेवा दिनेछौँ : कार्यकारी अध्यक्ष झा

काठमाडौँ, २३ पुस : राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससलाई राज्यले थप सहयोग उपलब्ध गराएमा स्वरोजगारमूलक सञ्चारमाध्यमलाई निःशुल्क सेवा दिन तयार रहेको बताउनुभएको छ ।

राससले आजदेखि प्रारम्भ गरेको अवधि भाषा समाचार सेवाको उद्घाटन कार्यक्रममा अध्यक्ष झाले अहिले पनि राससले न्यूनतम शुल्कमा समाचार सामग्री उपलब्ध गराइरहेको जनाउँदै राज्यबाट थप सहयोग प्राप्त भएमा निःशुल्क सेवा उपलब्ध गराउन सकिने बताउनुभयो ।

“संविधानले प्रत्याभूत गरेको सूचनाको हक निःशुल्करुपमा उपलब्ध हुनुपर्छ भन्नेमा हामी जानकार छौँ, तर सूचना प्रशोधनका लागि केही शुल्क लिने व्यवस्था कानुनमा पनि गरिएको छ, राससले पनि स्थानीय र साप्ताहिक पत्रपत्रिकाका लागि मासिक रु दुई हजार सात सयमा २५ प्रतिशत छुट दिँदै आएको छ, यदि उक्त रकम सरकारबाट प्राप्त भएमा हामी ती सञ्चारमाध्यमलाई निःशुल्क सेवा दिनेछौँ”, अध्यक्ष झाले भन्नुभयो । उहाँले वर्तमान सरकारको नीतिगत प्रस्तावमा राससले पनि साझेदारी गर्न लागिरहेको उल्लेख गर्दै राष्ट्रिय भाषामा समाचार सेवा प्रारम्भ हुनु राससका लागि गौरवको विषय भएको बताउनुभयो ।

“राससले लोकतन्त्र, सङ्घीयता र समावेशीतालाई स्वीकार मात्रै नगरी कार्यान्वयनसमेत गरेको छ”, अध्यक्ष झाले भन्नुभयो, “तीन तहका सरकारको अनुदान र सहकार्य बढाउँदै आगामी दिनमा अन्य राष्ट्रिय भाषामा पनि समाचार सम्प्रेषण गरिनेछ ।”

विभिन्न भाषाभाषीका पत्रपत्रिका समाचारमूलक सामग्रीको अभावमा बन्द हुने अवस्थामा पुगिरहेका जनाउँदै अध्यक्ष झाले राससबाट सुरु भएको मातृभाषाको समाचार सेवाले त्यस्ता सञ्चारमाध्यमलाई पूरकको काम गर्ने बताउनुभयो । उहाँले अवधि भाषामा समाचार सेवाका लागि सहयोग गरेकामा नेपालगञ्ज उपमहानगरपालिकाप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

अध्यक्ष झाले सङ्घीयता र समावेशीताको मर्मलाई आत्मसात् गर्दै राससको यस प्रयासलाई सार्थक तुल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएकामा नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दीन राई, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्कालगायत कार्यपालिका सदस्यप्रति आभार प्रकट गर्नुभयो ।

आजदेखि रासस नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै अध्यक्ष झाले पछिल्लो डेढ वर्षको अवधिमा राससमा भिडियो, विचार र मातृभाषामा समाचार सम्प्रेषण सुरु भएको जानकारी दिनुभयो । “अहिलेको आवश्यकताअनुसार समाचार सामग्रीमा विविधीकरण गरिएको छ”, उहाँले भन्नुभयो, “राज्यको सञ्चारमाध्यमका रुपमा राससले राज्यका सबै अङ्गसँग सहकार्य गर्न तयार छ ।”

जनताको करबाट सञ्चालित सञ्चारमाध्यमका रुपमा रासस रहेको उल्लेख गर्दै कार्यकारी अध्यक्ष झाले करदातालाई राससप्रति अपनत्व र आवश्यकता बोध गराउने जिम्मेवारी पूरा गर्नुपर्ने दायित्व रहेको बताउनुभयो । “यस सन्दर्भमा हामी गम्भीर र सचेत छौँ”, उहाँले भन्नुभयो, “राससका समाचार सामग्रीको सबैले अपनत्व ग्रहण गर्ने सक्ने सेवामा विविधीकरण गरिएको हो ।”

राससले आफ्नो सेवालाई २४ घन्टै निरन्तरता दिनुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गर्दै अध्यक्ष झाले सेवाग्राहीको समयसीमा नभएका सन्दर्भमा राससले दिनरात नभनी अहोरात्र सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । “२१औँ शताब्दीको अन्तर्राष्ट्रियस्तरको समाचार समिति बन्छौँ”, उहाँले भन्नुभयो, “अब त्यो बाटोमा जानैपर्छ, केही नयाँ सुरुआत गर्नैपर्छ, यथास्थितिमा धेरै बस्न सक्दैनाैँ ।”

आजको दिन राससको जीवनमा ऐतिहासिक भएको जनाउँदै कार्यकारी अध्यक्ष झाले ६२ वर्षको इतिहासमा नेपाली र अङ्ग्रेजी भाषामा मात्र समाचार दिँदै आएको यो संस्थाले अन्य भाषालाई पनि समान स्थान दिएको बताउनुभयो । “यसअघि नेपाली र अङ्ग्रेजी भाषालाई मात्र चिनेको अवस्था थियो, बाँकी भाषासँग राससको कुनै सम्बन्ध थिएन”, उहाँले भन्नुभयो ।
-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।